Comments Add Comment

नेपालगञ्ज विमानस्थलमा मन्त्री योगेश भट्टराईमाथि गालीगलौज

विमान चढ्न ढीलो भएकोमा मन्त्रीले क्षमा मागे

२८ भदौ, नेपालगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा विमानभित्रै केही युवाहरुले गालीगलौज गरेका छन् । मन्त्रीलाई गाली गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरिएको छ । मन्त्री भट्टराईले चाहिँ विमान चढ्न  ढीलो भएकोमा क्षमा मागेका छन् ।

युट्युवमा राजावादीका रुपमा चर्चा कमाएका ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री भट्टराईलाई थर्काउँदै भिडियो खिचेको हो । काठमाडौं आउने विमानलाई मन्त्रीले एक घण्टासम्म कुराएर यात्रुलाई सास्ती दिएको भन्दै शाहीको टोलीले मन्त्रीमाथि हप्कीदप्की गरेको भिडियोमा देख्न सकिन्छ ।

हामी तपाईलाई सम्मान गर्छौं भन्दै मन्त्रीलाई थर्काएपछि शाहीले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘मन्त्री योगेश भटराईलाई आज नेपालगञ्ज एअरपोर्टमा रामधुलाई गरियो । मन्त्री योगेश भट्टराईले आज नेपालगञ्ज एअरपोर्टमा १ घन्टा प्लेन कुराएपछि हामी नागरिकले रामधुलाई गरियो । विचरा मन्त्रीज्यु मुसो लुकेजसरी लुक्नु भो । अब नागरिक सचेत भैसके । अरिङगालका दिनगन्ती सुरु ।’

पर्यटन मन्त्री भट्टराई शनिबार डल्फिन महोत्सवको उदघाटन गर्न कैलालीको धनगढी हुँदै टीकापुर पुगेका थिए । कार्यक्रम सकेपछि शनिबार साँझ उनी नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरमा काठमाडौं फर्किएका छन् ।

कार्यक्रम सकेर नेपालगञ्ज विमानस्थलमा आइपुग्दा प्लेन छुट्ने समय केही ढीलो भएको थियो । तर, एक घण्टासम्म नभई १५ मिनेटमात्र ढीलो भएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईको दाबी छ । गुरागाईले अनलाइनखबरसँग भने, ‘हामी बाटोमा आउँदा राजमार्गमा गाईवस्तुले बाटो छेकेका कारण केही ढीलो भयो ।

भिडियो : ज्ञानेन्द्र शाहीको फेसबुकबाट

‘त्यहाँ ज्ञानेन्द्र शाही र उनका सहयोगीहरु भिडियो खिच्न तयार भएर बसेका रहेछन्, हामीलाई किन कुराएको भन्दै मन्त्रीज्युलाई गालीगलौज गरे,’ गुरागाईले भने, ‘मन्त्रीज्यूले त्यहाँ कुनै प्रतिक्रिया नदिई मौन बस्नुभयो ।

भ्रष्टाचार विरोधी कार्यक्रम गरेर नेपालगञ्जबाट काठमाडौं फर्कन लागेको ज्ञानेन्द्र शाहीको टोलीले विमानभित्र र बाहिरसमेत मन्त्री भट्टराईलाई थर्काएको भिडियोमा देखिन्छ, जसलाई शाहीले ‘मन्त्रीलाई रामधुलाई गरिएको’ भनेका छन् ।

शाही र उनको टोलीले विमानभित्र मन्त्री भट्टराईलाई हप्काउँदै भनेका छन् –

‘तपाईले हाम्रो प्लेन किन रोकेको ? एक घण्टासम्म प्लेन रोक्ने ? तपाई कहाँ हुनुहुन्थ्यो ? मोजमस्तीमा हुनुहुन्थ्यो कि केमा हुनुहुन्थ्यो ? ख्याल राख्नुपर्दैन टाइमको ? संविधान तपाईले बनाएको, संविधानको कुन सेक्सनमा लेख्या छ मन्त्रीले प्लेन रोक्ने भनेर ? कहिले प्रधानमन्त्री आउने प्लेन २ घण्टा जान गर्दिने, यसको जवाफ दिनोस् । हामी रेक्सपेक्ट गर्छौं, तर यो तरिका भएन मन्त्रीज्यू, बुद्धिमा अलिकति बिर्को आओस् ।.. पञ्चायतमा यस्तो हुँदैनथ्यो । संस्केति मन्त्री हुनुहुन्छ, संस्कारै छैन । हामीले जवाफ माग्यौं, मन्त्रीज्यूले जवाफ दिनुभएन, हामी फेरि पनि सोसियल मिडियामार्फत् जवाफ खोज्नेछौं, तर हामी छोड्दैनौं ।’

मन्त्री भट्टराई भन्छन्- क्षमाप्रार्थी छु

यसैवीच मन्त्री भट्टराईले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफू विमानस्थलमा आइपुग्न १५ मिनेट ढीलो भएको बताउँदै यसबाट यात्रुमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन् ।

मन्त्री भट्टराईको प्रतिक्रिया यस्तो छ-

आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ र्फकने मेरो योजना रहेको थियो । तर, कार्यक्रम ढिला भएका कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाडौं र्फकने क्रममा केही ढिला हुन गएको सत्य हो ।

सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोलि प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जवाफ दिने कार्यक्रम रहेका कारण काठमाडौं र्फकनैपर्ने दबावमा म थिएँ । नेपालगञ्ज विमानस्थलमा ३/४ जना व्यक्तिहरु आक्रामक शैलीमा मेराविरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने । त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहालें । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु ।’

मेरा कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति भने क्षमाप्रार्थी छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment