Comments Add Comment

न्यायाधीशसामू रूप ज्योति : मलाई फसाउन खोजियो श्रीमान्

आइतबार अदालतबाट बाहिरिँदै रुप ज्योती । तस्वीर : रोयल आचार्य/अनलाइनखबर

२४ कात्तिक, काठमाडौं । उद्योगपति डा. रुप ज्योतीले आफूमाथि लागेको ठगीको आरोप अस्वीकार गरेका छन् । आइतबार अदालतमा उपस्थित गराइएका उनले आफू र आफ्नो परिवारलाई बदनाम गराउन राज्य नै लागेको उनले दाबी गरे ।

डा. ज्योतीलाई प्रहरीले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । विगेन्द्रकृष्ण मल्ल नामका व्यक्तिले १ करोड २६ लाख रुपैयाँ ठगी गरेको भन्दै दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरिएको हो ।

सुरुमा तीन दिन म्याद पाएको प्रहरीले आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । त्यसक्रममा पूर्वअर्थराज्यमन्त्री समेत रहेका डा. ज्योतीले आफ्नो तर्फबाट आफैंले बहस गरे । जिल्ला न्यायाधीश ओमप्रसाद अर्यालसामू उनले जाहेरी दर्ता हुनुभन्दा पहिला नै रकम तिरिसकिएको बताए ।

‘मल्लले २०७५ साल मंसिर १६ गते म र मेरो परिवारविरुद्ध १ करोड २६ लाख ठगेको जाहेरी दर्ता गरेका थिए’ न्यायाधीशसामू ज्योतीले भने, ‘त्यो जाहेरी दर्ता हुनुअगावै शम्भु फुँयालमार्फत १ करोड २६ लाख रुपैयाँ जम्मा गरेको छु । उजुर गर्नुभन्दा अगावै अदालतमा पैसा जम्मा भइसक्दा पनि पैसा नलिई मुद्दा हाल्नु र त्यसकै आधारमा हिरासतमा राख्नुले फसाउने नियत देखिन्छ ।’

उद्योगपति ज्योतीले आफू र आफ्नो परिवारको इज्जतमाथि खेलबाड गर्न खोजिएको बताए ।

म्याद थपका क्रममा न्यायाधीश न्यौपाने र रुप ज्योतिबीच भएको सवालजवाफका केही अंशः

न्यायाधीश : डा. रुप ज्योती को हुनुहुन्छ ?

रुप ज्योती : म छु श्रीमान्

‘म सिंगापुरमा छँदा नै ‘तँ पक्राउ पर्छस्’ भनेका थिए । मैले न्यायालयबाट न्याय पाउँछु भनेर आएँ । मैले किन पक्राउ गरियो भन्दा उहाँहरु (प्रहरी) ले ‘उजुरी परेपछि पक्राउ गर्नैपर्छ सर’ भन्नुभयो । सरकार नै मलाई फसाउन लागेको छ । म र मेरो परिवारको बदनाम गराउन लागिएको छ ।’

न्यायाधीश : अनि सुरुची ज्योती ?

रुप ज्योती : मेरो छोरी हुन् श्रीमान्, यी यहीँ छ (छेउमा बसेकी छोरीतिर देखाउँदै) ।

न्यायाधीश : केही भन्नु त छैन नि ?

रुप ज्योती : छ हजुर

न्यायाधीश : के छ भन्नु ?

रुप ज्योती : ममाथि अन्याय भयो, मलाई विमानस्थलबाटै पक्राउ गरियो । खै मलाई किन पक्राउ गरियो ?

न्यायाधीश (बीचमै रोकेर) : पक्राउ पूर्जीमा लेखिएको छैन ? पूर्जी पाउनुभएको छ नि ?

रुप ज्योती : मलाई ठगीको आरोप लगाइएको छ । ठगी भएकै छैन । जुन कम्पनी भनिएको छ, म त्यसको सञ्चालक पनि होइन ।

न्यायाधीश : अनुसन्धान गर्ने भनिएको होला नि । अनुसन्धानपछि थाहा हुन्छ ।

रुप ज्योती : मेरी छोरीलाई पनि पक्राउ गरिएको छ । मेरो अन्य परिवारका सदस्यहरु शौरभ ज्योतीहरुलाई पनि जाहेरी दिइएको छ । मेरो एउटा बहिनी, जो कहिल्यै घरबाट निस्किएकी पनि छैनन्, उनको नाममा पनि जाहेरी छ । जाहेरी दिने मान्छेले नै उसलाई चिनेको छैन । यो केको आधारमा उजुरी गरियो ?

न्यायाधीश : त्यसको अनुसन्धान हुन्छ नि ।

रुप ज्योती : विगेन्द्र मल्लले २०७५ साल मंसिर १६ गते म र मेरो परिवारविरुद्ध १ करोड २६ लाख ठगीको जाहेरी दर्ता गरेका थिए । त्यो जाहेरी दर्ता हुनुअगावै शम्भु फुँयालमार्फत १ करोड २६ लाख रुपैयाँ जम्मा गरेको छु । उजुर गर्नुभन्दा अगावै अदालतमा पैसा जम्मा भइरहँदा त्यो पैसा नलिई मुद्दा हाल्नु र त्यसको आधारमा हिरासतमा राख्नुले पनि फसाउने नियत देखिन्छ ।

मेरी छोरी अमेरिकामा बसेकी थिईन् । मैले नेपालमा नै केही गर्नुपर्छ भनेर बोलाएँ । अहिले उनलाई पनि पक्राउ गरियो । म सिंगापुरमा छँदा नै ‘तँ पक्राउ पर्छस्’ भनेका थिए । मैले न्यायालयबाट न्याय पाउँछु भनेर आएँ । मैले किन पक्राउ गरियो भन्दा उहाँहरु (प्रहरी) ले ‘उजुरी परेपछि पक्राउ गर्नैपर्छ सर’ भन्नुभयो ।

सरकार नै मलाई फसाउन लागेको छ । म र मेरो परिवारको बदनाम गराउन लागिएको छ । मलाई फौजदारी अपराधजस्तो गरेर हिरासतमा राखियो । ३ दिनको म्याद थपियो । मैले अस्ति धेरैपटक न्यायाधीशलाई प्रश्न गरेँ, तर जवाफ आएन ।

न्यायाधीश : न्यायाधीशले तपाईंको प्रश्नको जवाफ दिने होइन । लेखेर (निर्णय) दिने हो, फैसला गर्ने हो ।

रुप ज्योती : हो श्रीमान् । तर यहाँ आर्थिक कुरा छ । मैले अदालतमा पैसा जम्मा गरेको छु । अदालतले ‘तेरो पैसा किन लिने, कोर्ट फी पनि तिर’ भनेपछि त्यसको १ प्रतिशतले हुन आउने रकम मैले अदालतलाई तिरेको छु । प्रमाणहरु छन् ।

न्यायाधीश : न्यायाधीशले यहाँ प्रमाण हेरेर फैसला गर्ने होइन । अनुसन्धान अधिकृतलाई बुझाउनु होला । निवेदन दिएर हुन्छ कि के गरेर ।

प्रहरीले आइतबार रुप ज्योतीका बारेमा अनुसन्धान गर्न (कल डिटेल हेर्ने, सञ्चालक भए/नभएको हेर्नेलगायतका लागि ) थप ७ दिनको म्याद थपको माग गरेको थियो ।

ज्योतीका कानून व्यवसायीले हिरासतमा राख्नुपर्ने कारण नभएको भन्दै साधारण तारेखमा रिहा गर्न माग गरे । तर न्यायाधीशले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

ट्रेन्डिङ

Advertisment