Comments Add Comment

प्रचण्डलाई प्रधानमन्त्री बनाउने हो भने सभामुख छाडिन्छ : पूर्वमाओवादी

धेरै ठूलो चलखेल भइराखेको छ : हरिबोल गजुरेल

२७ पुस, काठमाडौं । नेकपा नेता हरिबोल गजुरेल (शीतल कुमार) ले प्रचण्डलाई एकल अध्यक्ष बनाएर केपी ओली सहअध्यक्षमा बस्ने हो भने शिवमाया तुम्वाहाम्फेलाई सभामुख बनाउन सकिने बताएका छन् ।

अथवा, केपी ओली एकल अध्यक्ष बनेर प्रचण्डलाई प्रधानमन्त्री बनाउने हो भने पनि सभामुख/उपसभामुख जोसुकैलाई बनाउन सकिने गजुरेल बताउँछन् ।

उपसभामुखलाई नै सभामुख बनाउन सकिने भएता पनि शिवमायाले पार्टीको निर्णय नमानेका कारण अब उनको सभामुख बन्ने सम्भावना सकिएको गजुरेलले बताए ।

नेकपाभित्र चर्किएको सभामुख प्रकरणबारे पूर्वमाओवादी नेता गजुरेलको भनाइ उनकै शब्दमा-

पहिलो कुरो त पार्टीको एउटा बफादार सिपाहीले आफूलाई चित्त नबुझे पनि पार्टीको निर्णय मान्छ । निर्णय उसलाई चित्त नबुझ्न सक्छ, तर पार्टीको निर्णय उसले मान्नुपर्छ । कि पार्टी छोड्नुपर्छ, पार्टीमा बसुञ्जेल पार्टीको निर्णय मान्नुपर्छ । एउटाले पार्टीको निर्णय मानेन भने अरुले पनि मान्दैन । भोलि गएर कसले मान्छ पार्टीको निर्णय ?

उपसभामुख, सभामुखले पनि पार्टीले भनेपछि छाड्नुपर्ने त्यसको नैतिक आधार त हुन्छ । उपसभामुख भएपछि पार्टी त औपचारिकरुपमा पो छाडेको हुन्छ त । तर, पार्टी र आन्दोलनप्रति नैतिक आधार त हुन्छ नि । ओनसरी घर्ती सभामुख हुनुहुन्थ्यो, अहिले पार्टीमै हुनुहुन्छ । सवास नेम्वाङ पनि पार्टीको स्थायी कमिटीमा हुनुहुन्छ । यो त राष्ट्रपति/उपराष्ट्रपतिजस्तो स्थिति त होइन ।

अहिले पार्टीले भनेको नमान्ने हो भने यो उहाँको लागि मात्रै होइन, भोलि कसैले पनि मान्दैन । झन् निर्णय नै नमानेपछि उहाँ (शिवमाया) लाई कसरी सभामुख बनाउन मिल्छ ? पार्टीको निर्णय मान्यो भने पो बरु हुन्छ । पार्टीको निर्णय नमानेपछि पार्टीले कसरी सभामुख बनाउँछ त ? झन् बनाउँदैन ।

तपाई हामीले बुझ्नुपर्ने कुरा के छ भने यो उहाँ (शिवमाया) को मात्रै कुरो होइन । धेरै ठूलो चलखेल भइराखेको छ भन्ने कुरो बुझ्नुपर्‍यो क्या । उहाँले मात्रै यत्रो अडान लिन सक्ने कुरै हुँदैन । उहाँले मात्रै यत्रो अडान लिन सक्ने उहाँको के हैसियत छ र ?

‘प्रचण्डलाई प्रधानमन्त्री बनाउने हो भने सभामुख छाडिन्छ’

एकताको प्रक्रिया टुंगिएर महाधिवेशन भएपछि नयाँ परिस्थिति सिर्जना हुन्छ । तर, मनोविज्ञान त त्यहाँ पनि ख्याल गर्नुपर्ने हुन्छ । अहिले त प्रक्रियामै छांै नि त हामी । हरेक चिजमा भागवण्डा गरिराखेका छौं ।

दुईवटा अध्यक्षको कार्यविभाजनमा पनि त भागवण्डा गरियो । प्रचण्डलाई एउटामात्रै अध्यक्ष राखे हुँदैन ? एउटा मात्रै अध्यक्ष राखौं भन्ने भएपछि समामुख जो राखे पनि हुन्छ । एउटा प्रधानमन्त्री हुने, अर्को अध्यक्ष हुने, दुईवटा अध्यक्ष नराखौं, राम्रो पनि परेन, अध्यक्षले पार्टी चलाउँछ, अर्कोचाहिँ सह अध्यक्ष हुन्छ, सरकार चलाउँछ भन्न पनि त सकिने भयो ।

अथवा अहिले भइरहेका प्रधानमन्त्रीले अध्यक्ष बनेर पार्टी चलाउने, प्रचण्डलाई सरकार दिने हो भने पनि त के विवाद हुन्थ्यो र । त्यस्तो स्थिति हो त अहिले ? ल, अहिले पनि प्रचण्डलाई नै एकल अध्यक्ष बनाउने निर्णय गरोस् त पार्टीले, सभामुख उपसभामुखमा जो राखे पनि हुन्छ । जो राखे पनि हुन्छ । अहिलेकै उपसभामुखलाई सभामुख बनाइदिँदा पनि केही फरक पर्दैन । अरु कोहीलाई दिन पनि केही फरक पर्दैन ।

कि त अब पार्टीमा यसरी भागवण्डा नगरी जानुपर्‍यो । एउटै अध्यक्ष राखेर जानुपर्‍यो । तर, अहिलेको स्थिति यो होइन । जनताले यो कुरो बुझेका छन् । महरालाई फसाए भनेर त जम्मैले भनिराख्या छन् नि । हरेक मान्छेले भनिराखेका छन् ।

बाहिर जम्मै आइराखेकै छ, महराजीको बहिर्गमन पनि स्वाभाविक होइन । उहाँले गल्ती गर्नुभएकै हो, तर घटनाक्रमहरु त देखिए नि । त्यस्ता गल्ती गर्नेहरु त अरु पनि धेरै छन् । यो पार्टीमा अहिले पनि त हिँडिराखेका छन् । ठूलै पदमै छन् ।

यो हिसाबले मलाई के लाग्छ भने त्यो कुरो मुख्य होइन । मुख्य कुरो त के हो भने महराजीकै जस्तो विषयमा कि त अरुलाई पनि कारवाही हुनुपथ्र्यो । त्यही प्रकृतिका आरोपहरु धेरैमाथि आइराखेका छन् । त्यहाँ चाहिँ केही हुँदैन । छानविन पनि हुँदैन । उजुर गर्दै मान्छे सडक-सडकमा हिँडिराखेका छन् । त्यो चाहिँ छापछोप गर्ने ?

महराजीले गल्ती गर्नुभो, त्यसमा त मैले कडैसँग बोल्याछु । तर, उहाँलाई जुन ढंगले गराइयो, त्यो त एउटा डिजाइनमा छ भन्ने कुरा त देखियो नि त । कि त कारवाही गर्ने भए अरुलाई पनि गर्नुपर्‍यो । अरुका कुराचाहिँ ढाकछोप गर्नतिर लाग्ने । आफूले जे भन्यो त्यही मान्ने मान्छे भए ढाकछोपतिर लाग्ने । आफूसँग अलिकति असहमति राख्यो भने त्यसको चाहिँ खोतल-खातल गर्ने र नभएको चिजलाई पनि ल्याउने ?

त्यसैले यसमा धेरै चिजहरुले काम गरेको छ । यहाँ सामान्य कुरो, एउटा व्यक्तिविशेषको मात्रै कुरो हैन यो । कुनै एउटा व्यक्तिविशेषको मात्रै कुरो भइदिएको भए त समस्यै हुने थिएन नि ।

व्यक्तिको मात्रै कुरो भए त पार्टीको जो बने पनि हुन्थ्यो सभामुख । उपसभामुख चाहिँ सभामुख बन्नै हुन्न भन्ने आउँछ र ? बनाउँदा नहुने कुरो होइन । स्वाभाविक रुपमा भएको भए सोच्न सकिन्छ । असहज ढंगले आएका चिजहरुमा अब यो शिवमायाको मात्रै विषय भएन । उहाँले त्यत्रो अडान किन लिनुभयो ? त्यसका पछाडि केही छ । यो वहाँको मात्रै कुरो छैन ।

सभामुखमा पूर्वमाओवादीले दाबी गर्नुपर्ने नै होइन । दाबी भन्ने कुरै बेठीक छ । हामीले किन दाबी गर्ने ? स्वाभाविकरुपमा जनताले पनि बुझेको कुरो हो यो । महाधिवेशन नहुञ्जेलसम्म त हामी करिब-करिब भागवण्डामै गइराखेका हुन्छौं । मन्त्री बनाउँदा त्यही गरियो । तीनवटामा किन दुईवटा मन्त्री मात्रै दिइयो ? पाँचवटा दिएको भए हुन्थ्यो । त्यहाँ पनि त हामीले भागवण्डा नै गर्‍यौं नि ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment