Comments Add Comment

लोप हुँदै खैँजडी नाच

१ माघ, रामेछाप । बहुजाति, बहुभाषि र बहुसाँस्कृतिक पहिचान भएको मुलक नेपालमा धेरै जातजाति र समुदायका सांस्कृति परम्परा र नाचहरु लोप हुँदै गएका छन् ।

त्यस्तै मध्यको एक हो, खैँजडी नाच । अहिले यो नाच लोप हुन थालेको छ । धार्मिक पर्व, पाठपूजा तथा उत्सवहरुमा धार्मिक ग्रन्थहरुका विभिन्न श्लोकहरु बाचन गर्दै खैँजडी बजाएर नाचिने नाचलाई खैँजडी नाच भनिन्छ ।

खाँडादेवी गाउँपालिका- ६ का सम्बरबहादुर खत्रीका अनुसार समूहमा एकजनाले भट्याइ अरुले स्वर मिसाउने र २ जनाले एक अर्कालाई छेकेर यो नाच नाचिन्छ ।

पहिला पहिला धार्मिक पर्व तथा व्रत पूजाहरुमा रातभरि यस्तो नाच नाचिने गरेको सोही पालिका-४ का डोडसबिक्रम कार्की बताउँछन् ।

अहिले यस्ता पाठपूजा व्रतमा समेत छाडा हिन्दी र नेपाली गीतहरु बजाउँदा पुरानो संस्कृति र परम्परा नै लोप हुँदै गएको मन्थली नगरपालिका-७ भटौलीका पाण्डव प्रसाईँ बताउँछन् ।

खैँजडी नाचमा गाईने भजनले एकखालको सकारात्म सन्देश दिनुका साथै धार्मिक ग्रन्थमा भएका विषयको बारेमा ज्ञान दिने उनले बताए । अहिलेका गीतमा भने सन्देशभन्दा पनि विकृति बढ्दै गएको उनी बताउँछन् ।

यस्ता लोक संस्कृतिहरु लोप हुँदै गएपछि अहिले स्थानीय सरकारहरु यसलाई जोगाइ राख्न संरक्षणमा जुटेका छन् ।

स्थानीय कला, संस्कार र संस्कृति स्थानीय सरकारको सम्पत्ति भएकोले त्यसलाई जोगाउनको लागि पालिकाले सहयोग गर्ने खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ बताउँछन् ।

स्थानीय कला संस्कार र संस्कृतिको संरक्षण र प्रवर्धनको लागि आफ्नो नगरपालिकाले पनि बजेट विनियोजन गरेर सहयोग गरेको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत बताउँछन् ।

मन्थली नगरपालिकाले माझी, नेवार, दमाइ, ब्राम्हण, मगरलगायतका जातजातिको संस्कार र संस्कृतिको संरक्षको लागि सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment