
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेनजीसँगै बस्न नयाँ प्रस्ताव गरेकी छिन्।
- प्रधानमन्त्री कार्कीले सरकार तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन तयार रहेको बताइन्।
- उनले जेनजी घाइतेहरूको उपचार, शहीदका शव व्यवस्थापन र परिवारका लागि राहत जुटाउँदा समय लागेको खुलाइन्।
४ कात्तिक, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेनजीसँगै बस्न नयाँ प्रस्ताव गरेकी छिन् । मंगलबार वालुवाटारमा जारी दलहरूसँगको बैठकमा प्रधानमन्त्री कार्कीले यस्तो प्रस्ताव गरेकी हुन् ।
दलहरूले राखेको चुनावको चासोपछि जवाफ दिंदै प्रधानमन्त्री कार्कीले भनिन्, ‘राष्ट्रपतिज्यूबाट संवादको ढोका खोलिदिने काम भएको छ। अब जेनजी र दलहरू बसौँ।’
साथै प्रधानमन्त्री कार्कीले सरकार तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन तयार रहेको बताइन् । ‘चुनाव गराउन सरकार कटिबद्ध छ,’ उनले भनिन्, ‘ यसैका निमित्त अहोरात्र खटिएर मन्त्रीज्यूहरु, सुरक्षा निकायलगायत हामी काम गरिरहेका छौँ।’
यस्तै प्रधानमन्त्री कार्कीसँग दलहरूले संवादमा ढिलाइ किन भन्ने प्रश्न गरेका थिए भने जवाफमा प्रधानमन्त्रीले जेनजी घाइतेहरूको उपचार र शहीदका शव व्यवस्थापन तथा परिवारका लागि राहत जुटाउँदा समय लागेको बताइन् ।
उनले भनिन्, ‘यसबीचमा घाइतेहरूको उपचार, सहीदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो। त्यसमा समय लाग्यो।सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाइरहनुभएको थिएन।’
उनले चुनाव सफल बनाउन र दलहरूको चासो सम्बोधन गर्न सरकार तयार रहेकोसमेत स्पष्ट पारिन्। ‘ जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ। चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेलौँ,’ उनले भनिन्, ‘ यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ।’
प्रतिक्रिया 4