Comments Add Comment

गणेशमान सिंहको १०५ औं जन्म जयन्ती मनाइँदै

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता एवम् लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

काठमाडौंको शोभा भगवतीमा रहेको सिंहको शालिकमा बिहान माल्यार्पण गरिएको छ । माल्यार्पण कार्यक्रममा कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँ, पूर्वमन्त्री  राजन केसी लगायत सहभागी थिए ।

गणेशमान सिंहसँग सम्बन्धित कार्यक्रममा सधैं सहभागी हुने गरेका उनका छोरा एवम् काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंह भने आजको कार्यक्रममा देखिएनन् । प्रकाशमान अमेरिकामा रहेकाले कार्यक्रममा सहभागी हुन नपाएको उनको सचिवालयले जनाएको छ ।
गणेशमान सिंह १ सय ५ औँ जन्म जयन्तीको अवसरमा दिउँसो १ बजे ज्ञानेश्वरमा स्मृति सभा गर्ने र साँझ ५ बजे नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला समितिले रत्नपार्क शान्तिवाटिकामा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ ।

राणा शासनको अन्त्य र प्रजातन्त्र बहालीका लागि सिंहको योगदानलाई अतुलनीय मानिन्छ । सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक बीपी कोइरालासँग मिलेर नेपाली कांग्रेस स्थापनासमेत गरेका थिए । उनी नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment