+
+

मदनमणि दीक्षितको दाम्पत्य जीवन

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३० गते ९:५४

(२०७२ साल फागुन २ गते अनलाइनखबरमा मदनमणि दीक्षितको दाम्पत्य जीवनसम्बन्धी सामग्री प्रकाशित भएको थियो । आज उनको निधनका दिन सान्दर्भिक हुने ठानेर सो सामग्रीलाई अर्काइभबाट पुनः प्रकाशित गरिएको छ- सं.)

काठमाडौं । ७८ वर्षदेखि एउटै डुंगामा सवार छ, मदनमणि दीक्षित र रीता दीक्षितको दाम्पत्य जोडी । मानिसको औसत आयु ७० वर्ष आसपास रहेको यो धर्तीमा यति लामो सहयात्रा गर्ने सौभाग्य कमैले पाउँछन् ।

९४ वर्षमा हिँडिरहेका मदनमणि र ९० वर्षमा टेक्दै गरेकी रीताले जति दाम्पत्य प्रेमको गहिराईलाई सायदै कसैले नापेका होलान् । यो सम्बन्धभित्र आयामलाई उनीहरूले जति सायदै कसैले महसुस गरेका होलान् ।

यो म्याराथन यात्रा फूलैफूलमा टेकेर यहाँसम्म आएको छैन । धेरै काँढा पनि कुल्चेका छन् उनीहरूले । त्यसैले त उनीहरूमा एक-अर्काप्रति प्रेम र स्नेहको तलाउ मात्र छैन, गुनासो र असन्तुष्टिको उर्लंदो भेल पनि छ । श्रीमतीले तरकारीमा नुन नहालेको वा श्रीमानले दाह्री नकाटेको निहुँमा सम्बन्धविच्छेद हुने जमानामा ठूला-ठूला असन्तुष्टिका बीच पनि उनीहरूको सम्बन्ध अटुट छ ।

कालिकास्थानमा रहेको दीक्षितनिवासमा म पुग्दा दुवै ज्येष्ठ नागरिक घरको बरन्डामा घाम तापेर बुढ्यौली सुकाइरहेका थिए । कान निकै कम सुन्ने मदनमणि र थोरै कम सुन्ने रीतासित करिब अढाई घन्टा चिच्याहटको शैलीमा वार्तालाप भयो । वार्तालापका क्रममा दर्शनशाश्त्रका प्रकाण्ड विद्वान मदनभन्दा साधारण लेखपढ रीता कम तार्किक देखिइनन् । उनले मदनमणिले आफूलाई अहिलेसम्म पतिको प्रेम नदिएको तीतो आरोपसमेत लगाइन् ।

वीरगञ्जदेखि वनारससम्म

वीरगञ्जको एक खातापिता परिवारमा जन्मेकी हुन् रीता । बाबु जिम्दार थिए । घरमा १५-१६ वटा भैंसी पालेकाले दूध-दही छेलोखोलो हुन्थ्यो । पोटिला गाला भएकी रीताले बाल्यकालमा दुना-टपरी गाँस्ने, जनै बनाउने र बत्ती कात्नेबाहेक अरु काम गर्नुपरेन । रीता नौ वर्षकी भएपछि पिताजीले उनका लागि मिल्दो वरको खोजी सुरु गरेका थिए । तर, खोजेजस्तो वर भेटाउन तीन वर्ष लाग्यो ।

रीताका पिताजीले खोजेजस्ता वर थिए, वनारसमा । जिम्दार लक्ष्मणमणि दीक्षितका सुपुत्र मदनमणि, जो सानैदेखि पढाइमा जेहेन्दार र विद्वता भरिपूर्ण थिए । दीक्षित परिवारको वीरगञ्जमा ठूलो मौजा -जग्गा (जमिन) थियो, जसको रेखदेख गर्न एक पटवारीलाई जिम्मा दिएका थिए ।

तिनै पटवारी एक दिन रीतालाई हेर्न आए । हेर्नासाथ मन पराए । तीनै पटवारीले बयान गरेको आधारमा मदनमणिलाई आफ्नी छोरी दिन तयार भए रीताका पिता । तिनै पटवारीले बयान गरेका भरमा रीतालाई बुहारी बनाउन तयार भए मदनका पिता । एवं रीतले, दुई जिम्दारहरूबीच सम्धिको नाता गाँसिने तय भयो ।

लक्ष्मणमणिले छोराको बिहे बनारसमै गर्ने भन्दै रीताका परिवारलाई त्यहीँ आउन भने । केटाका परिवारको प्रस्ताव केटीका परिवारले काट्ने जमाना थिएन । त्यसैले झिटिगुन्टा कसेर रीताका परिवार बनारस पुगे । दीक्षित निवासभन्दा करिब पाँच सय मिटरको दुरीमा केटीको परिवार बस्ने व्यवस्था मिलाइएको थियो । बहुतै धुमाधामले बिहे भयो । एवं रीतले, १२ वषर्ीया रीता दीक्षित परिवारकी बुहारी बनेर भित्रिइन् ।

बिहेमा रातो साडीको पोको

बिहे हुनुअघि दुलाहा-दुलहीले एक-अर्कालाई भेट्नु त्यो जमानामा कल्पनाभन्दा परको विषय हुन जान्थ्यो । त्यसैले मदन र रीताले यस्तो चेष्टा गरेनन् । करिब साढे चार घन्टा चलेको वैवाहिक प्रक्रियामा समेत एक-अर्काको अनुहार राम्ररी नदेखेको तत्कालीन दुलाहा-दुलही बताउँछन् ।

‘उहाँले पगडी लगाउनुभएको थियो, मैले घुम्टो ओढेकी थिएँ,’ तत्कालीन दुलही रीता सम्भिmन्छिन्, ‘हामी दुवैले एक-अर्काको अनुहार हेर्न सकेनौं ।’

चन्द्रशमशेरकी कान्छी श्रीमतीका छोरा विष्णुशमशेर बेलायतमा बस्थे । उनले बेलायतकै मेमसाहेबसित बिहे गरेका थिए । विष्णुशमशेर मेमसाहेबलाई लिएर बिहेमा आएका थिए । उनीहरूले बेहुली हेर्न इच्छा गरे । रीताका ससुराले भने, ‘दुलही नानी, घुम्टो उठाऊ । जर्साबले हेर्न मन गर्नुभएको छ ।’ बिहेभरिमा रीताले अनुहारबाट घुम्टो हटाएको त्यही एकपटक थियो ।

तत्कालीन दुलाहा मदनमणिले अर्को प्रसंग सम्झे, ‘जग्गेको काम सुरु हुन लाग्दा पुरेतबाजे तलबाट ‘दुलही खोई ?’ भन्दै चिच्याए । केहीबेरपछि एउटा रातो साडीको पोको मेरो दाहिनेपट्टी ल्याएर थपक्क राखियो । ‘एक्ज्याक्ट्ली’ रातो साडीको पोको थियो थियो । कन्यादानका क्रममा पुरेतबाजेले मलाई भन्नुभयो, दुलहीको छाती छुनुस् । मैले सोधेँ, खोई त दुलही ? बाजेले साडीको पोकोतिर देखाउनुभयो । रियालिटीमा त्यो त साडीको पोको नभएर दुलही पो रहिछन् । एवं रीतले मैले साडीको पोकोभित्र हात छिराएर दुलहीको छाती छोएझैं गरेँ ।’

सुहागरात खेर गयो

रीतालाई विधिपूर्वक मदनको घरमा भित्र्याइयो । नौवटा झ्याल भएको ठूलो कोठामा बेहुलाबेहुलीलाई राखिएको थियो । खानपिन सकेर नवदम्पती सुत्न ठीक परे । मदनले ढोकाको चुकुल लगाए । बेहुलीको अनुहारमा घुम्टो अझै थियो ।

मदनमणि सम्झिन्छन्, ‘यसो दुलहीको घुम्टो उठाएर हेर्न आँटेको त बाहिर मानिसहरू खित्खित् गरेको सुनिन्छ । पूरा परिवार झ्यालबाट हामीलाई चियाइरहेका रहेछन् । मेरो पालो ह्वाङ्ग ढोका खोलेर भनिदिएँ, लौ हेर । त्यसपछि सबै भागाभाग भए ।’

‘त्यतिबेलासम्म उनी भित्तापट्टि फर्केर सुतिसकेकी थिइन् । निदाएकी थिइन् कि थिइनन् थाहा छैन । मेरो चाहिँ मनमा अनेक कुरा खेलिरहेका थिए । मैले सावधानीपूर्वक उनलाई आफूपट्टि फर्काउने यत्न गरेँ । हातले पाखुरामा समातेर तान्न खोजेँ । अहँ टसमस गरिनन् । अनेकन प्रयास गर्दा पनि उनलाई आफूपट्टि फर्काउन असमर्थ भएँ । एवं रीतले बिहानको ३ बज्यो । तर पनि कुनै हल निस्किएन ।’

‘भोलिपल्ट चतुर्थीकर्मका बेला बल्ल उनको अनुहार एक झल्को हेर्न पाएँ । चतुर्थीकर्ममा ठूलो कराईमा ढुंगा र पानी राखेर माछा मार्ने चलन थियो । यसै क्रममा मलाई उनको हात समात्न लगाइयो । मैले समातेँ । तर उनले तत्कालै छुटाइन् । यतिबेला एकपटक हाम्रो आँखा जुध्यो । तथापि कुनै किसिमको तरंग पैदा भएन ।’

बिहेको दुई वर्षपछि बोलचाल

बिहेको दोस्रो दिनमा मदनलाई आमाले भनिन्, ‘तिमीहरू अहिले सानै छौ । सँगै सुत्न मिल्दैन ।’ उनले रीतालाई नन्द-अमाजूसित सुत्न भनिन् र दुईवटा कोठाबीचको ढोकामा ताल्चा लगाइदिइन् । मदन एक्लै सुत्न थाले ।

सँगै नसुतेको मात्र होइन, बिहेको दुई वर्षसम्म आफूहरूबीच एक शब्द बोलचालसमेत नभएको बताउँछन् उनीहरू । किन त ?

मदन भन्छन्, ‘उनलाई लाज लाग्थ्यो होला, मसित बोल्न । मलाईचाहिँ माताजीको डर लाग्थ्यो । माताजीले अहिले तिमीहरू धेरै हिमचिम नगर्नू भन्नुभएको थियो । त्यसैले म उनीसित टाढा नै रहेँ । बोल्नैपर्ने अवस्था पनि आएन ।’

‘दुई वर्षपछिको घटना हो । मेरा पिताजीको लामो कोठाभित्र एउटा संगमरमरको टेबल थियो । टेबलमा सिसाको गिलास थियो । त्यसमा पिताजीले चिसोपानी खानुहुन्थ्यो । एक दिन म त्यो कोठामा जाँदा गिलास लडेको देखेँ । त्यतिबेला उनी कोठाभित्रै थिइन् । मैले उनलाई चोरऔंला ठड्याउँदै भनेँ, ‘पख्, म बाबालाई भन्दिन्छु ।’ मैले उनीसित पहिलोपटक बोलेको वाक्य यही हो ।’

परिवार नियोजनको वात्स्यायन फर्मुला

तीन वर्षपछि मात्र उनीहरूले सँगै सुत्ने अनुमति पाए । मदन परिवार नियोजनको कट्टर पक्षपाती थिए । उनले वात्स्यायनको ‘काम सूत्र’ भन्ने शास्त्रीय पुस्तक पढेका थिए, जसमा यौन सम्बन्धका विभिन्न आयामबारे वर्णन गरिएको थियो । त्यही पुस्तक पढेर परिवार नियोजनका विधिबारे ज्ञान हासिल गरेको उनले बताए ।

‘पिताजीको दराजमा रहेको त्यो किताब लुकेर पढेपछि म परिवार नियोजनको सानोतिनो ज्ञाता भएको थिएँ । मैले त्यसलाई व्यवहारमा सफल प्रयोग गरेँ । फलस्वरुप डेढ वर्षसम्म हाम्रो सन्तान भएन ।’

‘एक दिन माताजी धारामा पानी भर्दै हुनुहुन्थ्यो । म अध्ययनमा लिन थिएँ । यत्तिकैमा उहाँले ठूलो आवाजमा रीतालाई कराएको सुनेँ । उहाँ भन्दै हुनुहुन्थ्यो, बिहे गरेको चार वर्ष भइसक्यो, अझैसम्म

छोराछोरी पाउने सुरसार छैन । के हो तिम्रो पारा ? उनी चुपचाप थिइन् ।’

त्यसको वर्ष दिनपछि रीताले पहिलो सन्तानका रुपमा छोरालाई जन्म दिइन् ।

प्रेमपत्रले पार्‍यो फसाद

एउटा प्रेमपत्रले मदन र रीताको सम्बन्धमा ठूलो तनाव उत्पन्न गरिदियो । अज्ञात प्रेमिकालाई सम्बोधन गर्दै मदनले सो प्रेमपत्र लेखेका थिए । उक्त प्रेमपत्र मदनकी दिदीले एउटा धार्मिक ग्रन्थभित्र लुकाएको अवस्थामा भेटाएकी थिइन् । उक्त प्रकरणमा मदनको बयान यस्तो छ ः

‘त्यतिबेला रीतासहित परिवारका सबै सदस्य वीरगञ्ज आएका थिए । बनारसमा म मात्र थिएँ । एक्लो अवस्थामा के गरुँ कसो गरुँ भइरहेको थियो । यत्तिकैमा मैले धारावाहिक रूपमा प्रेमपत्रहरू लेख्न थालेँ । अज्ञात प्रेमिकालाई सम्बोधन गरेर सातवटा प्रेमपत्र लेखेँ र कतै लुकाएँ ।’

‘कलेज बिदा भएपछि म पनि बारामा गएँ । त्यसपछि सबै सँगै फर्कियौं । फर्किएपछि मैले आफूले लेखेका प्रेमपत्र सम्भिmएँ र खोज्न थालेँ । ती प्रेमपत्र रीताको हातमा नपरोस् भन्ने थियो । ६ वटा पत्र फेला पारेँ र च्यातभुत पारिदिएँ । एउटाचाहिँ भेटिएन ।’

‘नभेटिएको अन्तिम प्रेमपत्र मैले आफ्नो भागवत गीताको पन्नाभित्र राखेको रहेछु । मेरी ठूली दिदी कृष्णभक्त हुनुहुन्थ्यो । उहाँ बुझे पनि नबुझे पनि भागवत गीता पल्टाएर हेर्नुहुन्थ्यो । एक दिन उहाँले मैले राखेको पत्र फेला पार्नुभएछ । उहाँले मदनको कुनै केटीसित प्रेम छ भन्दै माताजीलाई सुनाउनुभएछ । माताजीले पिताजीलाई सुनाउनुभो । पिताजीले मदनलाई राम्रोसित सम्झाउ भन्नुभएछ । माताजीले मलाई बोलाएर सम्झाउनुभो । मैले आफ्नो कसैसँग प्रेम नरहेको र अज्ञात केटीको नाममा लेखेको प्रष्टीकरण दिएँ । तर, उहाँले विश्वास गर्नुभएन । त्यसपछि उहाँले रीतालाई श्रीमानलाई जथाभावी गर्न नदिनू भनेर सम्झाउनुभएछ ।’

‘त्यसपछि त के चाहियो । उनले मसित राति सुत्ने बेला अनेक तरहले बिलौना गर्न थालिन् । अरुसित प्रेम थियो भने मलाई किन बिहे गर्नुभयो भनेर रुवाबासी गरिन् । मैले डेढ घन्टासम्म यत्न गर्दा पनि सम्झाउन सकिनँ । आखिरमा म पनि रोएँ ।’

यस प्रकरणमा रीताको भनाइ यस्तो छः

‘उहाँले कुनै केटीलाई प्रेमपत्र लेख्नुभएको भन्ने कुराले घरभित्र ठूलो रुप लिइसकेको रहेछ । तर, मलाई कसैले भनेको थिएन । एक दिन छोरालाई बोकेर दूध खुवाउँदै थिएँ, आमा र आमाजूले कुरा गरेको घोइरो-घोइरो सुनेँ । उहाँहरूको कुरा सुन्दा मलाई साह्रै पीडा भयो । मलाई लाग्यो, पक्कै उहाँको कसैसित सम्बन्ध छ । त्यो रात सुत्ने बेला उहाँसँग बाझेँ, धेरै रोएँ पनि । उहाँ रुनुभएको थाहा पाइनँ । त्यो निहुँमा धेरै दिनसम्म हाम्रो बोलचाल भएन ।’

६ महिनासम्म केटी पछ्याउँदा

‘तपाईंले खासमा किन लेख्नुभएको थियो, त्यो प्रेमपत्र ?’ मैले मदनलाई सोधेँ ।

रीताले अघि सर्दै भनिन्, ‘थियो होला नि कोही ।’

मदनले प्रष्टीकरण दिए, ‘त्यतिबेला म २१/२२ वर्षको अल्लारे थिएँ । जवानीको उमंग थियो । त्यही उमंगमा डुबेर लेखेँ । खाली आफ्नो सोख पूरा गर्न लेखेको थिएँ । यति ठूलो रुप लेला भन्ने भएन ।’

‘अनि त्यो प्रेमपत्र कहाँ गयो ?’

रीताले जवाफ दिइन्, ‘चाबहिलको एउटा पत्रकारले कुनचाहिँ किताबमा छाप्छु भनेर लगेको थियो, तर छापेन । फिर्ता पनि ल्याएन ।’

‘हामी कुन घरमा बस्दाखेरिको कुरा हो यो ?’ मदन आफ्नी पत्नीसित सोध्छन् ।

‘प्युखामा बस्दाखेरि लगेको होइन त ?’

मदन घोरिन थाले ।

‘जवानीका बेला केटी जिस्क्याउने कत्तिको गर्नुहुन्थ्यो,’ मैले मदनलाई जिस्क्याएँ ।

‘जिस्क्याउनुहुन्थ्यो होला नि,’ फेरि रीताले अघि सरेर बोलिन् ।

मदनले एउटा घटना सम्झिए-‘विश्वनाथ गल्लीमा एउटा स्कुल थियो । म क्लास ९ सम्म त्यहीँ पढेको हो । ९ कक्षामा फस्र्ट भएँ । पिताजीले ‘तँ पढ्दै नपढी फस्र्ट भइस्, यो स्कुल काम लाग्दैन’ भन्दै निकालिदिनुभयो । त्यसपछि म प्राइभेट पढ्न थालेँ ।’

‘विश्वनाथ गल्लीको अगाडिपट्टि एउटा पसल थियो । त्यो पसल बिहान खुलेको हुन्नथ्यो । म त्यो पसलको फलेकमा बसेर विश्वनाथ दर्शन गर्न आउनेको आवतजावत नियालिरहन्थेँ ।

एवं रीतले नियाल्ने क्रममा एक दिन मैले एउटी स्कुल जान हिँडेकी कन्यालाई देखेँ । उनलाई त्यसभन्दा अगाडि त्यहाँ कहिल्यै देखेको थिइनँ । कन्यालाई देख्नासाथ मेरो शरीरमा बेग्दै किसिमको तरंग पैदा भयो । एकाएक शिर निहुरियो । कन्याले मलाई देखिन् कि देखिनन् थाहा छैन । उनी सरासर अगाडि बढ्छिन् । म उनीहरूको पछिपछि लाग्छु । कन्या गल्लीबाट निस्केर एउटा लाइब्रेरीको भर्‍याङमा बसेर बसलाई पर्खिन्छिन् । केहीबेरमा बस आउँछ र उनी चढ्छिन् । म फरक्क फर्केर आफ्नो बाटो लाग्छु । यो उपक्रम लगभग चार-पाँच महिनासम्म चल्यो ।’

‘हजुरलाई राम्री लागेर पछ्याउनुभएको ?’ म सोध्छु ।

‘होला नि,’ फेरि अघि सर्छिन् रीता ।

‘राम्री वा नराम्री भन्ने सोचले होइन,’ मदन विनम्रतापूर्वक भन्छन्, ‘मलाई मेरो मनले डोर्‍यायो । किन डोर्‍यायो थाहा छैन । तर, ती कन्यासित एक वचन पनि नबोलीकन यो प्रकरणको पटाक्षेप भयो ।’ ती कन्यासितको प्रसंगलाई उनले २०१९ सालमा प्रकाशित पुस्तक ‘ती ठिटी’मा समावेश गरेका छन् ।

उनले अर्को दृष्टान्त सुनाए- ‘मैले एमए पढ्दा कक्षामा ६ जना कन्या थिए । त्यो दुई वर्षको बीचमा मेरो एउटी कन्यासित १५ मिनेटसम्म कलह भयो, एउटा किताबको विषयलाई लिएर । अन्यथा म कसैसित बोल्दा पनि बोलिनँ । हो, कक्षामा एउटी कन्यासित मेरो आँखा जुध्दथ्यो । त्यसैलाई लिएर हल्ला चलाइयो कि मदनमणिको उनीसित प्रेम बसेको छ । परन्तु, त्यो प्रेम नभएर जवानीको उमंग मात्रै थियो । म एउटा विवाहित पुरुषको मर्यादाभन्दा बाहिर कहिल्यै गइनँ ।’

ससुरा दाहिना, सासू देब्रे

बिहेको केही समयपछि मदनकी आमा बिरामी परिन् । उनले बुहारीको नक्षेत्र अश्लेषा परेकाले आफू बिरामी परेको भन्दै र अब नबाँच्ने अनुमान गरिन् । यो कुरा उनले आफ्नो पतिलाई सुनाइन् ।

‘घरमा एउटी अश्लेषा आई । अब यसले मलाई खान्छे,’ उनले क्वाँ क्वाँ रुँदै भनिन् ।

अश्लेषा नक्षेत्र परेकाले बाबुआमा वा सासू-ससुरालाई खान्छन् भन्ने भनाइ थियो ।

श्रीमानले उनलाई सम्झाउन खोजे, ‘त्यस्तो हुने भए हाम्री छोरीले उहिल्यै हामीलाई खान्थी होला ।’ रीताकी नन्दको पनि अश्लेषा नक्षेत्र परेको रहेछ ।

रीता भन्छिन्, ‘ससुराले जति सम्झाए पनि सासूले मान्नुभएन । अब बुहारीको मुख हेरेँ भने मर्छु भन्दै सुक्सुकाउन थाल्नुभो । त्यसपछि पाँच दिनसम्म उहाँले मेरो मुख हेर्नुभएन । आफ्नो कोठाको ढोका बन्द गरेर बस्नुहुन्थ्यो थाल्नुभो । म खाना लिएर जान्थेँ, ढोका ढकढक गर्थें । उहाँ ढोका खोल्नुहुन्थ्यो । म अर्कोतिर मुख फर्काएर खाना राखिदिन्थेँ अनि हिँड्थेँ ।’

‘पाँचौँ दिनमा ससुराले सासूलाई अलि कडा रूपमा सम्झाउनुभो । उहाँले भन्नुभयो, तेरी छोरी पनि त अश्लेषा हो नि । भोलि छोरीका परिवारले उसलाई यस्तै व्यवहार गरे भने हामीलाई कस्तो लाग्छ ?’ यति भनेपछि बल्ल आमाले मेरो मुख हेर्नुभयो ।’

‘सासूभन्दा ठीक उल्टो हुनुहुन्थ्यो ससुरा । उहाँ मलाई असाध्यै माया गर्नुहुन्थ्यो । बाहुनले सधैँ राति उहाँलाई रोटी पकाएर उहाँलाई खान दिन्थ्यो । कहिलेकाहीँ मलाई दिन मन लागेको छ भने उहाँ बाहुनलाई भन्नुहुन्थ्यो, आज असाध्यै भोक लागेको छ । दुईवटा पुरी बढी राखिदेऊ । बाहुनले त्यसै गथ्र्यो । अनि उहाँले दुईवटा रोटी पहिले नै छुट्याएर राख्नुहुन्थ्यो, अनि सधैँजस्तो १२ वटा रोटी खानुहुन्थ्यो ।’

‘उहाँले खाएको थाल उठाउन म जान्थेँ । उहाँले राखिदिएको रोटी र तरकारी मुखमा बुझो हालेर कापकुप पार्थें र खाली थाल लगेर भाँडा माझ्ने स्थानमा राखिदिन्थेँ । मासु खाएका बेला पनि यस्तै गर्नुहुन्थ्यो । घरमा मैले खानै नपाउने अवस्था थिएन । सायद सासूले मलाई गरेको तिरस्कारप्रति उहाँले सहानुभूति दर्शाउन खोज्नुभएको होला । मेरो छोराछोरी भएपछि यो क्रम छुट्यो ।’

झन्डै जोगी बनेको

मदनमणिले एकपटक घरबार त्यागेर सन्न्यासी बन्ने सुर कसेका थिए । यो ०४५ सालतिरको कुरा थियो । उनका ब्रह्मस्वरुप अग्रवाल भन्ने मुजफ्फरपुरका साथी थिए, सँगै एमए पढ्ने । यस्तो जीवन के जीवन भन्दै उनीहरू दुवैले सन्न्यासी हुने संयुक्त निर्णय लिए ।

सन्न्यासी बन्नका लागि दुवै साइकलमा बसेर गुरुको खोजीमा हिँड्न थाले । बनारसभरि डुलेर आधा दर्जन सन्न्यासीलाई भेटे, तर कसैलाई पनि गुरु मान्न योग्य पाएनन् ।

मदन भन्छन्, ‘ती सन्न्यासीको योग्यता हामीले गुरु मान्न लायक थिएन । हाम्रो विद्वता उनीहरूभन्दा धेरैमाथि थियो ।’

आखिरमा ‘गुरु मान्न लायक’ एकजना सन्न्यासी भेटिए, जो निकै विद्वान पनि थिए । लामो कुराकानीपछि ती सन्न्यासी उनीहरू दुवैलाई गुरुमन्त्र दिन तयार भए । उनले गेरु वस्त्र, लगौंटी, खराउ, पलासको पिर्का लिएर भोलिपल्ट आउन भने र पर्सिपल्ट गुरुमन्त्र दिने बताए । दुवै खुसी भएर गुरुलाई ढोग गरे । फर्किनलाई यसो साइकल चढ्न खोज्दै गर्दा गुरुले उनीहरूलाई ‘इधर आओ’ भन्दै बोलाए ।

‘क्या हुवा महाराज ?’ ब्रह्मस्वरुपले सोधे ।

‘तुम लोग विवाहित हो कि अविवाहित ?’ महाराजले सोधे । ब्रह्मस्वरुपले आफू अविवाहित हुनुको साथै एउटा छोरोसमेत रहेको र साथी विवाहित भएको बताए ।

-ब्रह्मस्वरुपको आफ्नै कथा थियो । बाबु मरेको ११ महिनापछि आमाले उनलाई जन्म दिएकी रहिछन् । मदनले एक दिन उनलाई सोधे, बाबु मरेको ११ महिनापछि तिमी जन्मियौ कसरी ? ब्रह्मस्वरुपले जवाफ दिए, ‘विधवा भएपछि मेरी आमा हरिद्वारका सन्न्यासीहरूको खुबै भक्ति गर्थिन् । त्यसैको परिणामस्वरुप आमाले भुँडी बोकिन् र मलाई जन्माइन् ।’)

‘अपने अर्धांगिनी से स्वीकृति लेकर आए हो ?’ महाराजले मदनलाई सोधे । उनले ‘छैन’ भन्ने भावमा मुन्टो हल्लाए । त्यसपछि महाराजले भने, ‘पहेले परिवार से स्वीकृति लेकर आओ । परिवार के स्वीकृति बेगर नही हो सकता ।’

‘ठीक हे महाराज’ भन्दै दुवै बाटो लागे ।

राति सुत्ने बेला मदनले पत्नी रीतालाई आफू सन्न्यासी बन्न लागेको भन्दै स्वीकृति दिन आग्रह गरे । रीता स्तब्ध बनिन् ।

‘सन्न्यासी बन्नु थियो त किन छोरा पाएको ?’ उनले रुँदै प्रश्न गरिन्, ‘तपाईं हिँडेपछि यो छोरा च्यापेर म कहाँ जाउँ ?’

‘पितामाता हुनुहुन्छ नी,’ मदनले सम्झाउन खोजे ।

‘मैले पितामातासित बिहे गरेको हो कि तपाईंसित ?’ रीताले कडा प्रश्न राखिन् । मदन अवाक् बने । सन्न्यासी बन्ने उनको योजना यत्तिकै तुहियो । उनी गुरु महाराजलाई भेट्न गएनन् ।

‘त्यो रात हामी दुवैजना निदाएनौ,’ मदन भन्छन्, ‘दुईजना दुईपट्ट िफर्केर रोइरह्यौं ।’

भेटेको पैसाले दुई महिना घरखर्च

२०१३ सालमा मदनमणि श्रीमती र छोराछोरीलाई लिएर वीरगञ्जबाट काठमाडौं आए । वीरगञ्जमा छँदाखाँदाको हेडमास्टरको जागिर लात हानेर हिँडेका मदन २००७ सालदेखि कम्युनिस्ट पार्टीको सदस्य बनेका थिए । जागिर छाडेर राजनीतिमा लागेपछि आम्दानीको बाटो बन्द भएको थियो । त्यसपछिका धेरै वर्ष आफ्नो माइतीको सहाराले गुजारा गर्नुपरेको रीता बताउँछिन् ।

मदनमणि सम्झिन्छन्, ‘वीरगञ्ज छाडेर काठमाडौं आएपछि बेखर्ची भएँ । घरमा खाने अन्नसमेत नभएपछि एक दिन बिहानै सापटी खोज्न भनेर हिँडे । धेरै जनासित हात पसार्दा पनि सफल भइनँ । बिहान ६ बजे प्युखाटोलबाट निस्केर हिँडेको मान्छे, इन्द्रचोकको तीनपटक चक्कर लगाएँ । तर केही उपाय लागेन । अन्तमा हार मानेर साँझपख इन्द्रचोकबाट रञ्जना सिनेमा हुँदै फर्किंदै थिएँ । मारवाडी सेवा समितिको ढोकाबाट दुई कदम अगाडि बढेपछि एक रुपैयाँ भुइँमा देखेँ । त्यसलाई चुपचाप जुत्ताले कुल्चेँ । अनि दायाँबायाँ हेर्दै हातले टिपेर गोजीमा हालेँ ।’

‘त्यहाँबाट अलिकति अगाडि बढ्दा फेरि बाटोमा २२ रुपैयाँ भेटाएँ । त्यो पनि टिपेर गोजीमा हालेँ । यसरी भेटेको २३ रुपैयाँले हाम्रो दुई महिनाको खर्च चल्यो ।

काठमाडौंमा खान नपाएर भोकभोकै बस्नुपर्ने अवस्था आएपछि आफ्नो बाबुलाई चिठी लेखेरै धान चामल पठाइदिन अनुरोध गरेको रीता बताउँछिन् । उनले भनिन्, ‘घरखर्च चलाउनेदेखि लिएर छोराछोरी पढाउने र उनीहरूको बिहेवारीसम्म माइतीकै सहयोगले गरेकी हुँ ।’ यसमा मदनको पनि स्वीकारोक्ति छ ।

रीताका बुवाले उनलाई वीरगञ्जमा चार कट्ठा घडेरी र १५ बिघा खेत दिएका थिए । त्यो सबै बेचेर ०२४ सालमा कालिकास्थानमा अहिले बसिरहेको घर किनेको रीताले बताइन् । २५ हजार रुपैयाँमा सो घर किनेपछि उनीहरूको जीवनयापन अलि सहज बनेको थियो । छोराछोरी ठूला भएर आफ्नो खुट्टामा उभिन थालेपछि झन् सहज भयो ।

रीतासित असन्तुष्टिको पोको

जीवनको उत्तरार्द्धसम्म आइपुग्दा आफ्ना श्रीमानप्रति असन्तुष्टिको ठूलै पोको बोकेर बसेकी रहिछन् रीता । त्यो पोकोलाई उनले श्रीमानकै सामुन्ने खोलेर बिस्कुनझैं सुकाइन् । उनका असन्तुष्टि यस्ता थिएः

‘उहाँले सुरुदेखि नै मेरो कुरा सुन्नुभएन । आमाको कुरा सुनेर मलाई दिनहुँजसो गाली गर्ने र पिट्ने गर्नुहुन्थ्यो । आमाको बोली उहाँका निम्ति ब्रह्मवाक्य हुन्थ्यो । सासूले मेरोबारे भए-नभएका कुरा उहाँलाई सुनाउनुहुन्थ्यो र त्यसैका आधारमा उहाँ मलाई बाघले झैं झम्टिनुहुन्थ्यो । उहाँकी आमालाई म पनि माया गर्थें, तर उहाँले कहिल्यै मप्रति राम्रो दृष्टि राख्नुभएन । सासूपछि मैले देवरबाट पनि उस्तै प्रताडना भोगेँ । उहाँ राजनीतिमा लागेपछि जेल पर्नुभयो । त्यतिबेला मेरो र देवरको परिवार सँगै बस्थ्यौं । देवरले मलाई पटक-पटक तल्लो स्तरको गाली गर्नुहुन्थ्यो । तेरा यत्रा छोराछोरी म पाल्न सक्दिनँ, तँ घरबाट निक्लेर गइहाल भन्नुहुन्थ्यो । यो कुरा मैले उहाँलाई कहिले पनि सुनाएको छैन ।’

‘उहाँले एउटा श्रीमानले श्रीमती र परिवारप्रति निर्वाह गर्नुपर्ने दायित्व कहिल्यै निर्वाह गर्नुभएन । घरमा अन्नको गेडो नहुँदा कहिल्यै पनि घरमा खानेकुरा छ कि छैन भनेर सोध्नुभएन । काठमाडौं आएपछि कहिल्यै पैसा कमाएर हातमा दिनुभएन । श्रीमतीले कसरी घर चलाएकी छे भन्ने उहाँले कुनै परवाह गर्नुभएन । मैले यस्ता विषयमा कहिल्यै उहाँसित गुनासो पनि गरिनँ, किनकि मलाई थाहा थियो, उहाँको अगाडि मेरो गुनासोको कुनै मूल्य छैन । मैले उहाँलाई पैसा कमाउन नसकेको भनेर कहिल्यै आक्षेप लगाइनँ । गाउँमा त्यत्रो जग्गा-जमिन थियो । त्यहाँको कमाई किन ल्याउनुभएन भनेर पनि कहिल्यै सोधिनँ ।’

‘मलाई यस्तो लाग्छ, उहाँलाई मेरो माया छैन । पहिले पनि थिएन र अहिले पनि छैन । मैले कहिल्यै उहाँबाट त्यो प्रेमको महसुस गर्न पाइनँ, जुन प्रेमको आशा हरेक श्रीमतीले आफ्नो श्रीमानबाट गरेका हुन्छन् । बिहे गरेदेखि आजसम्म म बिरामी हुँदा कहिल्यै निधारमा हात राख्नुभएको थाहा छैन । बरु बिमारी स्याहार्नुपर्ला भनेर भागेर हिँड्नुहुन्छ । मैले म आफू भोकै बसेर भए पनि यनकेन प्रकारेण छोराछोरी र उहाँलाई खान दिन्थेँ । तर, उहाँले कहिल्यै तैंले के खाइस् भनेर सोध्नुभएन ।’
‘अहिले पनि उहाँको पारा त्यस्तै छ, जस्तो पहिले थियो । म उहाँको अति हेरविचार गर्छु । बिरामी हुँदा एक छिन छोड्दिनँ । तर उहाँलाई मेरो खासै मतलब छ जस्तो लाग्दैन । म सबै कुरा सहेर आँखा चिम्लेर उहाँको सेवा गरेकी छु । तर त्यसको बदलामा केही पाएकी छैन । म एक्ली छु ।’

सात सालदेखि पिट्न छाडेँः मदन

कान अत्यन्तै कम सुन्ने मदनको सामुन्नेमा रीताले उनीप्रति आफ्नो असन्तुष्टि छताछुल्ल पारिन् । मैले मदनलाई सोधेँ, ‘तपाईं आमाको कुरा सुनेर उहाँलाई गाली गर्ने र पिट्ने गर्नुहुन्थ्यो रे हो ?’

‘आमाको कुरा सुनेर मात्रै होइन,’ उनले शान्त मुद्रामा जवाफ दिए, ‘हामी खान्दानी रिसाहा हौं । मेरा पिताजी असाध्यै रिसाहा हुनुहुन्थ्यो । बाजे झन् रिसाहा । उहाँहरूको क्रोध सायद ममा पनि सर्‍यो । विवाह भएपछि त्यो क्रोध श्रीमतीमाथि पोख्न थालियो । धेरैपटक मैले उनलाई पिटेँ पनि । आफ्नो स्वाभिमानले गर्दा पिट्थेँ । तर यसको मतलब उनलाई माया नै गर्दिनथेँ भन्ने होइन । माया त थियो ।’

उनले कम्युनिस्ट पार्टीको सदस्यता लिएपछि २००७ सालदेखि श्रीमतीमाथि हात उठाउन छाडेको बताए । ‘कम्युनिस्ट म्यानुफेस्टो पढेपछि आफ्नो आचरण सुधार गरेँ,’ उनले भने ।

‘तपाईंहरू दुईमा एकले अर्कालाई कसले धेरै माया गर्छ होला ?’ मैले घुमाउरो किसिमले प्रश्न राखेँ ।

उनले कूटनीतिक जवाफ दिए, ‘माया जोख्ने कुनै तराजु छैन । कसले धेरै माया गर्छ भनेर कसरी भन्ने ?’

‘हामी एकले अर्कालाई सहारा दिन्छौं । राति एउटै कोठामा फरक-फरक पलङमा सुत्छौं । एकजनालाई बिसन्चो हुँदा अर्काले हेरविचार गर्छौं,’ उनले भने ।

सहयात्राको आधार मित्रता

‘७७ वर्ष लामो सम्बन्धको सबैभन्दा सुन्दर पक्ष के हो ?’ मैले मदनलाई सोधेँ ।

‘हाम्रो मित्रता,’ उनले जवाफ दिए, ‘हामी एक अर्काका सबैभन्दा आत्मीय साथी हौं । हामीबीच असल मित्रताको सम्बन्ध नहुँदो हो त ७८ वर्ष लामो सहयात्रा सम्भव नै थिएन । त्यसैले म आफ्नो सबै सम्बन्धमा उनीसितको सम्बन्धलाई बढी महत्त्व दिन्छु ।’

‘उहाँको मनपर्ने गुणहरू के के छन् ?’

‘(हाँस्दै) सबैभन्दा पहिलो कुरा धैर्य हो । औपचारिक शिक्षा नभए पनि घर व्यवहारमा कोहीभन्दा कम छैनन् । चारैतिर विचार गरेर काम गर्छिन् । त्यसैले मेरो परिवार र मेरा सातजना काकाहरूको परिवारले भेट्दा उनलाई आदर-सम्मान गर्छन् ।’

रीताले हौसिँदै थप्छिन्, ‘मेरा सातजना सासूले नै मलाई तिम्रो बहिनी छिन् भनेर सोध्नुहुन्थ्यो । मेरी बहिनीलाई बुहारी बनाएर भित्र्याउने उहाँहरूको चाहना थियो । तर, जुन परिवारमा मैले यति दुःख पाइरहेकी छु, त्यसैमा बहिनीलाई पनि किन हेल्थेँ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?