News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी कर्णाली प्रदेशका सल्यानका एक पुरुषको मृत्यु भएको छ ।
- बाढीपछि कर्णालीका २७० जना सम्पर्कविहीन भएकामध्ये ७५ जना सम्पर्कमा आएका छन् र १९४ जनाको अवस्था अझै अज्ञात छ ।
- अझै सम्पर्कविहीन १९४ जनामध्ये जुम्लाका ८१, सल्यानका ५४, सुर्खेतका १६ र मुगुका ११ जना रहेका छन् ।
१६ भदौ, सुर्खेत । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी कर्णाली प्रदेशका एक जनाको मृत्यु भएको छ । बाढीमा परी सम्पर्कविहीन बनेका कर्णालीका १९४ जनाको अवस्था भने अझै अज्ञात रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार, बाढीमा परी सल्यानका एक पुरुषको मृत्यु भएको हो । मंगलबार दिउँसो १२ बजेसम्मको विवरणअनुसार बाढीपछि कर्णालीका २७० जना सम्पर्कविहीन भएका थिए । तीमध्ये ७५ जना हालसम्म सम्पर्कमा आएका छन् ।
अझै सम्पर्कविहीन रहेका १९४ जनामध्ये सबैभन्दा धेरै जुम्लाका ८१ जना पुरुष छन् । सल्यानका ५४ जना, सुर्खेतका १६ जना, मुगुका ११ जना सम्पर्कविहीन छन् ।
यस्तै, रुकुम पश्चिमका ९, हुम्लाका ७, कालिकोटका ६, दैलेखका ५, जाजरकोटका ३ र डोल्पाका २ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सम्पर्कविहीन रहेका १९४ जनामा १५९ पुरुष, २८ महिला र ७ जना बालबालिका छन् । जिल्लागत विवरणअनुसार सल्यानका ४० पुरुष, ११ महिला र ३ बालबालिका तथा सुर्खेतका १५ पुरुष र १ महिला सम्पर्कविहीन छन् ।
मुगुका ६ पुरुष, ४ महिला र १ बालक तथा अन्य जिल्लाबाट समेत नागरिक सम्पर्कविहीन रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बाढीमा सम्पर्कविहीन भएकामध्ये ७५ जना सम्पर्कमा आए पनि अझै ठूलो संख्यामा नागरिकको अवस्था अज्ञात रहेकाले खोज तथा उद्धारको कामलाई तीव्रता दिनुपर्ने अवस्था छ ।
प्रतिक्रिया 4