Comments Add Comment

राजपाका सांसद साहद्वारा जनकपुर विमानस्थलमा तोडफोड

२७ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले जहाज उड्न ढिला गरेको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार साहले जनकपुर विमास्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआइपी क्षेत्रमा समेत तोडफोड गरेका हुन् ।

‘सांसद साहले कर्मचारीमाथि अभद्र व्यवहार गर्दै तोडफोड गरेको रिपोर्ट प्राधिकरणमा आएको छ,’ स्रोतले भन्यो, ‘विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा यस्तो व्यवहार देखाउनु गैरकानूनी काम हो ।’

आइतबारदेखिकै हवाई चापका कारण जहाजहरु केही समय ढिला गरि उडिरहेको समेत ती अधिकारीले जानकारी दिए ।

साह सर्लाही क्षेत्र नम्बर–१ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उपचारका लागि काठमाडौं हिँडेका एक वृद्धको स्वास्थ्य अवस्था नाजुक देखिपछि आक्रोशित भएर बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको उनले अनलाइनखबरसँग स्वीकारे ।

‘बिहान ११ः३० बजेको बुद्ध एयरको विमान दिउँसो डेढ बजेसम्म पनि नआउँदा वृद्ध बिरामी थरथर काम्न थालेपछि मन थाम्न सकिनँ र काउन्टरमा रहेको टेबलमा दुई–तिन लात्ती हानेको हुँ,’ उनले भने ।

साहका अनुसार विरामी दिउँसो २ बजेसम्म चिकित्सक कहाँ पुगेर चेकजाँच गराउनुपर्ने थियो । विमानस्थलको विशिष्ट कक्षमा आइतबारदेखिकै जुठो प्लेट र फोहोर ग्लासहरु यत्रतत्र छरिएका कारण त्यहाँ बस्ने वातावरण नै नभएको पनि साहको भनाइ छ । विशिष्ट कक्षको अस्तव्यस्तताबारे पटक–पटक विमानस्थलका प्रमुखलाई टेलिफोन गरेर जानकारी गराउँदा समेत सफासुग्घर गर्न कुनै चासो नदेखएको उनले बताए ।

‘विमानस्थल परिसरमा गाइबस्तु चरिरहेका थिए । गाइवस्तुका कारण दुर्घटनाको जोखिम हुनेबारे विमानस्थलका प्रमुखलाई जानकारी पनि गराएँ, तर कुनै सुनुवाइ भएन,’ सांसद साहले भने, ‘एयरपोर्टको अस्तव्यस्तबारे टेलिफोन गरेर प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराएँ । कसैले वास्ता गरेनन् । त्यही भएर पनि म आक्रोशमा आएको हुँ ।’

बुद्ध एयरको काउण्टर तोडफोड गरेको भन्दै सांसद साहलाई बुद्ध एयरको व्यवस्थापन पक्षले विमान चढाउन अस्वीकार गरेको थियो । तर पछि प्रमुख जिल्ला अधिकारीको पहलमा सांसद साहले काठमाडौँका लागि उड्न पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment