Comments Add Comment

‘म नेपाल आइडल हो र ? होइन होला !’

भव्य तामझाम थियो । त्यो अधैर्य रात उनको मुटुको चाल अरु बढी तिब्र गतिमा धड्किइरहेको थियो । यस्तैमा उद्घोषकको आवाज उनको कानमा ठोक्कियो, ‘नेपाल आइडल पहिलो सिजनको विजेता बन्न सफल नाम हो…।’

मञ्चमा प्रतिस्पर्धीसँगै पंक्तिवद्ध बुद्ध लामाको कान थप चनाखो भयो । उनले मह जोडी अर्थात हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको जोडदार आवाज सुने, ‘बुद्ध लामा ।’

त्यसपछि के भयो ? एक सन्नाटा । एक रोमाञ्चकता ।

त्यो रात उनको जीवन नै उमंगको पुञ्ज छरेर चम्किए झैं भयो ।

००००

उमंगको ब्यारोमिटर तब एकाएक ओरालो लाग्यो, जब ‘जातीयता’को कारण देखाउँदै उनको गायकीमाथि औंला उठाइयो ।

त्यसपछि उनको झोँक बढाइदियो आयोजककै हर्कतले । आयोजकको हर्कत उनले सहन सकेनन्, फेसबुकमा लेखिदिए–
‘मैले पुरस्कारको पैसा पाइनँ । धाउँदाधाउँदा दिक्क भइसकें । पुरस्कारमा पाएको गाडीको कर पनि तिर्न सकेको छैन ।’
उनको यो तित्तता कसरी विष्फोट भयो ?

विजेता घोषित भएको आधा वर्ष बित्यो । घोषित पुरस्कार पाउने चालचुल छैन । पाएको गाडी पनि करको झमेलाले ‘कागलाई बेल पाक्यो…’ झैँ भइदियो । न नगद पुरस्कार हात लाग्छ, न कार चढ्ने मेलोमेसो मिल्छ ।

‘पुरस्कार नै सबैथोक होइन तर, सुरुवाती चरणमै यसरी झुलाउने भएपछि त्यसले आयोजक र समग्र कार्यक्रमकै गरिमामाथि संशय गर्ने ठाउँ रहन्छ’ बुद्ध लामालाई यस्तै लाग्यो । उनलाई झोंक चल्यो । स्टाटस लेखिदिए ।

बुद्धको भनाइमा न सम्झौताअनुसार एल्बम निकाल्ने तयारी नै भयो ।

७ महिनासम्म पनि केही खबर नआएपछि आफ्नो पुरस्कार र एल्बमबारे कुरा गर्न आयोजक कहाँ पुगे । नेपाल आइडलका प्रोडक्सन म्यानेजर र प्रबन्ध निर्देशकसँग उनले कुरा गरे । उनीहरुले छिट्टै गरिदिने आश्वासन दिए ।

तर त्यसको ४ महिनासम्म पनि उनलाई कुनै खबर आएन ।

बुद्धलाई गाडीको कर तिर्नपर्ने विषयमा केही पत्तो थिएन । तर उसले आकस्मिक लाभ कर तिर्नु पर्‍यो । भन्छन्, ‘यता १५ प्रतिशत, उता १० प्रतिशत, कता ९ प्रतिशत । सबै जोड्दा त झण्डै शत प्रतिशत कर तिर्नुपर्ने भयो । त्यो कुरा आयोजकसँग गर्दा ‘तिर्नुपर्‍यो नि’ भन्न थाल्नुभयो । त्यसैले पनि फेसबुकमा लेखे ।’

बल्लतल्ल नगद पुरस्कार पाए, त्यो पनि किस्तामा । १ वर्षसम्म ५० प्रतिशत मात्र पैसा पाए । डेढ वर्ष लगाएर पूरा पैसा दिइयो । तर गाडीको र पुरस्कार रकमको कर सबै मिलाउँदा उनको हातमा जम्मा २ लाख रुपैयाँ बचेको थियो ।

भन्छन्, ‘धेरै चोटी धाउँदाधाउँदा गरेर चेक पाएको थिएँ । त्यो चेक पनि ६ पटकसम्म बाउन्स भयो ।’ चोक बाउन्सबारे हल्ला गरेनन् । बुद्ध लामालाई यो स्थान दिने नेपाल आइडल नै भएकाले पनि खुलेर कुरा गरेनन् ।

गीत पनि धेरै संघर्ष गरेपछि बल्ल तयार भयो । नेपाल आइडलले बनाइदिएको ‘सानी’ बोलको गीतले बुद्धलाई सन्तुष्टि दिन सकेन ।

गीतको भिडियो राम्रो नबनाइदिएको गुनासो उनीसँग छ । भन्छन्, ‘उहाँहरुले कहिँ कतै सम्मान गरेको पाइनँ । यो हाम्रो आइडल हो भनेर माया पनि गर्नुभएको छैन । केवल आइडल बनायो, छाड्यो । यो त व्यापार जस्तै भइरहेको छ ।’

त्यसैले उनी बेलाबेला आफैंलाई प्रश्न गर्छन्, ‘म नेपाल आइडल हो र ? होइन होला ।’

जातीय भोटले जितेको आरोप

जब बुद्धले नेपाल आइडलको ताज पहिरिए, त्योसँगै विवाद उत्पन्न सुरु भयो, ‘बुद्धले त जातीय भोट पाएर आइडल बनेका हुन् ।’

यो कुराले बुद्धको मन छियाछिया बनायो । बेलाबेला उनलाई आफ्नो प्रतिभामाथि शंका लाग्न थालेको थियो, ‘म त गाउनै सक्दिन कि क्या हो !’ धेरैले समर्थकसँगै घृणा गर्नेहरु पनि उत्तिकै हुन्छन् भनेर सम्झाए । बुद्धले पनि यस कुरालाई राम्रोसँग बुझे र निश्कर्षमा पुगे, ‘यो सबै आरोप लगाउने मेरा हेटर्सहरु होलान् ।’

उनी जातीय भोटका कारण आइडल बनेको दाबीलाई ठाडै अस्वीकार गर्छन् । उनी भन्छन्, ‘म तामाङ समुदायमा पर्ने लामा हुँ । लामा त मेरो थर मात्र हो । यसले आइडल जितिन्छ भन्ने लाग्दैन । प्रतिभाले आइडल जितेको हुँ जस्तो लाग्छ ।’

प्रतिभा भएकै कारण आफू त्यो स्थानसम्म पुगेको उनी बताउँछन् । भन्छन्, ‘जब भोटिङ राउन्ड सुरु भएको थिएन, त्यो बेला लामा भएर त अगाडि पुगेको होइन होला । त्यो बेला त मेरो गायकीले मलाई सुरक्षित गरेको थियो होला ।’

आइडल जित्दाको त्यो खुसी

कतारमा नेपाल आइडल पहिलो सिजनको ग्राण्ड फिनाले हुँदै थियो । प्रतिष्पर्धामा थिए, तीन गायक बुद्ध लामा, निशान भट्टिराई र प्रताप दास ।

जसले बढी भोट ल्याउँछ त्यही विजेता बन्नेवाला थियो । कार्यक्रम सुरु भयो । सुरुवातमा केही प्रस्तुतिहरु गरियो ।

त्यसपछि अन्तिममा पालो आयो विजेता घोषणा गर्ने । विजेता घोषणा गर्न मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य कतार पुगेका थिए । दुई जनाको हातमा माइक पुग्यो र, विजेता हुनेको नाम पनि ।

सबैभन्दा पहिला तेस्रो हुनेको नाम लिइयो । हरिवंशले ओठ कमाउँदै नाम बोले, ‘प्रताप दास ।’

अब प्रथम हुने प्रतिस्पर्धामा दुई नाम बाँकी रह्यो । बुद्धको मुटुको वेग बढ्दै थियो । सोही समय हरिवंश बोले, ‘अब हामी प्रथम हुने गायकको नाम बोल्छौं ।’

मुटुको तेज झन् बढ्दै गयो । मदनकृष्ण र हरिवंश दुबै जनाले एकमुष्ट नाम बोल्ने भए र विजेताको नाम लेखिएको कार्ड खोले । दुबैले एउटै आवाजमा बोले, ‘पहिलो नेपाल आइडल हुनुभएको छ, बुद्ध लामा ।’

बुद्ध एकछिन खालीखाली भए । उनलाई पत्याउनै सकेनन् । आखाँबाट आशु झरे । बुद्ध भन्छन्, ‘आहा ! त्यो खुसीलाई मैले शब्दमा कसरी बोलु ?’

कार्यक्रम सकिएपछि बुद्धले पहिलो फोन आमालाई गरे । नेपालमा भएकी आफ्नी आमालाई खुसी हुँदै सुनाए, ‘आमा ! तिम्रो छोरोले जित्यो ।’ एकछिन त खुसीले आमाको बोली फुटेन । ‘मेरो छोरालाई आशिर्वाद छ’, आमाले बोलेको शब्द यहीँ मात्र थियो ।

फर्केपछिको स्वागत

एउटा साधारण केटो, कहिल्यै यति चर्चित हुन्छु भन्ने सोच्न सकेको थिएन । एकाएक पाएको यति धेरै मायाले उसको आँखा निकै रसाइरहेको थियो ।

एअरपोर्टमा आइपुग्दाको स्वागत, गृहनगर पोखरा पुग्दाको स्वागत । आहा ! साच्चिकै गज्जब माया बुद्धले पाएका थिए । उनी भन्छन्, ‘शो चलिरहँदा हामीलाई थाहा थिएन कि बाहिरी यति धेरै क्रेज बनेको छ । अलि अलि सुनेको मात्र हो । एक्कासी त्यो भीडको माहोल मेरो लागि त सपना जस्तै लागेको थियो । आँखाबाट आशु नै झरे ।’

बुद्धलाई सानै उमेरदेखि संगीतमा गरेको मेहनत र संघर्षले बल्ल सार्थकता पाएको आभास भएको थियो । भन्छन्, ‘त्यो माया पाउन मलाई धेरै नै संघर्ष गरेको छु । तर नेपाल आइडलले राम्रो स्थान दियो र छिट्टै चिनायो ।’

‘आइडलमा आउने मनै थिएन’

नेपालमा नेपाल आइडल आउन लागेको कुरा बुद्धलाई संगीत सिकाइरहेका गुरु तीर्थराज पोखरेलले पत्तो पाए ।

उनले नै बुद्धलाई नेपाल आइडलको मञ्चसम्म हुत्याएका हुन् । बुद्धलाई नेपाल आइडलमा आउने मन नै थिएन । त्यो भन्दा अगाडि केही प्रतिस्पर्धामा भाग लिइसकेका बुद्धलाई गायन प्रतियोगिताबाट भरोसा उडिसकेको थियो । नेपाल आइडल पनि त्यहीँ होला भन्ने सोचेका थिए । पछि गुरुले उनलाई सम्झाएर आइडलको मञ्चसम्म पुर्‍याए ।

जब अडिसनमा गीत गाए, त्योसँगै उसको गायकी र चुलबुलेपनको निकै चर्चा भयो । अडिसनबाट नै बुद्ध धेरैको नजरमा परिसकेका थिए ।

सेलाएको हो बुद्धको चर्चा ?

भन्नेहरु भन्छन्, नेपाल आइडल भएपछि जुन चर्चा बुद्धको हुनुपर्ने हो, त्यो भएको छैन । अरु प्रतिस्पर्धीले संगीतिक क्षेत्रमा आफ्नो स्थान बनाउन थालिसकेका छन् तर, आइडल भएर पनि बुद्धले त्यो स्थान पाएका छैनन् ।

बुद्धका ६ वटा गीत रिलिज भएका छन् । तर सानीबाहेक अन्य गीत त्यति चलेन । तर, उनी यो कुरा मान्न तयार छैनन् । भन्छन्, ‘को कति चर्चित छ भन्ने त दर्शकको माझमा पुगेपछि थाहा हुन्छ । मलाई धेरैले माया गर्नुहुन्छ ।’

यो बीचमा आइडलबाट पनि सहयोग नभएको उनको गुनासो छ । ‘मलाई गीत अफर आएको हुन्छ । गरौँ कि नगरौँ भनेर सोध्छु । तर उहाँहरु कहिल्यै गर भन्नु भएन । न आफूले बनाइदिनु भयो । त्यसैले ग्याप भएको हो ।’

बुद्ध छिट्टै नयाँ गीत ‘आमा’ रिलिजको तयारीमा रहेका छन्, जुन गीत करिअरको महत्वपूर्ण भएको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment