+
+
Shares

पैंचो पसलका ध्रुव : गाउँका उत्पादन शहरलाई खुवाउने अभियन्ता

‘६० हजार किसान लाभान्वित, चारसय जनालाई रोजगारी’

टोपराज शर्मा टोपराज शर्मा
२०७६ कात्तिक २४ गते १४:१०

२४ कात्तिक, बुटवल । गुल्मी हुँगाको सामान्य परिवारमा जन्मे–हुर्केका ध्रुव न्यौपाने सात वर्षअघिसम्म हस्पिटालिटी क्षेत्रमा सफल व्यवसायी र कुशल व्यवस्थापक मानिन्थे ।

२०५५ सालमा कैलालीको टीकापुरमा एउटा सानो झुपडीमा होटेल व्यवसाय शुरु गरेका उनले २०७० सम्म आइपुग्दा होटेल, रिसोर्ट र रेष्टुरेन्ट गरी १३ वटा कम्पनी आवद्ध सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीको प्रमुख कार्यकारी अधिकृत र प्रवन्ध निर्देशक बने ।

एक अर्ब रुपैयाँभन्दा बढी पुँजी पुगेको व्यवसाय क्रमशः देशभर विस्तार हुँदै थियो, नाम र दाम पनि राम्रो कमाउँदै थिए । तर उनको व्यवसायिक यात्रामा एक्कासि नयाँ मोड आइपुग्यो । उनले सिद्धार्थ ग्रुपबाट विदा लिए ।

अनि जन्मियो पैंचो पसल

आफ्नो हिस्साको तीन करोड ३५ लाख रुपैयाँ लिएर सिद्धार्थबाट विदा लिएका ध्रुवले पैंचो पसल प्रा.लि. स्थापना गर्ने निधो गरे । त्यसैले अहिले ध्रुवको परिचय फेरिएको छ ।

कृषिप्रधान मुलुकमा कृषिमा सांच्चिकै क्रान्ति ल्याउनुपर्छ भन्ने सोंचले १६ जना मिलेर दुई करोड ५० लाख चुक्ता पुँजीसहित २०७० मा पैंचो पसल प्रालि सञ्चालनमा ल्याएको ध्रुव बताउँछन् ।

खासमा पैंचो पसल प्रालि पसल मात्र होइन, बरु पहाडी जिल्लामा उत्पादन हुने हरेक कृषि उपज किसानलाई नाफा हुने मूल्यमा खरिद गरेर आफूले बिक्री गर्ने अनि किसानलाई नगद वा आवश्यक दैनिक उपभोग्य वस्तु दिने अवधारणाको व्यवसाय हो ।

पैंचोले गाउँमा किनेर शहरमा बेच्ने अनि उद्योगबाट सामान सिधै खरिद गरेर किसानलाई दिने प्रणाली विकास गरेको छ । नेपालमै नौलो अवधारणा मानिएको यो व्यवसायले ६ वर्ष नपुग्दै लोभलाग्दो फड्को मारेको छ । पैंचोले गुल्मी, अर्घाखाँची, पाल्पा, रुकुम, रोल्पा, जुम्लासम्मका करिब ६० हजार किसानका तरकारी, फलफूल र अन्य कृषि उपज ५० वटा संकलन केन्द्रमार्फत खरिद गर्ने प्रबन्ध निर्देशक न्यौपानेले बताए ।

‘आठ जिल्लाका १२ हजार घरधुरीका २० हजार किसानसँग खरिद सम्झौता नै गरेका छौंं,’ न्यौपानेले भने, ‘गत वर्ष वार्षिक पाँच करोड रुपैयाँ बराबरको उत्पादन खरिद गर्‍यौं, यसबाट ६० हजार किसान लाभान्वित भएका छन् ।’ किसानको सहमतिमा खरिद मूल्य पहिल्यै तय गरिने हुनाले बजार मूल्य घटबढ भएपनि किसान कसैगरी घाटामा नपर्ने न्यौपाने बताउँछन् ।

पैंचो पसल स्थापनापछि निर्वाहमुखी कृषि पेशा गरेका किसानहरु व्यवसायिक बनेका छन् । पैंचोले गत वर्ष किसानबाट तीन हजार मेट्रिक टन कृषि उपज खरिद गरेको न्यौपानेले बताए । ‘२५ जना किसान त मासिक ५० हजारसम्म कमाउने भएका छन्,’ न्यौपानेले भने, ‘हामीले कृषिमा साँच्चिकै क्रान्ति गरेका छौं, हिजो बारीमै कुहिएर जाने र कसैले नखाने कृषि उपज अहिले खेर जाने अवस्था छैन ।’

वार्षिक १२ हजार मेट्रिक टनसम्मको तरकारी र फलफूल खरिद गर्न पैंचो सक्षम भइसकेको न्यौपानेले बताए । पैंचोले बजारको सुनिश्चित गरिदिएपछि किसानहरुमा व्यावसायिक खेती गर्ने उत्साह थपिएको छ । गाउँमा बाँझै बस्ने जमिनमा तरकारी फल्न थालेको छ ।

किसानले उत्पादन गरेका उत्पादन पैंचोले तीनवटा ट्रकमार्फत दैनिकरुपमा पहाडबाट बुटवलमा ल्याएर केही उत्पादन सिधै र केही उत्पादनलाई प्रशोधन गरी बिक्री वितरण गर्दै आएको छ । ५ हजारभन्दा कम मूल्यको कृषि उपजको भुक्तानी किसानले तत्कालै पाउँछन् । किसानले रकमको साटो उपभोग्य सामान चाहिएमा पैंचो पसलबाट लैजान पाउँछन् । ५ हजारभन्दा बढी मूल्यको भुक्तानी भने एक महिनापछि दिने गरिएको छ । व्यवसायिक किसानले भने नगदै भुक्तानी पाउँछन् ।

चार पाथी जौं फल्ने बारीमा काँक्रो खेती गर्दा किसानले चार लाख रुपैयाँ कमाउन थालेका र स्नातक पढेका युवाहरु खुर्सानी लगायत नगदे बालीमा आकर्षित भएको ध्रुवले उदाहरण दिए । ध्रुवकै गाउँ हुँगाका ९० प्रतिशत किसान व्यावसायिक कृषि पेशामा छन् ।

पैंचो पसल ६ वटै प्रदेशमा, वार्षिक ३० करोड कारोबार

तरकारी तथा फलफूल थोक र फुटकर बिक्रीका लागि बुटवलमा वातानुकूलित तरकारी मार्ट र अन्य प्रशोधित उत्पादन बिक्रीका लागि डिपार्टमेन्टल स्टोर सञ्चालनमा छ । बुटवल वाहेक बलेटक्सार, तम्घास, दिगाम, रिडी, अर्गली, तानसेन लगायत आठ स्थानमा पैंचोका आफ्नै र अन्य १८ स्थानमा स्थानीय व्यवसायीसँगको साझेदारीमा २६ वटा पैंचो पसल सञ्चालनमा छन् । ती पसलबाट किसानलाई आवश्यक पर्ने उपभोग्य सामान बिक्री गरिन्छ ।

पैंचोले गुल्मीको रिडीमा खाद्यान्न र अचार उत्पादनका लागि प्रशोधन उद्योग पनि सञ्चालन गरेको छ । अहिले प्रशोधन उद्योगबाट गोलभेंडाको केचप, सुन्तलाको जाम, विभिन्न थरिका अचार, सिन्की, मस्यौरा, मकैको आटो, कोदो, फापरको पिठो, गेडागुडीका दाल लगायत ३२ थरीका ६४ प्रकारका उत्पादन गर्दै आएको छ । पैंचोका उत्पादन देशभरका पाँच डिलर र २५ हजार पसलहरुमा उपलब्ध छन् । पैंचो पसलका उत्पादन प्रदेश नम्बर १ बाहेक ६ वटै प्रदेशका मुख्य शहरमा पुगेका छन् ।

शहरमा बसोबास गर्नेलाई पहाडी र उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कषि उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले स्थापित पैँचो पसल प्रालिले ‘बसेपनि शहर, गाउँकै खाने रहर’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गरेको छ ।

उपयुक्त बजारको अभावमा खेर गैरहेका गाउँका उत्पादनहरूलाई बजारको पहुँचसम्म पु‍र्‍याउने मुख्य उद्देश्यका साथ खोलिएको पैंचो पसलले गुल्मीको रिडीमा पैचो प्रशोधन उद्योग स्थापना गरेर स्थानीय कृषि उत्पादनको प्रशोधन सुरु गरेको थियो ।

पैंचो पसलले अहिले चार सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । वार्षिक ३० करोड रुपैयाँको कारोबार गर्छ । पैंचो पसल स्थापनाको दोस्रो वर्षमै कृषि क्षेत्रमा नौलो र उत्कृष्ट काम थालेको भन्दै ध्रुवले सरकारबाट एकलाख नगदसहित राष्ट्रिय युवा प्रतिभा पुरस्कार पाए । पैंचो पसल २०७१ भदौमा दर्ता भएको थियो, तर २०७३ भदौमै ध्रुव राष्ट्रपति युवा पुरस्कारबाट सम्मानित भए ।


व्यवसाय विस्तार हुँदै जाँदा अहिले ४० जना साझेदार र लगानी २३ करोड पुगेको ध्रुवले बताए ।

यो वर्ष २० स्थानमा संकलन केन्द्र थप्ने, कोदो, फापर र कागती खेती विस्तार गर्ने योजना रहेको न्यौपानेले बताए । अबको चार वर्षभित्र स्थापनाको दश वर्षमा कारोबार, सरकारलाई तिर्ने कर, किसानको आवद्धता र किसानको खुशीका हिसाबले नेपालको उत्कृष्ट र नम्बर एक कम्पनी बनाउने लक्ष्यसहित काम गरिरहेको उनले खुलाए ।

पैंचोले गरेको नमूना कामलाई प्रोत्साहन गर्न सरकारले तरकारी बजारको चिस्यान केन्द्रका लागि १५ लाख र सिन्की तथा मस्यौरा प्रशोधनका लागि १२ लाख रुपैयाँ अनुदान दिएको छ ।

सरकारमा अझै नीतिगत अस्पष्टता

कृषि क्याम्पसका विद्यार्थीसँग इलामदेखि बैतडीसम्मका पहाडी जिल्लामा किसानका घरमा बास बस्दै स्थलगत अध्ययन गरेका ध्रुवले १० प्रतिशत किसानको कृषि उत्पादनले परिवारलाई बाह्रै महिना खान मात्र पुग्ने र ५५ प्रतिशतलाई आफ्नो उत्पादनले ३ महिना मात्र खान पुग्ने तथ्य भेटिएको बताउँछन् । दशकौंदेखि कृषि प्रधान मुलुक भन्दै आएपनि नागरिकले कृषिलाई कसरी लाभ लिन सक्छन् र मूल पेशा बनाउन सकिन्छ भन्नेबारे स्पष्ट नीतिगत सुधार गर्न नसकेको न्यौपानेको ठम्याइ छ ।

निर्वाहमुखी खेती प्रणाली र बिचौलियाको हावीले किसान र उपभोक्ता मारमा परेकाले सरकारले पैंचो पसलले अवलम्बन गरेको बजार प्रणालीलाई प्रोत्साहन गर्नुपर्ने न्यौपानेको सुझाव छ । किसानलाई मल, बिउको सहज उपलब्धता, प्राविधिक सहयोग, बिनाधितो बैंकबाट कर्जा, बिचौलियाको अन्त्य र उत्पादनका आधारमा अनुदान दिने नीति बनाउन सके मात्रै कृषिको व्यवसायीकरण हुने न्यौपाने बताउँछन् । ‘सरकारी तहबाट किसान र स्वदेशी उद्योगलाई प्रोत्साहनको काम भएन,’ न्यौपानेले भने, ‘भारतबाट गुणस्तरहीन कृषि उपज भित्रिँदा पनि सरकारले रोक लगाउन सकेको, आयात प्रतिस्थापन गर्न स्वदेशमै बढी उत्पादन हुने वस्तु आयातमा कडाइ गर्नुपर्छ ।’

पैंचो पसलले व्यावसायिक कृषिमा एक खालको क्रान्ति नै ल्याएको प्रदेश सरकारकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल बताउँछिन् । ‘मन्त्रालयले प्रदेश योजना आयोगसँग मिलेर पैंचोको बजार प्रणाली अध्ययन गर्दैछ,’ उनले भनिन्, ‘यसलाई प्रदेशभरि लागू गर्न सकियो भने कृषिमा आत्मनिर्भर हुन सकिन्छ भन्ने हाम्रो बुझाइ छ ।’

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?