Comments Add Comment

कर्णाली नदीको गहिराइ नाप्ने टोली चढेको डुंगा दुर्घटना

२९ कात्तिक, काठमाडौं । अछामको ढकारी गाउँपालिकास्थित बेतान कर्णाली हाइड्रोपावरका लागि नदीको गहिराइ नाप्न गएको टोली दुर्घटनामा परेको छ । कर्णाली नदीको गहिराइ नाप्ने क्रममा डुंगा दुर्घटना भएको हो ।

दुर्घटनामा मानवीय क्षति भएको छैन । तर, डुंगा र मोटरमा क्षति भएको अध्ययन गरिरहेको इनोभेटिभ इन्जिनियरिङ सर्भिस प्रा.लि.का म्यानेजिङ डाइरेक्टर अनुप खनालले जानकारी दिए ।

‘साथीहरु सबै सम्पर्कमा आइसक्नु भएको छ,’ खनालले भने ‘मोटरमा भने करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।’

नदी ठाडो र पानीको बेग तीव्र भएकाले दुर्घटना भएको उनको भनाइ छ । ‘नेपालका यस्ता नदी र खोलामा काम गर्न अत्यन्तै जोखिम हुन्छ,’ खनालले भने, ‘आयोजनाका सम्पूर्ण पक्षले सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर यस्ता कार्यहरु अगाडि बढाउनुपर्छ ।’

भेरी-बबई बहुउद्देश्यीय आयोजनामा ‘इकोसाउन्डर’ मेसिन प्रयोग गर्दै प्राविधिक

डुंगा दुर्घटना भएपछि बेतान कर्णाली हाइड्रोपावर आयोजनाका लागि पानीको गहिराइ नाप्ने काम अहिले स्थगित गरिएको छ ।

परामर्शदातृ संस्था इनोभेटिभ इन्जिनियरिङ सर्भिस प्रा.लि.ले नेपालमै पहिलो पटक पानीको गहिराइ नाप्ने उच्चस्तरीय प्रविधि ‘इकोसाउन्डर’ मेसिन भित्राएको थियो । त्यसको सफल प्रयोग पहिलोपटक भेरी-बबई बहुउद्देश्यीय आयोजनामा गरिएको थियो ।

खनालको अनुसार यो मेसिनले डी.जी.पी.एस. प्रविधिमा काम गर्ने भएकाले यसले गर्ने नाप जाँच विश्वासिलो हुनेछ । यो मेसिनलाई डुंगा वा र्‍याफ्टिङ बोटमा जडान गरी सजिलैसँग नदी तथा तालहरुको गहिराइ नाप्न सकिन्छ ।

‘केबल वे’ प्रविधि

नेपाली युवा इन्जिनियर खनालसहितको टोलीले नदी वा खोलाको एक किनारामा बसेर अर्को किनारासम्मको पानी नाप्न मिल्ने अन्तर्राष्ट्रियस्तरको ‘केबल वे’ प्रविधि पनि निर्माण गरेको छ ।

‘केबल वे’को नयाँ प्रविधिलाई नमूनाको रुपमा ३३५ मेगावाटको माथिल्लो अरुण र ३० मेगावाटको इखुवा खोला हाड्रोपावर प्रोजेक्टमा प्रयोग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment