Comments Add Comment

तीन गुणाले बढ्यो वैदेशिक लगानीे प्रतिबद्धता

१८ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षभन्दा वैदेशिक लगानी प्रतिबद्धता झण्डै तीन गुणाले वृद्धि भएको छ । असोज मसान्तसम्म १० अर्ब ७६ करोड रुपैयाँ बराबरको विदेशी लगानी अनुमति विभागबाट लिइएको उद्योग विभागका निर्देशक एवं प्रवक्ता विनोद खड्काले जानकारी दिए ।

गत वर्षको सोही अवधिमा ४ अर्ब ८३ करोड ५२ लाख रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको थियो । समीक्षा अवधिको लगानी प्रतिबद्धता अघिल्लो वर्षभन्दा झण्डै ७ अर्बले बढी हो । ७७ परियोजनाका लागि १० अर्ब ७६ करोड रुपैयाँको प्रतिबद्धता आएको हो ।

विभागका अनुसार, लगानीमध्ये ५ अर्ब ७७ करोड रुपैयाँ पर्यटन क्षेत्रमा भित्रिएको छ । होटल क्षेत्रमा यो लगानी आएको विभागले जनाएको छ ।

‘नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न लगानी कर्ताको होड नै चलेको देखिएको छ,’ निर्देशक खड्काले भने ।

यस्तै सेवा क्षेत्रमा दुई अर्ब ७३ करोड, सूचना प्रविधिमा एक अर्ब ३० करोड, उत्पादनमूलक उद्योगमा ९० करोड, कृषि तथा वनजन्य उद्योगमा ५ करोड रुपैयाँको लगानी अनुमति दिइएको विभागले जनाएको छ ।

विदेशी लगानीमा देखिएको उत्साहले नेपालमा लगानी गर्नेको वातावरण राम्रो बनेको संकेत देखिएको उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले बताए । सरकारले गरेको नीतिगत सुधार र लगानी सम्मेलनको प्रभाव अब देखिन थालेको उनको बुझाइ छ ।

एकलविन्दु सेवाको प्रभावकारिताले पनि लगानी प्रतिबद्धताको वातावरण अनुकूल देखिएको महानिर्देशक सिटौलाले बताए ।

‘गत वर्षको कुल लगानी प्रतिबद्धताभन्दा आधा लगानी तीन महिनामै भित्रिनु राम्रो संकेत हो, हामी अझैं राम्रो गर्न प्रयत्नशील छौं,’ उनले भने । आर्थिक वर्ष ०७५÷७६ मा कुल २३ अर्ब ६९ करोड विदेशी लगानी प्रतिबद्धता विभागमार्फत आएको थियो ।

उद्योगी सहजीकरण केन्द्र सञ्चालनमा

विदेशी लगानीकर्तालाई थप सहजीकरण गर्न विभागले इन्भेस्टर्स फ्यासिलिटेसन सेन्टर सञ्चालनमा ल्याएको छ । विभागमा आउने लगानीकर्ता तथा उद्योगी अलमलमा नपरून् भनेर सहजीकरणका लागि केन्द्र सञ्चालनमा ल्याइएको विभागका महानिर्देशक सिटौलाले जानकारी दिए ।

लगानीकर्ताका लागि कम्प्युटर, इन्टरनेट तथा उद्योग दर्ताका प्रक्रिया बुझाउने भिडियो सामाग्रीसहितको व्यवस्था केन्द्रमा हुने उनले बताए । लगानीकर्ताले उद्योग दर्ता गरेदेखि लगानी फिर्तासम्मका विषयमा केन्द्रबाट जानकारी उपलब्ध गराइनु नै मुख्य उद्देश्य भएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment