Comments Add Comment

संविधान संशोधन हुनेमा शंका लागेको छ : उपेन्द्र यादव

३१ साउन, पोखरा । उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकारले संविधान संशोधन गर्नेमा शंका लाग्न थालेको बताएका छन् ।

समाजवादी पार्टी गण्डकी प्रदेश समितिले शुक्रबार पोखरामा गरेको पार्टी समायोजन तथा सपथ ग्रहण कार्यक्रममा उनले सरकार गठन भएको लामो समय भइसक्दा पनि सम्झौता बमोजिम संविधान संशोधन नगरिँदा शंका लागेको बताएका हुन् ।

‘संविधान संशोधन गर्न सहयोग पुग्छ भनेर पो हामी सरकारमा बसेका हौं । तर अहिले त्यो शर्त पूरा होला भन्नेमै शंका लाग्न थालेको छ,’ उनले भने, ‘यदि त्यसो हो भने सरकारमा हामी बसेको कुनै अर्थ रहँदैन ।’

सरकारले संविधान संशोधन नगरे सरकार छाडेर सडक र संसदमा संघर्ष गर्न समाजवादी पार्टी तयार रहेको उपप्रधानमन्त्री यादवले सुनाए । ‘हामी संसदमा पनि संघर्ष गरिरहेकै छौं । सरकारले नसच्याए सडकमा उत्रन पनि तयार छौं,’ उनले भने, ‘संविधानमा धेरै त्रुटि छ । त्यसलाई सच्याउने र परिमार्जित गर्ने सम्झौता भएरमात्रै हामी सरकारमा छौं ।’

संविधान संशोधनका लागि सत्तापक्षको दुई तिहाइ मत पुर्‍याउन सरकारमा बसिरहेको यादवको भनाइ छ । उपप्रधानमन्त्री यादवले देश संघीयतामा गए पनि प्रदेशलाई अधिकार दिन कञ्जुस्याइँ गरेर संघीयता समाप्त गर्ने काम भइरहेको आरोप लगाए ।

‘प्रदेशलाई बलियो बनाउन ठूला भनिने पार्टी, अझ भनौं कम्युनिस्ट पार्टी, कांग्रेस र केही राजावादी पार्टीले चलखेल गरिरहेका छन्,’ उनले भने ।

संघीयतालाई स्थापित गर्न कम्युनिस्ट र कांग्रेस दुवैले चासो नदेखाएको उनको आरोप थियो । ‘प्रदेशका अधिकार संकुचित पारिएका छन् ।

धेरै अधिकार केन्द्रको अधीनमा छन्,’ उपप्रधानमन्त्री यादवले भने, ‘तर जे होस् संघीयता विफल बनाउने दुष्प्रयास भइरहे पनि जसोतसो चलिरहेको छ ।’ उनले देशलाई जानाजान संघीयता बोकाइएको नभई ७० वर्षभन्दा बढी संघर्षपछि मात्रै प्राप्त भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment