+

बल टेम्परिङ घटनाबारे बोल्दै वार्नरले नेपालबाटै जारी गरे सन्देश

२०८३ कात्तिक  २३ गते १६:३९ २०८३ कात्तिक २३ गते १६:३९

सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट खेलमा बलको अवस्था परिवर्तन गर्न स्यान्डपेपर प्रयोग गरेको घटना सार्वजनिक भएपछि तत्कालीन कप्तान स्टिभ स्मिथ, उपकप्तान वार्नर र ब्यानक्रफ्टमाथि कारबाही भएको थियो। क्रिकेट अस्ट्रेलियाले स्मिथ र वार्नरलाई एक वर्ष तथा ब्यानक्रफ्टलाई नौ महिनाका लागि प्रतिबन्ध लगाएको थियो।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डेभिड वार्नरले उस्मान ख्वाजाले स्यान्डपेपर प्रकरणबारे गरेको दाबी शतप्रतिशत सही भएको भन्दै उनलाई पूर्ण समर्थन गरेका छन्।
  • वार्नरले सन् २०१८ को अनुसन्धान हतारमा र अपूर्ण भएको भन्दै ख्वाजाको अन्तर्वार्ता नलिइएकोमा प्रश्न उठाएका छन्।
  • क्रिकेट अस्ट्रेलियाले ख्वाजाको दाबी अस्वीकार गर्दा पूर्व प्रशिक्षक ड्यारेन लेहम्यान, ट्राभिस हेड र निक म्याडिन्सनले प्रकरण फेरि उठाउन नहुने बताएका छन्।

२३ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका पूर्व ओपनर डेभिड वार्नरले सन् २०१८ को बल टेम्परिङ अर्थात् स्यान्डपेपर प्रकरणबारे उस्मान ख्वाजाले गरेको दाबीको समर्थन गरेका छन्। ख्वाजाले आफ्नो नयाँ पुस्तकमा दक्षिण अफ्रिका भ्रमणका क्रममा बलको अवस्था परिवर्तन गर्ने योजनाबारे अस्ट्रेलियाको टेस्ट टोलीका सबै सदस्य जानकार रहेको उल्लेख गरेका थिए। वार्नरले ख्वाजाको भनाइ शतप्रतिशत सही भएको बताएका छन्।

एनपीएल खेल्न नेपालमै रहेका वार्नरले इन्स्टाग्राममार्फत भिडियो सन्देश जारी गर्दै ख्वाजालाई आफ्नो पूर्ण समर्थन रहेको बताए। उनले आठ वर्षपछि यस विषयमा बोलेको उल्लेख गर्दै ख्वाजाले त्यसबेलाको घटनाबारे सत्य कुरा बाहिर ल्याएको बताएका छन्।

“उजी, म तिमीलाई पूर्ण समर्थन गर्छु। तिमीले जे गरेका छौँ, त्यसका लागि धन्यवाद। तिमीले भनेका कुरा शतप्रतिशत सही छन्। सबैलाई सत्य थाहा छ। मानिसहरू यसबारे जान्न चाहन्थे। तिमीले बाहिर आएर भन्यौ,” वार्नरले भिडियोमा भनेका छन्।

उनले स्यान्डपेपर प्रकरणको अनुसन्धान प्रक्रियामाथि पनि प्रश्न उठाएका छन्। वार्नरका अनुसार तत्कालीन अनुसन्धान प्रक्रिया हतारमा गरिएको र प्रभावकारी नभएको थियो। उनले क्यामरन ब्यानक्रफ्टसँगै रहेका ख्वाजाको अन्तर्वार्तासमेत नलिइएको भन्दै अनुसन्धानको पूर्णतामाथि प्रश्न गरेका छन्।

“यो पुराना घाउ फेरि कोट्याउने विषय होइन। यो जवाफदेहिता र पारदर्शिताको विषय हो। सत्यलाई सही ढंगले बाहिर ल्याउन आवश्यक छ,” वार्नरले भनेका छन्।

ख्वाजाले आफ्नो पुस्तक ‘सब्र’ मा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृंखलामा बल रिभर्स स्विङ गराउन स्यान्डपेपर प्रयोग गर्ने योजना टोलीका सबै सदस्यलाई थाहा भएको दाबी गरेका थिए। उनले ब्याटर, बलर र टोलीका अन्य कर्मचारी सबै यसबारे जानकार रहेको लेखेका छन्।

तर क्रिकेट अस्ट्रेलियाले ख्वाजाको दाबी अस्वीकार गरेको छ। त्यस्तै, अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्स, मिचेल स्टार्क, जोस हेजलवुड र नाथन लियोनले संयुक्त वक्तव्य जारी गर्दै न्युल्यान्ड्समा ठूलो पर्दामा ब्यानक्रफ्टले स्यान्डपेपर प्रयोग गरेको दृश्य देखेपछि मात्रै आफूहरूलाई त्यसबारे थाहा भएको बताएका छन्।

सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट खेलमा बलको अवस्था परिवर्तन गर्न स्यान्डपेपर प्रयोग गरेको घटना सार्वजनिक भएपछि तत्कालीन कप्तान स्टिभ स्मिथ, उपकप्तान वार्नर र ब्यानक्रफ्टमाथि कारबाही भएको थियो। क्रिकेट अस्ट्रेलियाले स्मिथ र वार्नरलाई एक वर्ष तथा ब्यानक्रफ्टलाई नौ महिनाका लागि प्रतिबन्ध लगाएको थियो।

यसैबीच, अस्ट्रेलियाका पूर्व प्रशिक्षक ड्यारेन लेहम्यानले टोलीका सबै सदस्यलाई स्यान्डपेपर प्रयोगबारे जानकारी थियो भन्ने आफूलाई नलागेको बताएका छन्। उनले बल टेम्परिङ क्रिकेटमा लामो समयदेखि हुँदै आएको भए पनि त्यसको तरिका र घटनाबारे कसलाई कति जानकारी थियो भन्ने विषय फरक रहेको बताएका छन्।

अस्ट्रेलियाका ब्याटर ट्राभिस हेडले भने अब यो प्रकरणबाट अघि बढ्नुपर्ने बताएका छन्। उनका अनुसार सन् २०१८ पछि टोली र क्रिकेट अस्ट्रेलियाको नेतृत्वमा धेरै परिवर्तन भइसकेको छ।

त्यस्तै, ब्याटर निक म्याडिन्सनले पनि पुरानो प्रकरण फेरि चर्चामा आउनु दुःखद भएको बताएका छन्। विशेषगरी स्मिथ, वार्नर र ब्यानक्रफ्टका लागि यसले पुराना कठिन समयको पुनःस्मरण गराउने उनको भनाइ छ।

डेभिड वार्नर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय