२१ मंसिर, काठमाडौं । जनार्दन शर्माले गृहजिल्ला रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को कार्यालय स्थापना गरेका छन् ।
नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि आज पहिलोपटक गृहजिल्ला गएका शर्माले मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगामा पार्टी कार्यालय स्थापना गरेका हुन् ।
खलंगास्थित इस्कन्द नर्मदा स्मृति फाउन्डेसनको नाममा रहेको भवनमा शर्माले पार्टीको साइनबोर्ड र झण्डा राखेर कार्यालय उदघाटन गरे ।
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरुको एकतापछि प्रचण्डले नेपाली कम्युनिष्ट पार्टीको नेतृत्व गरेपछि शर्माले पनि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका थिए ।
यही मंसिर १५ गते नेपाली कम्युनिष्ट पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीका रुकुम पश्चिमका नेताहरुबीच भएको सहमति अनुसार सदरमुकाम मुसिकोट नगरपालिका ५ सेरीगाउँस्थित शहीद स्मृति प्रतिष्ठान र इस्कन्द नर्मदा फाउन्डेसन परिसरभित्र रहेका भवनसहितका सम्पूर्ण भौतिक संरचनाहरु नेपाली कम्युनिष्ट पार्टीले प्रयोग गर्नेछ ।
यसैगरी मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगास्थित इस्कन्द नर्मदा स्मृति फाउन्डेसनको नाममा रहेको भवन प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रयोग गर्ने छ ।
मंसिर २१ गतेदेखि लागू भएको यो सहमतिपत्रमा नेपाली कम्युनिष्ट पार्टीका रुकुमपश्चिम संयोजक गोविन्द रोका र प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक गोर्खबहादुर केसीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया 4