१९ असोज, काठमाडौं । सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई सरकारले संवेदनशील सूचना चुहावट गरेको भन्दै पदबाट निलम्बन गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै निजामती तथा प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने पदीय आचरण प्रचलित काम नगरेको भनी निलम्बन गरिएको उल्लेख गरेका छन् ।
दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरण विपरीत कार्य गरेको भन्दै सशस्त्र प्रहरीले कारबाहीका लागि मन्त्रालयमा सिफारिस गरेको थियो ।
उनलाई तीन दिनभित्र जाँचबुझ गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न जाँचबुझ अधिकृत समेत तोकिएको छ ।
आज बसेको गृह मन्त्रालयको बैठकले जाँचबुझ अधिकृत तोकेर छानबिन अघि बढाउने निर्णय गरेको हो ।
गृह मन्त्रालयले मातहतका हरेक कर्मचारीबाट गरिने पदीय आचारणविरुद्धका कार्यहरू संवेदनशील गोप्य सूचना चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर गर्ने गतिविधिमा सुक्ष्म निगरानी तथा विश्लेषण गरिरहेको जनाएको छ ।
‘कानुन विपरीत हुने हरेक गतिविधि वा घटनामा संलग्न जोसुकैलाई प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ,’ प्रवक्ता काफ्लेले भनेका छन् ।

प्रतिक्रिया 4