Comments Add Comment
आलम पक्षको धम्की- ३६ मिनेटको अडियो रेकर्ड :

न्यायाधीशको पसिना निकाल्ने, पीडितलाई नगद र खेत दिने !

५ लाख नगद र ५ कठ्ठा खेतमा वयान फेर्न लगाएको खुलासा

२७ कात्तिक, रौतहट । राजपुर बम विस्फोट र घाइतेहरुलाई ईंटाभट्टामा जलाएको मुद्दा खेपिरहेका नेपाली कांग्रेसका सांसद मो. अफ्ताब आलमले सरकारी साक्षी एवं मृतकका आफन्तलाई वयान फेर्न आर्थिक प्रलोभन देखाएको प्रमाण भेटिएको छ ।

बाह्र वर्षअघि बम विस्फोटमा घाइते भएका भारत सीतामढीका गौरीशंकर रामलाई आलमका मानिसहरुले अपहरण गरेर बन्धक बनाएको मंगलबार मात्र खुलेको थियो । गौरीशंकरलाई वयान फेरेर कागज गराएपछि आइतबार अदालतमा उपस्थित गराइएको थियो । यद्यपि उनले आफूलाई अपहरण गरिएको मंगलबार खुलासा गरे ।

यसअघि विस्फोटमा मृत्यु भएकी भनिएकी ओसी अख्तरकी पत्नी अमना खातुनले पनि आफ्ना श्रीमान वैदेशिक रोजगारीमा गएको र नफर्किएको भन्दै शुक्रबार अदालतमा वयान फेरेर निवेदन दिएकी थिइन् ।

सरकारी साक्षीका रुपमा रहेका मृतकका आफन्त एवं विस्फोटनका घाइतेदे नै बयान फेर्न (होस्टाइल) चाहेको निवेदन लिएर धमाधम अदालतमा आउन थालेपछि प्रहरीले यसको गुह्य कुरो खोजी गर्दा ३६ मिनेट लामो एउटा सनसनीपूर्ण अडियो रेकर्ड फेला परेको छ ।

अनलाइनखबरलाई प्राप्त उक्त अडियोमा आलमका मानिसहरुले अख्तरको परिवारलाई वयान फेर्न धम्की र प्रलोभन दिएको पाइएको छ । आलमका मानिसहरुले अख्तर परिवारसँग गरेको कुराकानीको ३६.५८ मिनेट लामो अडियोमा अख्तर परिवारलाई वयान फेरेवापत ५ लाख नगद र ५ कठ्ठा खेत दिने प्रलोभन दिइएको छ ।

५ लाख रुपैयाँ र ५ कठ्ठा खेत लेऊ !

आलमलाई मन्त्री भन्दै सम्बोधन गरेका उनीहरुले आफूहरुले धम्की दिएको नभई सल्लाह गर्न आएको बताएका छन् । अख्तर परिवारसँगको भेटघाट र कुराकानीको सुरुमा आलमका मानिसहरु भन्छन्, ‘५ लाखमा हुन्छ ? चित्त बुझे हुन्छ, नबुझे हुँदैन भन्नू, तर कुरा चुपचाप राख्नू ।’

उनीहरु भन्छन्, पहिले त्यहाँ (समसुलको घर, जो अख्तरका ससुरा हुन् र घाइतेहरुलाई ईंटा भट्टामा हालेको देखेको वयान दिने साक्षी हुन्) को वातावरण बुझ्नुपर्‍यो ।’

पीडितबाट ‘हुन्छ’ भन्ने जवाफ नआएपछि उनीहरु अर्को कार्ड फाल्छन्, ५ लाख रुपैयाँ र ५ कठ्ठा खेत लेऊ ।

यो पनि पढ्नुहोस ‘आलमका मान्छेहरुले चार दिन बन्धक बनाए, बयान फेर्ने कागजमा सही गराए’ पीडित परिवारले यो प्रलोभनलाई पनि स्वीकार गर्दैन । त्यसपछि आलमका मानिसहरु भन्छन्, तिमी पाँच लाख, पाँच लाख मात्रै भनिराछौं । तर, पाँच कठा जग्गाको मूल्य पनि हेर न । पाँच कठा जग्गाको मूल्य कति हुन्छ ? केही नभए पनि १२/१४ लाख जग्गाकै मोल हुन्छ । दुई लाख कठ्ठाभन्दा बढीको जग्गा हो ।’

उनीहरु बेलाबेला त्रास पनि देखाउँछन् । ‘यो कुरालाई हल्कारुपमा नलिनू’ भन्दै तर्साउन खोज्छन् । कुराकानीका क्रममा उनीहरु जोखिम लिने कि पैसा र जग्गा स्वीकार गर्ने, दुईमध्ये एक रोज्न दबाव दिन्छन् ।

‘आलमलाई सजायँ गराएर तिमीलाई के फाइदा हुन्छ ? फाइदा हुन्छ शैलेन्द्र र किरणलाई (दुवै राजपुरमा आफताबका प्रतिद्वन्द्वी हुन्) ।’ उनीहरुले अख्तर पारिवारका सदस्यहरुलाई लोभ र त्रास दुबै देखाउँदै भनेका छन्, ‘यो (रकम र जग्गा) लियो भने २/४ पैसा त आयो ।’

अघि भन्छन्, ‘आफताब (आलम) छुट्यो भने गाउँ, समाज र जिल्लामा हामीलाई राम्रो हुन्छ । जे भए पनि एकचोटिका लागि माफ गर्दिनुपर्छ । तिमी मुसलमान हो कि होइन ?’

अख्तरका परिवारका सदस्य भन्छन्, ‘मुसलमान भन्नुहुन्छ, मुसलमानको कुरा गर्नुहुन्छ । तर, मुसलमान मरेपछि सदगद गर्दा माटो दिनुपर्छ । कमसेकम शव त दिनुपथ्र्यो नि ? शव पनि दिएन । त्यसकै फल उसले (आलम) पाएको छ ।’

‘माटो दिन पाएनौ भने त्यसको सजायँ अल्लाहले तिमीलाई दिन्छ कि उसलाई ? आलमका मानिसहरुले प्रतिप्रश्न गरे । त्यसपछि अख्तरका परिवारले पनि प्रश्न गरे, तपाईको आफन्तलाई त्यस्तो गरेको भए तपाईले (अहिले भने जस्तो) गर्नुहुन्थ्यो ? उ आफैं गएको थिएन, उसलाई त्यहाँ लगिएको थियो ।’

त्यसपछि भने आलमका मानिसहरु रिसाउँछन् । ‘धेरै बहस नगर र तिमी बुवा (समुसल मिया) लाई सल्लाह देऊ । जे राम्रो हुन्छ, त्यही गर्न भन ।’

यो पनि पढ्नुहोस बेला न कुबेला आलम जोगाउने खेला ! यो पनि पढ्नुहोस बेला न कुबेला आलम जोगाउने खेला ! कुराकानीका क्रममा उनीहरुले कहिले फकाएको जस्तो गर्छन् त कहिले धम्क्याउँछन् ।

‘आज बाघ पिँजडामा छ । गल्ती गरेको छ । हामी उसको अगाडि कमिला हौं । तिमीले अलिकति रहम गरिदेऊ । मन्त्रीको छोरा डाक्टर छ, मेरो बुवाबाट गल्ती भयो भन्दै उ खुट्टा समातेर रोइरहेको छ । समसुल (ओशी अख्तरका ससुरा) निर खुट्टा समातेर रुन्छ । ‘वास्तवमा आलमको आसेपासेले खराब गर्‍यो’ वीचैमा एकजना बोलेको सुनिन्छ ।

यो राजनीतिकरण मुद्दा भएको भन्दै आलमका मानिसहरुले वयान फेर्न आग्रह गर्छन् । रेकर्डमा उनीहरुले भनेका छन्, तिमीले अदालतमा बोल्ने त हो नि । यो भने पनि, त्यो भने पनि । आमनाले गवाही दिने न हो । उसले भन्नुपर्‍यो, आफताबजीले गरेको होइन, उनको त्यसमा कुनै हात छैन । वयान गर्नेले हो वा होइन भन्नुपर्छ ।’

तर, पीडित परिवारका सदस्यले भने आफूलाई पैसाको लोभ नभएको र मृतककी पत्नी आमनाले पनि यो विषय थाहा नभएको बताउने गरेको सुनाए ।

आलमका मानिसहरु धम्कीमिश्रति भाषामा भन्छन्, छुटोस् या नछुटोस् त्यो कुरा होइन । उसले (आमना) यो घटना मलाई थाहा छैन भन्नुपर्छ । सासूले सुनाएपछि मैले थाहा पाएँ भन्नुपर्छ । त्यसपछि हामी सिस्टममा ल्याउँछौं ।’

उनीहरु न्यायाधीशको पसिना निकालिदिने र आलम छुट्ने भन्दै पीडित परिवारलाई प्रभावित पार्ने अनेक प्रयास गर्छन् ।

झण्डै २० मिनेट लामो दबाव र प्रलोभनयुक्त कुराकानीपछि पीडित परिवारका सदस्य केही गलेको अडियो सम्वादमा बुझिन्छ । उनी भन्छन्, अहिले म केही भन्दिनँ । काम भएपछि तपाईलाई जे विचार छ गर्नुहोला । सर्प पनि मरोस्, लठ्ठी पनि नभाँचियोस् ।’

तर, आलमका मानिसहरु अझै ढुक्क हुँदैनन् । ‘भोलि बाटोमा हिँडिरहँदा केही होला, मोटरसाइकलले ठोकिदेला, केही हुन सक्छ’ भन्दै पीडित परिवारलाई त्रास देखाउँछन् ।

त्यसपछि पीडित परिवारले बल्ल मुख खोल्छ, ‘त्यसोभए अलिकति अझै थपिदिनुस् ।’

त्यसमा आलम पक्ष सहमत हुन्छ । तर, उनीहरुले लिखित नगर्ने भन्दै विश्वास गर्न आग्रह गर्छन् ।

त्यसपछि उनीहरुले आलमको प्रशंसा गर्छन् ।

‘उ बाघ हो । जेसुकै गरे पनि हामीलाई उसमा गर्व छ’ उनीहरु भन्छन्, ‘आलमको दोष छैन । महताबको दोष छ, गफुर र फजिउल्लाहको दोष छ । आफताब निर उनीहरुले भनेका थिए ‘काम हो गया, कोई बात नही हैं, आप टेन्सन नही लिजिए ।’

कुराकानीको अन्त्यतिर आलमका मानिसहरुले अरुका कुरा नसुन्न र यो आपसी सहमतिमा सल्टाउनुपर्ने बताउँछन् । पीडित पक्षले भने प्रहरीले समाउने हो कि भन्ने डर पोख्छन् ।

तर, आलमका मानिसहरु ‘प्रहरीले केही गर्दैन’ भन्दै फकाउँछन् । ‘सम्धिनीले (रोक्साना खातुन) जाहेरी दिएकी हुन् । उनी मरिसकिन् । अब कसलाई समात्छ ?’ आलमका मानिसहरुले भन्छन्, ‘आमनाले मन भयो भने वयान दिन्छ, नभए दिँदैन । न्यायाधीशको सामुन्ने जाहेरीमा के बोलेको छ, मलाई थाहा छैन भन्नुपर्छ ।’

यो सम्वाद भएको केही दिनपछि अख्तरकी पत्नीले आफ्ना पति बम विस्फोटमा मारिएको नभई वैदेशिक रोजगारीमा गएको र नफर्किएको भन्दै अदालतमा निवेदन दिएकी हुन् ।

तर, न्यायाधीशले थुनछेक बहसका क्रममा भने आमनाको निवेदनलाई स्वीकार गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment