Comments Add Comment

न्युयोर्कमा परराष्ट्रमन्त्रीले भने– अनन्तकालसम्म सार्क निष्क्रिय रहे विचित्र हुनेछ

१० असोज, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लामो समयसम्म सार्क निष्क्रिय रहिरहे त्यसले विचित्र परिणाम ल्याउने बताएका छन् ।

सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठकमा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । तर, उनले त्यस्तो सम्भावित विचित्र परिणमबारे भने केही खुलाएका छैनन् ।

‘सार्कको शिखर बैठक हुन सकेको छैन, सदस्य राष्ट्रले यस सम्बन्धमा उपयुक्त निर्णय नगरिनहुने भएको छ । हाम्रो सङ्गठन अनन्तकालसम्म निष्क्रिय रहिरह्यो भने त्यो विचित्र हुनेछ’, मन्त्री ज्ञवालीले भने, ‘सम्भावना र अवसरले परिपूर्ण दक्षिण एशियाको सामाजिक–आर्थिक भूदृश्य रुपान्तरणका लागि क्षेत्रीयस्तरमा प्रभावकारी सहयोग अपरिहार्य छ ।’

पछिल्लो समय सदस्य राष्ट्रबीचको मनमुटावले सार्क शिखर सम्मेलन हुन सकिरहेको छैन । सम्मेलन नहुँदा सार्कले लक्ष्य अनुरूप काम गर्न सकेको छैन ।

ज्ञवालीले गरिबी, असमानता, अल्पविकास, जलवायु परिवर्तन र प्राकृतिक विपत्तिजस्ता अनेकौँ चुनौतीले गाँजेको यथार्थ सुनाउँदै तिनको प्रभावकारी सम्बोधनका निम्ति सुदृढ सहयोग अत्यावश्यक भएको बताए ।

‘चौंतीस वर्षअघि हाम्रा नेताले शान्त, समृद्ध र सुखी दक्षिण एशियाको परिकल्पना गरेर त्यो लक्ष्यमा पुग्न सार्क स्थापना गरेका हुन्, त्यो परिकल्पना साकार पार्न तथा हाम्रो साझा लाभ र हितका लागि सार्कका कार्यक्रम एवम गतिविधिलाई कार्यान्वयन गर्नुको विकल्प छैन’, ज्ञवालीले भने ।

एकीकृत दक्षिण एसिया, आर्थिक परस्परनिर्भरता, एशियाली आर्थिक सङ्घ, शान्ति सुरक्षा र यो क्षेत्रको समृद्धि प्राप्तिका लागि सुदृढ एवम विस्तारित सहयोग, आपसी विश्वास र मैत्री अपरिहार्य भएको मन्त्री ज्ञवालीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment