News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन राइनोजले एनपीएल २०२५ का लागि डाविड मलान, रवि बोपारा र सोहेल तनभिरलाई टोलीमा सामेल गरेको छ।
- नेपाल महिला क्रिकेट टिमकी कप्तान इन्दु बरमा, हेलिशा गुरुङ र निति शाहलाई टोलीका आधिकारिक प्रतिनिधि घोषणा गरिएको छ।
- चितवन राइनोजले 'ट्यालेन्ट हन्ट' कार्यक्रम कात्तिक २४ र २५ गते आयोजना गर्ने घोषणा गरेको छ।
४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली चितवन राइनोजले आयोजना गरेको ‘चितवन राइनोज मिट’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
एनपीएल ट्रफी टुरको मुख्य आकर्षणका रूपमा आयोजित यस कार्यक्रममा क्रिकेट, समुदाय र संरक्षण भन्ने सन्देशका साथ स्थानीय सहभागिता र उत्साह झल्किएको थियो।
कार्यक्रमका क्रममा चितवन राइनोजले एनपीएल २०२५ का लागि तीन अन्तर्राष्ट्रिय खेलाडीहरूको नाम सार्वजनिक गर्यो। इङ्ल्यान्डका डाविड मलान, अघिल्लो सिजनमा सर्वाधिक रन बनाउने रवि बोपारा र पाकिस्तानका अनुभवी बलर सोहेल तनभिर टोलीमा सामेल भएका छन्।
यस सिजनका लागि ‘फेस अफ द राइनोज’ पनि अनावरण गरियो। नेपाल महिला क्रिकेट टिमकी कप्तान इन्दु बरमा, चितवनकी युवा क्रिकेटर हेलिशा गुरुङ र मोडल तथा अभिनेत्री निति शाहलाई टोलीका आधिकारिक प्रतिनिधिका रूपमा घोषणा गरियो। यसले महिला सशक्तीकरण र खेलमा समावेशिताको सन्देश दिएको क्लबले जनाएको छ।
कार्यक्रममा ‘राइड फर राइनोज’ नामक बाइक र्याली पनि आयोजना गरियो, जसमा सयौं फ्यानहरूले सहभागिता जनाए। क्याम्पाचौरदेखि सौराहा सम्मको र्यालीले राइनो संरक्षण र क्रिकेटप्रति चितवनवासीको उत्साह झल्काएको थियो।
चितवन राइनोजले चितवनका युवामा लुकेका क्रिकेट प्रतिभा खोज्न ‘ट्यालेन्ट हन्ट’ कार्यक्रमको पनि घोषणा गर्यो जुन कात्तिक २४ र २५ गते आयोजना हुनेछ।
चितवन राइनोजका प्रो. डा. हरीश चन्द्र न्यौपानेले आजको कार्यक्रमले टोलीलाई विश्वस्तरको फ्रेन्चाइज बन्ने यात्रामा थप बलियो बनाएको बताए। प्रमुख कार्यकारी अधिकृत डा. आशिष खड्काले ट्रफी टुर र खेलाडी घोषणा प्रति देखिएको जनउत्साह उत्साहजनक भएको बताए। निर्देशक प्रताप देवकोटाले टोलीभित्रको एकता र विश्वासका कारण यसपटक उपाधि जित्ने लक्ष्य रहेको बताए।
चितवन राइनोजले नेपाली क्रिकेट प्रवर्द्धनमा मिडियाको भूमिकाको कदर गर्दै सबै सञ्चार माध्यमहरूलाई कार्यक्रमका झलक र मुख्य आकर्षणहरू प्रचार गर्न आग्रह गरेको छ।
प्रतिक्रिया 4