Comments Add Comment

छापामा आज : नेपालमा नभएका मुजाहिद्दीनबारे अमेरिकी प्रोपोगन्डा

कालापानी क्षेत्रमा नेपालको सुरक्षा उपस्थिति शून्य

२४ कात्तिक, काठमाडौं । भारतले नेपाली भूमिमाथि गरेको अतिक्रमण र यसबारे शनिबार भएको सर्वपक्षीय छलफल आजका दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले सल्लाहकार र सचिवालयका सहयोगीलाई पदबाट हट्न दिएको निर्देशनलाई पनि अखबारहरूले विभिन्न शीर्षकमा उतारेका छन् ।

कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्र अतिक्रमणबारे कभर स्टोरी बनाएको नेपाल साप्ताहिकले अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको आतंकवादसम्बन्धी प्रतिवेदनबारे पनि एक सामग्री छापेको छ । नेपाल साप्ताहिकका अनुसार, नेपालमा नभएका मुजाहिद्दीनबारे अमेरिकाले प्रोपोगन्डा मच्चाएको छ ।

नेपालले आफ्नो रिपोर्टमा लेखेको छ– नेपाल प्रहरीको आतंकवादविरुद्ध काम गर्ने विशेष व्युरोले अमेरिकी प्रतिवेदनमा उल्लिखित अंशलाई विश्लेषण गरिरहेको छ । व्युरोका एक उच्च अधिकारीका अनुसार अमेरिकाले दाबी गरेजस्तो नेपाली भूमि आतंकवादी संगठनका लागि हब हुँदै होइन । बरू दुई वर्षअघिसम्म नेपाल–भारत सीमावर्ती क्षेत्रमा मुजाहिद्दीनका केही गतिविधि देखिने गरेको थियो । भारतले. अपराध गरेर उनीहरू नेपालमा आउने गरेका थिए । तर अहिले भारतमै तिनको गतिविधि शून्य भएकाले अमेरिकाले दाबी गरेजस्तो नेपालमा प्रभाव नरहेको प्रहरी अधिकारीहरूको मत छ ।

अमेरिकाले गलत रिपोर्ट दिनुको गुह्य पनि नेपालले खोतल्ने प्रयास गरेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लको विश्लेषणमा नेपालका सुरक्षा अंग आतंककारी गतिविधि रोक्न असफल भएको देखाएर अमेरिकीहरू नेपाल आउन खोजेका हुन सक्छन् ।

कान्तिपुरले ‘पश्चिमोत्तर सीमा सुरक्षा शून्य’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । समाचार अनुसार नेपाली भूभाग मिचिरहेको भारतले कालापानी क्षेत्रमा आफ्ना सुरक्षाकर्मी थपिरहे पनि नेपालतर्फको सुरक्षा उपस्थिति भने १९ किलोमिटर वरसम्म शून्य छ ।

व्यास गाउँपालिका–१, छाङरु गाउँबाट दक्षिणपूर्व तिंकर खोलानजिकको सीतापुल प्रहरीचौकी नै नेपालको पश्चिमी सीमातर्फको अन्तिम सुरक्षा उपस्थिति हो । जीर्ण अवस्थाको यो चौकीमा सहायक प्रहरी निरीक्षक नेतृत्वमा १३ जनाको टोली छ । सीमा क्षेत्रको एकमात्र चौकी भएकाले स्थानीय नागरिकलाई सुरक्षा दिने दायित्व पनि यही टोलीमाथि रहेको समाचारमा उल्लेख छ ।

काम चित्तबुझ्दो नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय हेरफेर गर्न लागेकोलाई पनि कान्तिपुरले निकै प्राथमिकतापूर्वक छापेको छ । कान्तिपुरका अनुसार मन्त्रिपरिषद् पनि हेरफेर हुनसक्ने सम्भावना छ ।

नागरिकले बढ्दो सवारी दुर्घटनाबारे रिपोर्ट बनाएको छ । रिपोर्टअनुसार चालु आर्थिक वर्षको साढे तीन महिनामा चार हजार ६ सय ५७ सडक दुर्घटना भएका छन् । जसमा पाँच सय ३८ जनाले ज्यान गुमाएका छन् । यस आधारमा दैनिक पाँच जनाले सवारी दुर्घटनामा ज्यान गुमाइरहेको देखिन्छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment