Comments Add Comment

चारवटा पुल बन्ने पैसा विदेशी चुइङ्गम चपाएर स्वाहा !

२३ कात्तिक, काठमाडौं । नुन, चिनी र तेल भनेजस्तो अति आवश्यक खाद्य वस्तु होइन चुइङ्गम । तर, यसको आयातमा बर्सेनि करोडौं रकम विदेशिने गरेको छ ।

एक वर्षमा चुइङ्गमका लागि नेपालबाट विदेशिएको पैसाले २ सय मिटर लामा झण्डै ५ वटा पक्की पुल बन्छन् । जस्तो कि, डिभिजन सडक कार्यालय चितवनले त्रिशूली नदीमाथि बन्दै गरेको १९२ मिटर लामो पक्की पुलको ठेक्का १५ करोड ११ लाखमा लगाएको छ । अर्थात् त्यो पुल १५ करोड ११ लाखमा निर्माण हुन सक्छ । यता, गत आर्थिक वर्षमा नेपालीहरुले ७१ करोड रुपैयाँभन्दा धेरैको चुइङ्गम चपाएका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष नेपालले २१ लाख ४७ हजार ९१७ किलो चुइङ्गम आयात गरेको थियो । उक्त आयातका लागि ७१ करोड ८६ लाख ९४ हजार रुपैयाँ बाहिरिएको विभागले जनाएको छ ।

१२ करोडको चुइङ्गम आयातबाट राज्यले भने ९ करोड २६ लाख राजश्व आर्जन गरेको छ

उक्त परिमाणको चुइङ्गम आयात हुँदा सरकारले भने ४३ करोड ९० लाख २० रुपैयाँ राजश्व आर्जन गरेको थियो ।

सरकारले आयात न्यूनीकरणका लागि काम गरिरहेको बताएको छ । तर आफ्नो देशमा उत्पादन नहुने र अति आवश्यक पनि नरहेको चुइङ्गम जस्तो वस्तुको आयातलाई निरुत्साहन गर्न सकेको छैन । यो आर्थिक वर्ष पनि चुइङ्गम आयात उस्तै छ । चालु आर्थिक वर्षको तीन महिनामा नेपालले ४ लाख २७ हजार ३६० किलो चुइङ्गम किनिसकेको छ ।

चुइङ्गम किन्नमा मात्रै तीन महिनामा १२ करोड ७६ लाख ८४ हजार रुपैयाँँ मुलुकबाट बाहिरिएको तथ्यांकबाट देखिन्छ । १२ करोडको चुइङ्गम आयातबाट राज्यले भने ९ करोड २६ लाख राजश्व आर्जन गरेको छ ।

अघिल्ला वर्षको ट्रेन्ड

भन्सार विभागको विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ मा २ लाख ४९ हजार ३०८ किलो चुइङ्गम आयात भएको थियो । उक्त आयातका लागि ७ करोड ८६ लाख ४६ हजार रुपैयाँ नेपालबाट बाहिरिएको थियो । यस्तै आर्थिक वर्ष २०७३/७४ मा  ३६ करोड ८० लाख ५९ हजारको १२ लाख २९ हजार ४८३ किलो चुइङ्गम आयात भएको थियो ।

यस्तै आर्थिक वर्ष ०७२/७३ मा १५ लाख ८४ हजार ७ सय ८७ किलो चुइङ्गम नेपालमा आयात भएको थियो । यसका लागि झण्डै ३५ करोड रुपैयाँ बाहिरिएको थियो । यस्तै आर्थिक वर्ष २०७१/०७२ मा  १५ लाख १४ हजार ४५३ किलो चुइङ्गम नेपालमा आयात भएको थियो । यसका लागि ४१ करोड ९१ लाख २६ हजार रुपैयाँ मुलुकबाट बाहिरिएको थियो ।

अमेरिकादेखि ब्राजिलसम्मका चुइङ्गम नेपालमा

नेपालमा अमेरिकादेखि ब्राजिलसम्मका चुइङ्गम भित्रिने गरेको भन्सार विभागले जनाएको छ । नेपालमा आउने चुइङ्गमको ठूलो हिस्सा भारतले नै ओगटे पनि  यूरोपको अष्ट्रिया, टर्कीदेखि बहराइन, बंगलादेश, ब्राजिल, चीन, जर्मनी, दक्षिण कोरिया, मलेसिया, थाईल्याण्ड र बेलायतबाट नेपालमा चुइङ्गम भित्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment