Comments Add Comment

वायुसेवा सञ्चालकको गुनासो : यात्रुले टेर्न छाडे

२३ कात्तिक, काठमाडौं । विमानहरुको उडान रद्द र डिले हुने समस्याले आजित बनेका हवाई यात्रुहरु पछिल्लो समय प्रतिक्रियात्मक हुन थालेका छन् । जहाजबाट उत्रिएरै विरोध जनाउने शैली सुरु भएको छ ।

केही समय अगाडि पर्यटन मन्त्री योगेश भट्टराईका कारण विमान उड्न ढिला भएको भन्दै केही यात्रुले हुलहुज्जत नै गरेका थिए । हालैमात्रै प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणबाट आउँदा उडानमा ढिलाइ भएपछि विमानबाट उत्रिएर यात्रुहरुले विरोध जनाए । यसैगरी उडान ढिलाइ गरेको विरोधमा एकजना सांसदले जनकपुर विमानस्थलभित्रै तोडफोड गरे

यस्ता घटना वायुसेवा सञ्चालकको टाउको दुखाइ बनेको छ । यस्तो प्रवृत्तिले हवाई सुरक्षामा समस्या हुने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् । जहाज डिले र उडान रद्द हुनुमा वायुसेवा मात्र जिम्मेवार नहुने भन्दै उनीहरु विमानस्थलमा पर्याप्त पूर्वाधारको विकास र अन्य विकल्प तयार हुनुपर्नेमा जोड दिन्छन् ।

जहाज उडान-अवतरणमा भएको ढिलाइबारे संघले आफ्नो स्पष्टिकरणसमेत सार्वजनिक गरेको छ । संघले भनेको छ, ‘देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा मात्र धावनमार्ग हुनाले आन्तरिक तर्फका वायुयान आकासमै होल्ड गर्नुपर्ने वा ग्राउण्डमा होल्ड गर्नुपर्ने अवस्था छ ।

‘वायु सेवा सञ्चालक संघ (आयोन)का अनुसार अहिले उडान रद्द हुँदा कतिपय यात्रु जहाजबाट झर्नै मान्दैनन् । उचित कारण देखाएर उडान रद्द वा डिले हुँदा पनि यात्रु आक्रामक रुपमा प्रस्तुत हुने, वायुसेवाका कर्मचारीमाथि अभद्र व्यवहार गर्ने र विमानबाट ओर्लनसमेत नमान्ने अवस्था सिर्जना भएको संघले उल्लेख गरेको छ ।

संघका अनुसार अन्तर्राष्ट्रिय उडानको तुलनामा आन्तरिक उडानले प्राथमिकता पाउँदैनन् । अहिले प्रयोगमा रहेको सञ्चार सम्पर्क प्रणालीमा सुधार हुन नसक्दा पनि समस्या भइरहेको छ ।

भैरहवा, नेपालगञ्ज, सिमरा, धनगढी, चन्द्रगढी र विराटनगरबाहेक तराईका अन्य विमानस्थलमा सूर्योदयदेखि सूर्यास्तभित्र उडान गरिसक्नु पर्छ । जसले गर्दा जनकपुर, पोखरा तथा भरतपुर विमानस्थलका उडान समयमै सम्पन्न गर्न कठिनाइ भइरहेको छ । त्यसबेला समयमै उड्न नसकेका जहाजको उडान रद्द हुने गरेको छ । यस परिस्थितिमा वास्तविक कारण बुझाउने क्रममा नै यात्रुबाट वायुसेवा कम्पनीका कर्मचारीले अनावश्यक दुर्व्यवहार बेहोर्नु परेको आयोनको गुनासो छ ।

जाडोको मौसममा तराईमा शीतलहर लाग्ने र भिजिबिलिटी पनि कम हुन्छ । यस्तो अवस्थामा मौसम सफा नभएसम्म कुर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा उडान नै रद्द गर्नुपर्छ । यसो गर्नुका पछाडि हवाई सुरक्षा मुख्य कारण रहेको वायुसेवा कम्पनीहरुले बताएका छन् । वायुसेवा कम्पनीसँगको समन्वयमा उडानमा सहजीकरण गर्नसमेत वायुसेवा सञ्चालक संघले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment