News Summary
Generated by OK AI. Editorially reviewed.- गृह मन्त्रालयले संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई २३ असोजदेखि सेवाबाट बर्खास्त गरेको छ।
- दाहालले बर्खास्तीपछि कानुनी परामर्श थालेका छन् भने मन्त्रालयले आचरणविपरीत कार्य गरेको आरोपमा विभागीय कारबाही गरिएको जनाएको छ।
- सूचना चुहावट प्रकरणमा एआईजी दर्जाका अधिकृत पहिलोपटक बर्खास्तीमा परेको भन्दै दाहालको पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र इनम सापकोटासँगको सम्बन्ध पनि छानबिनको विषय बनेको छ।
२५ असोज, काठमाडौं । बर्खास्ती परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालले कानुनी परामर्श थालेका छन् ।
२३ साँझ गृह मन्त्रालय एक सूचना जारी गर्दै दाहाललाई बर्खास्त सार्वजनिक गरेको थियो । सुरक्षा फोर्सको लामो करिअरको उत्तरार्द्ध बर्खास्तीमा परेपछि उनले कानुनी परामर्श सुरु गरेका हुन् ।
‘कानुनी परामर्श थाल्नु भएको भन्ने बुझिएको छ । अब कसरी अघि बढ्नुहुन्छ उहाँको कुरा भयो’ एआईजी दाहाल निकट स्रोतले भन्यो ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा दाहाललाई सेवाबाट हटाउनेगरी विभागीय कारबाही गरिएको उल्लेख छ । २३ गतेकै मितिबाट लागु हुनेगरी उनलाई बर्खास्त गरिएको हो ।
सशस्त्र प्रहरी तथा नेपाल प्रहरीकै इतिहासमा सूचना चुहाएको कसुरमा एआईजी दर्जाको अधिकृत बर्खास्तीमा परेको यो नै पहिलो घटना रहेको जानकारहरू बताउँछन् ।
संवेदनशील सूचना चुहावट गरेको भन्दै उनलाई १९ असोजमा सरकारले पदबाट निलम्बन गरेको थियो । उनलाई संवेदनशील सूचना चुहावट गरी आचरणविपरीत कार्य गरेको आरोप लगाइएको थियो ।
तर कस्तो सूचना चुहाएको भन्नेबारे बर्खात गर्दा समेत खुलाइएको छैन । बर्खास्तीमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रूपमा कार्यरत थिए । २८ गते अवकाशमा जान लागेका उनी सरकारले एक वर्ष म्याद थप गर्न सक्ने प्रावधानअनुसार म्याद थपका लागि सिफारिस समेत भएका थिए ।
यही बेलामा उनी बर्खास्तमा पर्नुमा विवादित व्यक्तिसँगको सम्बन्ध, पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न हिरासत गएको र सूचना चुहाएको विषयलाई आधारमा मानिएको छ ।
१० असोज मध्यराति प्रहरी पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा पुगेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ११ असोज बिहानीपख २ बजे चोलेन्द्रलाई आफ्नो कार्यालयमा ल्यायो ।
त्यसको एक घण्टामै एआईजी वंशीराज दाहाल चोलेन्द्रलाई भेट्न अपराध अनुसन्धान कार्यालय टेकु पुगेका थिए ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई मध्यराति घरबाटै उठाएर प्रहरी कार्यालय मात्रै लगिएको थिएन, १२ घण्टासम्म प्रहरी कार्यालय राख्दा उनका मोबाइलका सबै गतिविधि प्रहरी अधिकारीले नियालिसकेका थिए ।
अस्वाभाविक भेटघाट र चलखेल गरेको सूचना पाएपछि सरकारको टार्गेटमा परेका थिए, पूर्वप्रधानन्यायाधीश चोलेन्द्र । सम्पत्ति शुद्धीकरण, बीमा, धितोपत्र, बैंकिङ कसुरमा पक्राउ परेर पुर्पक्षका लागि कारागारमा रहेका व्यवसायी दीपक भट्टदेखि सुलभ अग्रवालको मुद्दामा समेत चलखेल गर्न लागेको लगायतका सूचना पाएपछि नियन्त्रणमा लिएर १२ घण्टा केरकार गरेर प्रहरीले उनलाई छाडेको थियो ।
चोलेन्द्रलाई नियन्त्रणमा लिएर उनको मोबाइलका गोप्य विवरण तथा म्यासेजहरू हेरेपछि यसका थप पाटाहरू खुलेका थिए । त्यसपछि इनम सापकोटा नाम गरेका व्यक्ति जोडिएका थिए ।
नेपाल प्रहरीको विशेष ब्युरोले दिल्ली जान लागेका बेला इनमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही दिनअघि पक्राउ गरेको थियो ।
विशेष ब्युरोले एक दिन राखेर इनममाथि अनुसन्धान गरेको स्रोत बताउँछ । उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । अहिले सम्पत्ति सुद्धिकरणको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
उनै इनमसँग बारम्बार सम्पर्क हुने गरेको देखिएपछि एआईजी दाहाल सरकारको राडरमा परेका थिए । ‘जुन बिचौलियालाई पक्राउ गरेर अनुसन्धान गरिएको छ, उनैसँग बहालवाला एआईजीको कनेक्सनमात्रै देखिएको छैन, गोप्य र संवेदनशील सूचनाहरू पनि चुहाएको देखिन्छ,’ स्रोत भन्छ ।
इनमको पूर्वप्रधान्यायाधीश चोलेन्द्र, एआईजी दाहाल र अन्य केही सुरक्षा अधिकारीसँग समेत कनेक्सन देखिएको स्रोतको दाबी छ ।
विशेष ब्युरोले इनमलाई पक्राउ गरी उनको मोबाइल जाँच गर्दा महत्वपूर्ण सूचनाहरू भेटिएको दाबी गरेको छ। उच्च स्रोतका अनुसार एआईजी दाहाल र इनमबीच प्रधानमन्त्री बालेन शाहका गतिविधिको सूचनासमेत आदानप्रदान भएको दाबी छ । ‘प्रमज्यूकै सूचनाको आदानप्रदान भएकोसमेत देखिएको छ,’ स्रोतले भन्यो ।
प्रतिक्रिया 4