Comments Add Comment

जिउँदो मान्छेमाथि गाडी कुदाउने आँट कहाँबाट आइरहेको छ ?

२९ पुस, काठमाडौं । धनुषाको मिथिला नगरपालिका– ५, श्रीनगरका दिलीप महतोलाई शुक्रबार बिहानै फलामको रडले घोचेर घाइते बनाएपछि खोलामा सुताएर टिपर चढाएको प्रहरीको निश्कर्ष छ । अवैध उत्खननको विरोध गरेको निहुँमा २४ वर्षीय दिलीपको यस प्रकारको हत्या सभ्य समाजमा कल्पना बाहिरको कुरा हो ।

सचेत नागरिकको दायित्व पुरा गरेका युवकमाथि टिपर चढाउने आँट कहाँबाट आयो त ? ‘जस्तोसुकै ठूलो अपराध गरे पनि उन्मुक्ति पाइहाल्छु भन्ने सोचले यस्तो हिम्मत् गरेको हुनसक्छ’ राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्ती भन्छन् ।

सात खुन माफ !

पूर्वन्यायाधीश समेत रहेका वस्ती देशमा मौलाउँदो दण्डहीनताका कारण अपराध गर्नेहरूको मनोवल बढेको देखिएको बताउँछन् । ‘पार्टी वा नेता गुहारेपछि मान्छे मारे पनि छुटाईहाल्छन् भन्ने सोचले जानाजान अपराध गर्न थालेजस्तो देखिन्छ’ वस्ती भन्छन्, ‘कतिपय सन्दर्भमा नेताहरूले संरक्षण गरेका पनि छन् ।’

पञ्चायत, बहुदल हुँदै गणतन्त्रमा आउँदा पनि अपराधीलाई उच्च तहले संरक्षण गर्ने प्रवृत्ति कायम रहेको वस्तीको बुझाई छ । ‘२०४६ सालअघि पञ्चायत समर्थक भएपछि सात खत माफ हुन्थ्योे’, उनी भन्छन्, ‘अहिले कुनै दल वा नेताको मान्छे भएपछि सय खत माफ हुने जस्तो भएको छ ।’

गत कात्तिकमा बैतडीको दशरथचन्द नगरपालिका– ९ कि गौरी जोशीलाई निर्जीव वस्तुलाई जस्तो डोजरको बकेटले उचालेर हुत्याइयो । नेपाली काँग्रेसको केन्द्रीय समितिले गठन गरेको छानबिन समितिले सत्ता–शक्तिको आडमा त्यो आक्रमण भएको आरोप लगाएको थियो ।

त्यो डोजर चालकमा पनि सजायको डर देखिदैनथ्यो । यस्तो मानसिकताका अगाडि नागरिकको बोल्न, बिरोध गर्न पाउने स्वतन्त्रता, मानव अधिकार जस्ता कुरा गौण भइहाल्ने नै भयो ।

राष्ट्रियसभाकी सांसद् कोमल वलीले आइतबारको बैठकमा कारवाही हुन्छ भन्ने डर हराउँदा आपराधीक मनोवृत्ति बढेको बताइन् । ‘अपराध गर्नेहरू कानून र सरकारसँग त्रसित हुनुपर्‍यो तर अहिले न भय न विश्वास जस्तो भएको छ’, वलीको भनाई थियो, ‘अपराधीलाई कारवाही नहुँदा समाजको मानसिकता नै हिंस्रक बन्दै गएको छ ।’

किरा फट्याङ्ग्रा मारे जस्तो…

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक अध्ययनले सवारी दुर्घटनाको प्रमुख कारण चालकको लापरवाहीलाई देखाएको छ । मन्त्रालयको ‘नेपाल स्टाटस् पेपर अन रोड सेफ्टी’ प्रतिवेदन अनुसार ४३.७ प्रतिशत दुर्घटनाको कारण चालकको लापरवाही हो ।

यस्तै, तीव गतिका कारण १८.७ प्रतिशत, मादक पदार्थ सेवनका कारण ६.२ प्रतिशत र अनावश्यक ओभर टेकिङलाईका कारण ९.८ प्रतिशत दुर्घटना हुने गरेका छन् । बाँकी दुर्घटनाको कारण पैदलयात्रीको लापरवाही, अधिक भार, प्राविधिक गडबडी, सडक चौपाया लगायत छन् ।

प्रतिवेदन अनुसार, वार्षिक दुई हजारको ज्यान लिइरहेको सडक दुर्घटनाको मुख्य कारण चालकको लापरवाही हो । दुर्घटना भइहाले मलाई सजायबाट जोगाइ हाल्छन् भन्ने चालकहरूको सोचका कारण यो तहको लापरबाही भएको देखिन्छ ।

हरेक दुर्घटनापछि चालकलाई जोगाउन यातायात समितिहरू अघि सर्छन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन सिण्डिकेट वा अरु कसैले जोगाउने भएपछि आपराधिक मनोवृत्ति भएका ड्राईभरहरुका लागि मान्छेहरु किरा फट्याङ्ग्रा जस्ता हुन पुगेको बताउँछन् ।

‘दिलीप महतोलाई घाइते बनाएर टिपर कुदाउनु त्यही मानसिकताको उपज हो’, उनी भन्छन्, ‘सडकमै पनि ड्राइभरले गाडी ब्याक गरेर घाइतेलाई मार्नु सामान्य जस्तो भएको छ ।’

जिम्मेवार सिण्डिकेट

लामो समयपछि दुई तिहाइ बहुमतको समर्थनमा गठन भएको सरकारले डेढ वर्ष पहिले यातायात क्षेत्रको सिण्डिकेट हटाउने घोषणा गरेको थियो । तर, त्यो घोषणा केवल घोषणामा सीमित भएको मञ्चका अध्यक्ष महर्जन बताउँछन् । उनी भन्छन्, ‘फरक कति भने पहिला घोषित सिण्डिकेट थियो, अहिले अघोषित रुपमा छ ।’

उनका अनुसार, सरकारले रोक्का गरेको सिण्डिकेटहरुको बैंक खाताको रकम पनि ‘ट्रान्सफर’ भइसकेको र सिण्डिकेट बनाएका कम्पनीहरू प्रालिमा परिवर्तन मात्र भएका छन् । ‘यातायात समितिहरुको नाममा रहेको अर्बौं रुपैयाँ प्रालिमा ‘ट्रान्सफर’ गर्न दिइयो, समितिहरु पनि खारेज भएका छैनन्’, महर्जन भन्छन्, ‘दुई तिहाइको सरकार र यातायात व्यावसायीहरुले जनतालाई वेबकुफ बनाएका मात्र हुन् ।’

सडक दुर्घटनाका प्रमुखमध्ये एउटा कारण यातायात सिण्डिकेटहरुको दादागिरीलाई मानिन्छ । सिण्डिकेटहरुले नयाँ व्यवसायीहरुलाई नयाँ र सुविधाजनक गाडीहरु लिएर सडकमा आउनै दिदैनन् । त्यसको साटो आफ्नै थोत्रा गाडीहरुमा क्षमताभन्दा बढी यात्रु कोचेर दुर्घटनाको जोखिम निम्त्याउँछन् । र, दुर्घटना गर्ने आफ्ना चालकलाई कारबाहीबाट जोगाउन संगठित रुपमा लाग्छन् ।

पूर्वाञ्चल टिपर व्यावसायी संघका एक पदाधिकारीका अनुसार दुर्घटना हुँदा क्षति तिरीहाल्नु परेको अवस्थामा २० प्रतिशत मात्र सम्बन्धित सवारी धनीको जिम्मामा पर्छ । क्षतिको ८० प्रतिशत समितिले नै तिर्छ । नाम उल्लेख गर्न नचाहने ती पदाधिकारी भन्छन्, ‘यातायात समितिहरुले यस्तै आपतविपत्का लागि भनेर मनग्गे पैसा जम्मा गरेको हुन्छ ।’

अहिले प्रालिमा परिणत भएका यातायात कम्पनीहरुले पहिलाका समितिहरुका काम नै गरिरहेका छन् । सडक किनार वा जेब्राक्रसमा हिड्दै गरेका पैदल यात्रु मार्दा होस् या दर्जनौं ज्यान जाने गरी भएका दुर्घटनामा, चालकलाई कानुनबाट जोगाउन पहिला समितिहरु जसरी लाग्थे अहिले प्रालिहरु लाग्छन् ।

कानून भन्छ– ज्यानमारालाई जन्मकैद

इन्जिनियरिङका विद्यार्थी दिलीप महतोको सवारी दुर्घटनामा मृत्यु भएको होइन, उनलाई समातेर, घाईते पारेर टिपरले किचेर मारिएको हो । आरोपितलाई सार्वजनिक गर्ने क्रममा आएको प्रहरीको भनाईले पनि त्यही पुष्टि गरेको छ ।

यस्तो अपराधमा जन्मकैदको सजाय हुने कानूनी प्रावधान छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ मा भनिएको छ, ‘कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप एक्काईस दिनभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई जन्मकैद हुनेछ ।’

वरिष्ठ अधिवक्ता डा. शंकरकुमार श्रेष्ठ दिलीप महतोको हत्या गर्नेहरूमाथि पनि ज्यान मुद्दा नै चल्ने बताउँछन् । उनका अनुसार दिलीपमाथि टिपर चढाउनेलाई मात्रै होइन, त्यो अपराध गर्न निर्देशन दिनेलाई पनि ज्यान सजाय मुद्दा नै लाग्छ ।

‘अब चाहिँ कानून मान्छौं’

धनुषामा टिपरले किचेर दिलीप महतोको हत्या भएपछि काभ्रेका टिपर व्यावसायी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले एउटा नाटक मञ्चन गरे । बागमती टिपर व्यावसायी संघका अध्यक्ष प्रेम तामाङ र जिल्ला ट्राफिक प्रहरी प्रमुख विशाल तामाङले १० बुँदे प्रतिबद्धता धुमधामले सार्वजनिक गरेका छन् ।

ती दुईले क्यामेरा अगाडि हस्ताक्षर गरेर सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा टिपर चलाउँदा ट्राफिक नियम पालना गर्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउने, अधिक गतिमा नकुदाउने, जथाभावी ओभरटेक नगर्ने, प्रेसर हर्न नबजाउने, गाडी चलाउँदा मोबाइल फोन नचलाउने, गाडी चलाउँदा कागजपत्र साथमा राख्ने लगायतका बुँदा छन् ।

प्रतिबद्धतामा उल्लेख भएका सबै वुँदा नेपाल राज्यभित्र प्रचलित कानुनका बाध्यकारी प्रावधानहरु हुन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष महर्जन टिपर व्यावसायी संघका अध्यक्ष र जिल्ला ट्राफिक प्रहरी प्रमुखले अहिले आएर यस्तो सम्झौता र प्रतिबद्धता गर्नुले यसअघि टिपरहरू कानून विपरीत चलिरहेका थिए भन्ने अर्थ दिएको बताउँछन् ।

हेर्दा सामान्य लाग्ने यस्ता अनेक कारण र कानुन कमजोर बनाउने तमासाहरुले देशमा कानूनी राज र थितिको पक्षमा बोल्ने दिलीप महतोहरूको ज्यान लिएको लियै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment