Comments Add Comment

रुपाकोटमा बंगलादेशका राष्ट्रपतिको प्रश्नः त्यो डाँडामा खानेपानी सुविधा छ ?

हिमाल र तालले मोहित राष्ट्रपति अब्दुल हमिद

२८ कात्तिक, पोखरा । आँखैअगाडि सेताम्मे हिमाल । दक्षिणतर्फ शान्त रुपा र बेगनास । हरियाली डाँडापाखा र सुन्दर प्रकृति । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद ग्रिन टीको चुस्की लगाउँछन् र भन्छन्, ‘बहुत सुन्दर ।’

सबैभन्दा अग्लो भनेकै १२ सय ३० मिटर उचाइको पहाड भएको देशका राष्ट्रपति हुन्, अब्दुल । १३ सय ५० मिटर अग्लो कास्की रुपाकोटको डाँडामा बसेर ग्रिन टीको चुस्की लाउँदै नियाल्छन् ८ हजार मिटरभन्दा अग्लो हिमाल र पुलकित हुन्छन् । र, अब्दुल हिमाल, ताल र प्रकतिसँग मोहित हुँदै नेपालीलाई भाग्यमानीको संज्ञा दिन्छन् ।

बिहान साढे ११ बजे पोखरा भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति हमिदले फेवातालमा सयर गरे ।

अझ प्रकृति र हिमालको स्वाद लिन रुपाकोट पुगे । जब रुपाकोट रिसोर्ट पुगेर जब उनका आँखा खुलेका हिमालका चुचुरोमा पुगे तब दृश्य देखेर चकित परे ।

५ घण्टा पोखरा र रुपाकोटमा बिताएका राष्ट्रपति अब्दुलले ताल र हिमालबारे चाख मानिमानि जिज्ञासा राखे । बर्सेनी समुन्द्री आँधीको सामना गर्नुपर्ने देशका राष्ट्रपति अब्दुल डाँडाकाँडा देखेपछि अचम्मित भए । अग्ला डाँडाकाँडा र त्यहाँको बस्ती देखेपछि राष्ट्रपति अब्दुलले सँगै रहेका संघीय भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई सोध्छन्, ‘त्यो डाँडाका मान्छेहरुले खानेपानी कहाँबाट पाउँछन् ?’

अधिकांश भूमि समुद्री सतहभन्दा कम उचाइ भएको देश हो बंगलादेश । त्यही देशका राष्ट्रपति पोखरा आएर अग्ला हिमाल हेरेर रमाए । ८ हजार मिटरभन्दा अग्लो अन्नपूर्ण, धौलागिरी, मनासलु । झण्डै ७ हजार मिटर अग्लो माछापुच्छ्रे लगायतका सेताम्मे हिमशृंखला देख्दा राष्ट्रपति अब्दुलको अनुहार पनि उज्यालियो ।

बंगलादेशका राष्ट्रपति अब्दुल बिहीबार पोखरा बसाईंभर भरपूर प्रकृतिको मजा लिएर काठमाडौं उडेका छन् ।

समुन्द्रको देशबाट आएका राष्ट्रपतिले फेवामा नौकाबिहार गरे भने रुपाकोट पुगेर प्रकृतिलाई सहसुस गरे, हिमाललाई पृष्ठभूमिमा राखेर तस्बिर कैद गरे ।

पोखरा र रुपाकोट ओर्लने-उड्ने बेला नेपाली मौलिक, सांस्कृतिक झाँकी र परम्परालाई नियाले । २६ गते मंगलबार परिवारसहित नेपाल भ्रमणमा आएका अब्दुल बिहीबार पोखरा भ्रमणमा आएर फेवादेखि रुपाकोटसम्मको भ्रमण गरे ।

नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा ओर्लिएका राष्ट्रपति अब्दुललाई गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, सरकारका प्रवक्ता रामशरण बस्नेत लगायतले स्वागत गरे ।

सांस्कृतिक झाँकी, पन्चकन्याद्वारा पुष्पगुच्छा र पञ्चेबाजासहित राष्ट्रपति अब्दुललाई स्वागत गरिएको थियो । गण्डकी प्रदेश सरकारले रानीवन र फेवाको काखमा रहेको फिस्टेल लजमा दिवा भोजको व्यवस्था गरेको थियो । फेवामा सयर गर्नका निम्ति मोटरबोट तम्तयार अवस्थामा राखिएको थियो ।

पोखरा विमानस्थलबाट अब्दुल फिस्टेल लज जानुअघि सिधै मोटरबोटबाट फेवातालमा जलबिहार गरे । फेवातालमा सयर गरेपछि उनी फिस्टेल लजमा दिवा भोजमा सरिक भए ।

फिस्टेल जलमा कार्यवाहक मुख्यमन्त्री किरण गुरुङसँग केहीबेर गफिएका राष्ट्रपति अब्दुलले प्रादेशिक संरचनादेखि ताल, हिमाल र प्रकतिबारे जिज्ञासा राखे । ‘उहाँ पहिलो पटक पोखरा भ्रमणमा आउनुभएको हो । पोखराको सुन्दरताले प्रभावित गराएको उहाँले बताउनु भयो । जिल्ला, प्रदेश र नेपालको नयाँ प्रादेशिक संरचनाबारे निज्ञासा राख्नुभयो,’ मन्त्री किरणले भने, ‘नेपालमा धेरै संभावना रहेको उहाँको भनाइ थियो ।’

राष्ट्रपतिसँग गैर राजनीतिक कुराकानी भएको अर्थमन्त्रीसमेत रहेका गुरुङले जानकारी दिए । फिस्टेल लजबाट नेपाली सेनाको हेलिकप्टरबाटै राष्ट्रपति अब्दुल रुपाकोट रिसोर्ट पुगेका थिए ।

रुपाकोट रिसोर्टमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, सरकारका सचिव, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा लगायतले स्वागत गरे ।

राष्ट्रपति अब्दुलको स्वागतमा घाटु, सोरठी, पञ्चेबाजा र मुस्लिम समुदायको संस्कृतिबाट स्वागत गरिएको थियो । रुपाकोटमा राष्ट्रपति अब्दुलले झण्डै डेढ घन्टा बिताए ।

राष्ट्रपतिले ग्रिन टीको स्वाद लिँदै रिसोर्टबाट लामै समय हिमशृंखलाको मजा लिए । उनले हिमाल, ताल, डाँडापाखाबारे जिज्ञासा राखेको र अन्त्यन्त मोहित भएको प्रतिक्रिया दिएको आन्तरिक मामिला तथा कानुनमन्त्री चुमानले जानकारी दिए । श्रीमतीसँगै रिसोर्ट पुगेका उनले संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री महासेठ, प्रतिनिधि सभा सदस्य खगराज अधिकारी र प्रदेशका मन्त्रीहरुसँग कुराकानी गरेका थिए ।

रिसोर्टमा राष्ट्रपति अब्दुलले हिमाल, ताल र प्रकतिको स्वाद दिएर आफूलेमात्रै तस्बिर कैद गरेनन्, मन्त्री, गाउँपालिकाका पदाधिकारी र सुरक्षा प्रतिनिधिसँग सामूहिक तस्वीर पनि खिचाए ।

रुपा गाउँपालिकाले परम्परागत ठेकी उपहार दियो । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले स्थानीयरुपमा सयौं वर्ष अगाडिदेखि बनाइँदै आएको मौलिक कोसेली हस्तान्तरण गरे ।

राष्ट्रपतिसँगै मन्त्री महासेठलाई पञ्चेबाजा, मौलिक सांस्कृतिक नाच र झाँकीसहित बिदाइ गर्‍यो । गाउँपालिका अध्यक्ष ओझाले बंगलादेशका राष्ट्रपति अब्दुलको भ्रमण ऐतिहासिक र धेरै कुरामा उपलब्धीपूर्ण हुने प्रतिक्रिया दिए ।

राष्ट्रपति अब्दुलको भ्रमण सफल र उपलब्धीपूर्ण रहेको सरकारका प्रवक्ता रामशरणले बताए । ‘पोखरा भ्रमणबाट उहाँ अत्यन्त खुसी हुनुभएको छ । उहाँको भ्रमणले गण्डकी प्रदेश सरकारको आन्तरिक भ्रमण वर्ष र नेपालको भ्रमण वर्ष २०२० लाई ठूलो सहयोग पुग्ने छ,’ मन्त्री बस्नेतले भने, ‘उहाँको भ्रमणसँग गण्डकी प्रदेशमा लगानीसमेत आकर्षित हुने विश्वास छ ।’

तस्वीर सौजन्यः दुर्गा पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment