
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीले ४ कात्तिकमा सर्वदलीय बैठक बोलाएर दलहरूसँग पहिलो पटक औपचारिक संवाद गरेकी छन्।
- बैठकमा दलहरूले निर्वाचनमा सुरक्षाको वातावरण र चुनावको समयमै हुने विषयमा सरकारसँग आफ्ना अपेक्षा राखेका थिए।
- नेकपा एमालेले चुनावको विरोध नगरे पनि संशय व्यक्त गरेको र सरकारले भयरहित वातावरणमा चुनाव गराउने प्रतिबद्धता जनाएको छ।
४ कात्तिक, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मंगलबार सर्वदलीय बैठक बस्यो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो सवा चार बजेदेखि साढे चार घण्टा चलेको बैठकमा दलहरूले सरकारसँगको आफ्ना अपेक्षा राखे ।
निर्वाचनमा सुरक्षाको वातावरण खोजे । चुनाव हुनेमा संशय व्यक्त गर्दै आएको नेकपा एमालेले समेत चुनावको विरोध गरेन। प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री भएपछि पहिलो पटक दलहरूसँग औपचारिक रुपमा संवाद गरेकी हुन्। उनी गत भदौ २७ गते प्रधानमन्त्री भएकी थिइन्। त्यसदिन राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते चुनाव गर्ने गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।
प्रधानमन्त्री भएको ४० दिनपछि कार्कीले मंगलबार दलहरूसँग औपचारिक रुपमै संवाद गरेकी हुन्। निर्वाचन सहज बनाउनका लागि शान्ति सुरक्षा र भयरहीत वातावरण त आवश्यक पर्छ नै। बहुदलीय प्रतिस्प्रधात्मक शासन व्यवस्थामा दलहरूले चुनावमा भाग लिनु उत्तिकै अपरिहार्य छ।
कतै राजनीतिक दलहरूले चुनाव बहिष्कार गर्ने वातावरण पो बन्छ कि भनेर कतिपयले आशंका गरिरहेका बेला प्रधानमन्त्रीले त्यस्तो आशंका मेट्ने प्रयास गरेकी हुन् । सार्वजनिक रुपमा समयमै चुनाव गर्ने प्रतिवद्धता व्यक्त गर्दै आएकी प्रधानमन्त्री कार्कीले मंगलबार दलहरूलाई बोलाएर उस्तै प्रतिवद्धता जनाएकी छन् ।
प्रधानमन्त्री कार्कीलाई नेताहरूले दलहरूसँग संवादमा ढिलाइ किन भनेर प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री कार्कीले ‘यसबीचमा घाइतेहरूको उपचार, शहीदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भएको र त्यसमा समय लागेको’ बताइन् ।
प्रधानमन्त्री कार्कीका अनुसार सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाइरहेका थिएनन् । राष्ट्रपतिबाट संवादको ढोका खोलिदिने काम भएको र त्यसले निरन्तरता पाएको उनले सुनाइन् । ‘अब जेनजी र दलहरू बसौँ’ प्रधानमन्त्री कार्कीको प्रस्ताव छ ।
प्रधानमन्त्री कार्कीले चुनावमा जानुको विकल्प नहरेको समेत दोहोर्याएकी छन्। ‘तोकिएकै समयमा भयरहीत वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध छ’ प्रधानमन्त्री कार्कील भनेकी छन्, ‘यसैका निमिक्त अहोरात्र खटिएर मन्त्रीज्यूहरु, सुरक्षा निकायलगायत हामी काम गरिरहेका छौँ।’
जेनजीको माग सम्बोधन गर्दै सुशासन कायम गर्दै चुनावमार्फत मुलुकलाई अगाडि बढाउने बाहेक सरकारले केही नसोचेको भन्दै प्रधानमन्त्री कार्कीले दलहरूसँग समेत चुनावी वातावरणका लागि सहयोगको अपेक्षा राखिन्।
‘जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ । चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेलौँ’ प्रधानमन्त्री कार्कीले दलका नेताहरूलाई भनेकी छन्, ‘यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ ।’
दलसँग दूरी घटाउँदै सरकार, संशय यथावत्
सर्वदलीय बैठकमा दलहरूले जेजस्ता विषय राखेतापनि प्रधानमन्त्री कार्कीको कदम आफैँमा सकारात्मक रहेको नेताहरू बताउँछन् । एमाले नेता महेश बस्नेत सामाजिक सञ्जालमा लेख्छन् ‘ढिलो भएपनि प्रधानमन्त्री सुशिला कार्कीले बोलाएको सर्वदलीय बैठकमा राजनीतिक दलहरूले सहभागिता जनाएका छन। यो कदम सकारात्मक छ ।’
सर्वदलीय बैठकमा सुरुमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले स्वागत मन्तव्य राखेका थिए । त्यसक्रममा उनले दलहरूसँगको संवादको विषयवस्तु समयमै चुनाव गरेर मुलुकलाई अगाडि बढाउनु रहेको बताए।
चुनाव गराउने वातावरणका लागि सरकार प्रयासरत रहेको र दलहरूको समेत उत्तिकै भूमिमा हुने उनको आग्रह थियो।
जेनजीले सुशासनको नारा लिएर परिवर्तन चाहेकाले त्यसअनुसार राजनीतिक परिस्थिति अगाडि बढेको र फेरि पनि मुलुक विधिकै शासनअनुसार अगाडि बढ्नुपर्छ भन्नेमा सबै सहमत रहेको विश्वास व्यक्त गरेका थिए ।
विश्वासको वातावरण बनाउने र अगाडि बढ्ने प्रयास अन्तर्गत यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक राखेका थिए । गत असोज २४ गते राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शितल निवासमा राखेको सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीसहित बिभिन्न दलका प्रतिनिधिहरू सहभागी भएका थिए ।
उक्त बैठकमा राष्ट्रपति पौडेलले सुरुमै प्रधानमन्त्रीकै सिफारिसमा सर्वदलीय बैठक राखेको र सर्वदलीय बैठकको योजनाकार सरकार नै रहेको बताएका थिए। तथापि, उक्त बैठक राष्ट्रपति पौडेलको सहजीकरणमा बसेको थियो।
राष्ट्रपति र निर्वाचन आयोगले राखेको सर्वदलीय बैठकमा जस्तै दलहरूले प्रधानमन्त्रीसँगको छलफलमा समेत चुनावी सुरक्षाबारे चासो राखे।
यसअघि निर्वाचन आयोगले गत असोज ३० गते सर्वदलीय बैठक राखेको थियो। निर्वाचन आयोगको छलफलमा समेत चुनावी सुरक्षाको विषयमा दलहरूले चासो राखेका थिए । राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा पनि यही विषय प्रमुखताका साथ उठाए।
मंगलबार पनि उही विषय दोहोरिएपछि प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याल दुवैले दलहरूको आशंका मेट्ने गरी सरकारले व्यवहार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार ‘निर्वाचनमा जाने कुरामा सबै दलको सहमति देखिएको छ । तर, सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो दलका प्रतिनिधिहरू राखेका छन्।’
नेताहरूका अनुसार एमालेले वर्तमान सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरेपनि चुनावको विरोध गरेको छैन। अर्थात्, दलहरूको संशय यथावत छ ।
मंगलबार बालुवाटारको छलफलमा विभिन्न चरणमा कुराकानी भए। पहिलो चरणमा नेताहरू शंकर पोखरेल, पम्फा भुसाल, प्रेम सुवाल, राजेन्द्र गुरुङ बोले। नेताहरू गगन थापा, स्वर्णिम वाग्ले, रेशम चौधरी, चन्दन सिंह, राजेन्द्र पाण्डे, उपेन्द्र यादव र सर्वेन्द्रनाथ शुक्लले पनि पहिलो चरणमै बोले ।
दलका प्रतिनिधिहरूले एकसरो कुरा राखिसकेपछि दोस्रो चरण पनि चल्यो। दोस्रो चरणमा नेताहरू प्रकाशशरण महत, प्रदीप ज्ञवाली र वर्षमान पुन बोले।
नेताहरूले राखेको सुरक्षा र निर्वाचनको चासोको सम्बोधन प्रधानमन्त्री कार्कीले गरिन् । सरकारको ध्यान चुनाव गराउने नै रहेको उनको प्रतिवद्धता थियो।
‘दल भर्सेस सरकार नदेखियोस्’
छलफलमा सहभागी नेताहरूले सरकारको म्यान्डेड चुनाव गर्नु रहेको बताए । एमालेका तर्फबाट महासचिव शंकार पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली दुवै वोलेका थिए । उनीहरूले ‘चुनाव हुने वातावरण सिर्जना भइराखेको छैन । हात हतियारको कुरा छ । शान्ति सुरक्षाको कुरा के हुन्छ ?’ भनेर प्रश्न गरे ।
जेनजीको माग संविधानसम्मत सम्बोधन गरिनुपर्ने र चुनावमा गएर संविधानमा उनीहरूका माग समावेश गर्न सकिने बताए ।
‘संकटका बेला सबै पक्षसँग छलफल गर्नुपर्छ । यसमा सरकारको कमी रहेको महसुस भएको छ’ महासचिव पोखरेलले भनेका छन् ।
उपमहासचिव ज्ञवालीले ‘प्रहरीहरूको मनोबल गिरेको छ । दुर्घटना भए अस्पताल लैजाने भन्दा अन्यत्र प्रहरीले भूमिका निर्वाह गर्न सक्ने अवस्थामा नरहेको’ बताए ।
ज्ञवालीका अनुसार प्रहरीलाई नै धम्क्याउने काम भइरहेको छ । यसमा सरकारले ध्यान दिनुपर्ने सुझाए । उनले सरकारलाई भनेका छन्, ‘जेनजी र आपराधिक कार्य गर्नेहरू छुट्याउनुपर्छ । यसरी गएर सरकारले गर्ने व्यवहारले चुनावी वातावरण कस्तो बन्छ भन्ने देखिन्छ ।’
माओवादीका तर्फबाट वर्षमान पुन बोलेका थिए । उनले भदौ २३ र २४ गतेको घटनाको अनुसन्धान हुनुपर्ने बताए । ‘अहिले दलहरू र नेताहरू नै सुरक्षित छैनन् । मुद्दा नचलाउने गृहमन्त्रीको परिपत्र के हो ?’ पुनले भनेका छन्, ‘चुनावमा जाने हो भने दलहरूलाई विश्वासमा लिनुपर्छ।’
दल भर्सेस सरकार नहुने वातावरणका लागि उनले सरकारलाई आग्रह समेत गरे । कांग्रेसका महामन्त्री गगन थापाले संसद् विघटन असंवैधानिक भएता पनि निर्वाचनका लागि आफूहरू तयार भएर अगाडि बढ्नुपर्ने बताए ।
‘अब निर्वाचनबाट संविधानलाई ट्रयाकमा ल्याउनुपर्छ’ उनले भनेका छन्, ‘जेनजी अगुवा जो सरकारलाई ब्याकअप गरिरहेका छन् उनीहरूले दलहरूलाई निषेध गर्ने भनिरहेका छन् । यसले वातावरण ठीक बनाउँदैन, यसमा सबै गम्भीर हुन आवश्यक छ ।’
महामन्त्री थापाले पनि दल भर्सेस सरकार नदेखियोस् भनेर आग्रह गरे । उनले भनेका छन्, ‘दल भर्सेस सरकार नदेखियोस्।’ भदौ २४ को विध्वंशमा संलग्नमाथि कारबाही हुनपर्नेम उनले पनि जोड दिए ।
गृहमन्त्रीले दलहरूलाई चिढ्याउने खालको अभिव्यक्ति दिएको भनेर पनि ध्यानाकषण गरे । उनले भने, ‘दलहरूले हतियार प्रयोग गर्छन भन्ने खालको कुरा गृहमन्त्रीले गर्न भएन ।’
निर्वाचन आयोगको तयारी प्रावधिक विषय भएको भन्द्र उनले विश्वासको वातावरण सिर्जना गर्न सरकारलाई नै आग्रह गरे ।
‘शान्तिपूर्ण सत्ता हस्तान्तरण होस्, सरकारले अन्यथा नसोचोस्’
नेताहरूले चुनावी सुरक्षाबारे चासो राख्दै गर्दा सरकारलाई अन्यथा मनसाय नराख्न समेत सचेत गराएका छन् ।
रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्लेले भनेका छन्, ‘शान्तिपूर्ण सत्ता हस्तन्तरण हुनुपर्छ । यो भन्दा अन्यथा मनसाय सरकारले नराखोस् ।’
चुनाव नै विकल्प भएको र चुनाव गर्ने कुरामा समर्थन रहेको उल्लेख गर्दै उनले थपे,‘संविधान मार्न हुँदैन।’ सरकार गलत तरिकाले अगाडि बढ्न खोजे चुप लागेर नबस्ने उनको चेतावनी समेत छ। उनले भनेका छन्, ‘यदि सरकारले पथ भ्रष्ट हुने खालको चरित्र देखायो भने हामी चुप बस्दैनौं।’
प्रहरीलाई साधनस्रोत दिनुपर्नेमा सरकारले दिन्छु मात्रै भनिरहेको भनेर उनले सरकारको ध्यानाकर्षण गरे। ‘प्रहरीलाई साधनस्रोत दिन्छु भनेर हुँदैन दिइहाल्नुपर्छ।’ उनको आग्रह छ ।
निर्वाचन आयोगका रहेका पात्रहरूले झुलाउने/अल्झाउने काम गर्न सक्ने र त्यसो भएमा समेत अविश्वासको वातावरण सिर्जना गर्न सक्ने उनले बताए ।
जेनजीले संविधानमा संशोधन चाहेकाले त्यसलाई समेत अगाडि बढाउने गरी कामहरू अगाडि बढाउन सकिने उनको राय छ ।
उनको आग्रह छ, ‘संविधान संशोधन गर्दा के कस्ता विषय कसरी लैजाने भनेर कार्यसूची बनाएर आनुपर्छ। यसो गर्दा सहज वातावरण बन्न सक्दछ ।’
कांग्रेसका नेता प्रकाश शरण महतले पनि चुनावी वातावरण नै दलहरूको मुख्य चासोको विषय रहेको बताए ।
‘शान्ति सुरक्षामा सरकार गम्भीर भए हामी चुनावमा आउँछौं’ उनले भने ।
सरकारलाई आफू कुन म्यान्डेडबाट आएको भनेर ख्याल गर्न समेत उनको आग्रह छ ।
‘सरकारले भदौ २४ लाई पनि म्यान्डेड मानेको हो भने गलत हो । २३ गतेको हामी मान्छौं’ महतले भने, ‘सरकार आफू कुन म्यान्डेडबाट आएको प्रष्ट हुनुपर्छ ।’
लगत्तै प्रधानमन्त्री कार्कीले प्रतिवाद गरिन्, ‘भदौ २३ कै म्यान्डेट हो। हामीले भदौ २४ लाई म्यान्डेड मानेका छैनौं।’
शीतलनिवास को गए ?, बालुवाटार को पुगे ?
राष्ट्रपति पौडेलले सर्वदलीय राखेको दुई सातापछि मंगलबार प्रधानमन्त्री आफैँले पहल लिएर सर्वदलीय बैठक राखेकी हुन्।
नेताहरूका अनुसार यसले सरकार र दलहरूबीच रहेको दूरी कम गर्न भूमिका खेलेको छ ।
राष्ट्रपति पौडेलले राखेको सर्वदलीय बैठकमा सहभागी कतिपय नेताहरू नै प्रधानमन्त्री कार्कीले राखेको सर्वदलीय बैठकमा पुगे।
राष्ट्रपति पौडेलले राखेको बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा पुगेका थिए। प्रधानमन्त्रीले बोलाएको बैठकमा महामन्त्री थापा र प्रकाशशरण महत सहभागी भए।
शितल निवासको सर्वदलीय बैठकमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल गएका थिए। बालुवाटारको छलफलमा महासचिव पोखरेल र उपमहासचिव प्रदीव ज्ञवाली सहभागी भए ।
राष्ट्रपतिले बोलाएको बैठकमा माओवादी केन्द्रबाट नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुन गएका थिए। मंगलबार प्रधानमन्त्रीले राखेको सर्वदलीय बैठकमा माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल सहभागी भए ।
शितलनिवासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य सहभागी थिए ।
मंगलबारको छलफलमा रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम सहभागी भए। राष्ट्रपतिल बोलाउँदा राप्रपाबाट ज्ञानेन्द्र शाही र मीना लामा गएका थिए । प्रधानमन्त्रीले राखेको बैठकमा राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ गए ।
शितल निवासको सर्वदलीय बैठकमा एकीकृत समाजवादीबाट वरिष्ठ नेता राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाल सहभागी भएका थिए । मंगलबार बालुवाटारको बैठकमा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला गए।
राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी तथा जसपाबाट रेणु यादव थगएक थिए। त्यसदिन जनमतबाट अध्यक्ष सिके राउत र जयबहादुर राउत, लोसपाबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ल, नाउपाबाट रेशम चौधरी, नेमकिपाबाट सुनिलकुमार प्रजापति सहभागी भएका थिए।
मंगलबार प्रधानमन्त्रीले राखेको बैठकमा जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी भए। लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी भए । जनमतका नेता चन्दन सिंह बालुवाटार पुगे।
निर्वाचन आयोगले कार्यतालिकासमेत जारी गरेर चुनावको काम अगाडि बढाउँदा समेत दलहरूले आशंका गरिरहेका बेला राष्ट्रपति, निर्वाचन आयोगपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक राखेर छलफल गरेकी हुन्।
प्रतिक्रिया 4