२८ पुस, काठमाडौं । संसदको हिउँदे अधिवेशन रोकिएको एक महिना पुगेकै दिन आगामी शनिबार उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले आफ्नो ५७ औं जन्म दिन मनाउँदैछिन् । थाहा छैन, शिवमायाको ५७ वर्षे जीवनको यो शिशिर याम विजयोत्सव बनेर आउँदैछ, या हार बोकेर । जन्म दिन मनाउनेलाई नै यकिन छैन, हर्ष बाँडेर मनाऔं, या दुःख पिएर !
उमेरले ५६ वर्ष र राजनीतिक अनुभवले ४० वर्ष पार गर्न लागेकी उपसभामुख तुम्वाहाङफेले ‘ह्याप्पी बर्थडे’ मनाएको पर्सिपल्ट, माघ ६ गते प्रतिनिधिसभाको बैठक बस्दैछ । अन्यथा भएन भने माघ ६ को बैठकअगावै शिवमायाको राजनीतिक जीवनका पुराना पातहरु झर्नेछन् । र, नवीन पालुवाका लागि उनले अर्को बसन्त कुर्नुपर्ने छ ।
डा. शिवमाया यतिबेला राजनीतिक चर्चाको शिखरमा छिन् । नेकपाकी समानुपातिक सांसदसमेत रहेकी उनलाई उपसभामुखबाट राजीनामा दिन नेकपा सचिवालयले आदेश दिएको छ । तर, उनले ‘राजीनामा दिन्न, बरु महाअभियोग लगाऊ’ भनेर आफ्नै मातृपार्टीलाई चुनौती दिएकी छिन् । शिवमाया अहिले पनि नेकपाकी समानुपातिक सांसद हुन् ।
महिला आन्दोलनकी सक्षम अगुवा भएका कारण आफूलाई नै सभामुख बनाउनुपर्ने र कृष्णबहादुर महराको सजायँको शिकार आफूलाई बनाउन नमिल्ने शिवमायाको जायज तर्क छ । नेकपा सचिवालयले चाहिँ उनलाई उपसभामुखबाट राजीनामा गराएर पार्टीको अर्को नेतालाई सभामुख बनाउने निर्णय लिएको छ । यही नीतिअनुसार शनिबार बसेको सचिवालय बैठकले शिवमायालाई राजीनामा दिन भनेको हो । अनि, आइतबार बालुवाटारमा बोलाएर उनलाई सम्झाउनुको कारण पनि यही नै हो ।
उपसभामुख शिवमाया सभामुखका लागि पनि योग्य र सक्षम पात्र हुन् । राजनीतिशास्त्र, कानून अनि समाजलाई उनले बुझेकी छन्, पढेकी छिन् । यद्यपि यो आलेखमा शिवमायालाई सभामुख बनाउनु ठीक कि बेठीक भन्ने विषयमा प्रवेश गर्न खोजिएको छैन । कसलाई सभामुख बनाउने र नबनाउने नेकपाले आफैं निर्णय गर्ने विषय हो, त्यसमा बाहिरी टिप्पणीको खासै अर्थ रहँदैन ।
तर, यहाँ आम पाठकहरुको चासोलाई ध्यान दिँदै उपसभामुख शिवमाया को हुन् भन्ने परिचायत्मक चर्चा गर्न र मिडियाको धर्म निभाउन मात्र खोजिएको छ । किनभने, उपसभामुख शिवमायाको जीवनको भित्री पाटोबारे नेकपाकै कतिपय उच्च नेताहरुसमेत बेखबर रहेको पाइएको छ ।
को हुन् शिवमाया ?
उपसभामुख डा. शिवमाया तुम्बाहाङफे राजनीतिक परिवारमा जन्मे–हुर्केकी नेतृ हुन् । उनको जन्म विसं. २०२० साल माघ ४ गते तेह्रथुमको तम्फुला, माझगाउँ ( हालको म्याङलुङ नगरपालिका–१०) मा भएको हो । उनका पिता ललितबहादुर तुम्बाहाङ्फे भूपू गभर्नर अर्थात नेपाली कांग्रेसद्वारा गठित ‘जनसरकार प्रमुख’ बनेका थिए ।

राणाविरोधी आन्दोलनका बेला नेपाली कांग्रेसले धनकुटाको घुमाउने चौतारामा क्रान्तिकारी जनसरकार घोषणा गरेर शिवमायाका पितालाई गर्भनर घोषणा गरेको थियो । बाम राजनीतिमा लागेकी उपसभामुख शिवमाया र उनका दाजु नेकपाका सांसद विजय सुब्बा ललितबहादुरका उत्तराधिकारी हुन् ।
तेह्रथुममा जन्मिए पनि शिवमायाको औपचारिक शिक्षा झापाको स्कुलचन निमाविबाट भयो । त्यहाँ ७ कक्षा पढेपछि उनले जमाबिबाट एसएलसी दिइन् । हुनेखाने परिवारमा जन्मेकी शिवमायाले काठमाडौंको नेपाल ल क्याम्पसबाट बीएल पास गरिन् । महेन्द्ररत्न क्याम्पस ताहचलबाट बीएड गरिन् । र, त्रिविबाट राजनीतिशास्त्रमा एमए गरिन् । र, उनले ‘नेपालमा राजनीतिक महिला आन्दोलन’ विषयमा २०६४ मा पीएचडी गरेर डाक्टरको उपाधि पाइन् ।
शिवमायाको विवाह ३२ वर्षको उमेरमा मोरङमा तत्कालीन उर्लाबारी गाविस अध्यक्ष घनेन्द्र जिमीसँग भयो । हाल शिवमायाका दुई छोरा प्रशान्त र प्रतीक सिभिल इञ्जिनियरिङ अध्ययनरत छन् । श्रीमान घनेन्द्र जीमीको भने निधन भइसकेको छ ।
समाजमा भएको छोरी र छोरावीचको विभेदको न्यूनीकरण गर्नुपर्छ भनेर ०३५/०३६ सालदेखि राजनीतिमा लागेको शिवमाया बताउँछिन् । आफूले ०३९ र ०४२ सालमा जेलजीवन व्यतीत गरेको उनको भनाइ छ । उनले अनेरास्ववियुको अध्ययन दल, सहप्राक, प्राक हुँदै केन्द्रीय कमिटीको महिला विभाग प्रमुख र उपाध्यक्ष भई काम गरिन् ।
त्यसैगरी अनेमसंघ केन्द्रीय कमिटीको सदस्य र मोरङ जिल्लाको इञ्चार्ज भई काम गरिन् । राजनीतिक दलमा आवद्ध भई काम गर्ने क्रममा तत्कालीन नेकपा मालेको इलाका कमिटी सदस्य, एमालेको अञ्चल समन्वय कमिटी सदस्य, प्रदेश कमिटी सदस्य तथा नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी सदस्य भई काम गरेकी शिवमायाले संसद सचिवालयमा राखिएको ‘परिचायत्मक भिडियो’ मा भनेकी छिन्, ‘हाल मेरो पदीय हैसियतका कारण दलमा आवद्धता रहेको छैन ।’
आफूले १० वर्ष बिराटनगरको डिग्री कलेजमा राजनीतिशास्त्र विषयमा प्राध्यापन गर्नुका साथै वकालत पेशासमेत गरेको बताउँदै शिवमायाले भनेकी छिन्, ‘मैले विभिन्न संघसंस्थामा पनि आवद्ध भएर महिला अधिकारको क्षेत्रमा लामो समय काम गरें । तसर्थ, नेपालमा मानव अधिकारको क्षेत्रमा राम्रो काम गरेकाले दयाराम परियार स्मृति मानव अधिकार सम्मान र साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै श्री मोहनलाल मनोरम स्मृति वाणि सम्मान ०६७ र नेपाल विद्याभुषण आदि सम्मानहरु प्राप्त गरेकी थिएँ ।’

डा. शिवमाया आफूलाई ‘महिला आन्दोलनकी विज्ञ’ भन्न रुचाउँछिन् । ‘नेपालको राजनीतिक महिला आन्दोलन र महिला आन्दोलनको विषयमा विज्ञता रहेको छ’ उनको भनाइ छ, ‘मेरो रुचीका विषयहरुमध्ये अध्ययन, अनुसन्धान र लेखन कार्य हो । मैले केही अनुसन्धानहरु गरेकी थिएँ ।’
तुम्वाहाङफेले गैरसरकार संस्थाहरुमा काम गर्ने क्रममा नेपाल आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानको फण्डिङमा गन्गाई, लिम्बु आदि जातिहरुका विषयमा रिसर्च गरेकी छिन् ।
संसद सचिवालयको बायोडाटामा शिवमायाले आफ्नो स्थायी ठेगाना ‘बिराटनगर –८, प्रगति टोल’ लेखाएकी छिन् । तर, भिडियोमा भने उनले आफ्नो स्थायी ठेगाना मोरङको उर्लाबारी भनेकी छिन् ।
आफ्नो राजनीतिक प्रोफाइल उच्च रहेको शिवमायाले बताइरहँदा मोरङका कतिपय नेकपा नेताहरु चाहिँ उनले राजनीतिक संगठनमा लागेर भन्दा बढी एनजीओको जागिरमा सुविधायुक्त जीवन बिताएको आरोप लगाउँछन् । शिवमायाको राजनीतिक पृष्ठभूमिबारे प्रश्न गर्दा नेकपाका एक जिल्ला नेताले यसो भने, ‘उनको राजनीति भनेको विद्यार्थी संगठनमा हो । त्यसपछि एनजीओतिर लागिन् । माओवादी द्वन्द्व सुरु भएका बेला एनजीओ चलाउँथिन् । कर्मथलो झापा हो । घनेन्द्र जिमीसँग बिहे गरेर आएपछि मोरङलाई कर्मथलो बनाएकी हुन् । विद्या भण्डारीसँग पछिल्लो चरणमा मात्रै हो, गुटमा उनी पहिलेदेखि नै केपीकै नजिक थिइन् ।’
पढेलेखेकी र सभामुख बन्नका लागि सक्षम भएता पनि शिवमायाको स्वाभाव घमण्डी रहेको ती नेताले बताए । साथै उनले पार्टीको अनुशासन लत्याएर गल्ती गरेको बताउँदै ती नेताले भने, ‘साह्रै घमण्डी मान्छे छिन् । यिनले गलत गरिन् । उनले आफ्नो गरिमा गुमाइसकिन् । उनी एनजीओ/आइएनजीओकर्मीहरुको बुई चढेकी छिन् ।’
बाहिर हल्ला आएजसरी शिवमायालाई विद्या भण्डारीले लिफ्ट दिएको पनि सत्य नभएको नेकपाको ती नेताको दाबी छ ।
नेकपाका नेताले यसरी आलोचना गरिरहँदा शिवमायाको गृहजिल्ला तेह्रथुमकै एक कांग्रेस नेताले चाहिँ उनको प्रशंशा गरे । ती नेताले भने, ‘शिवमायाजी अस्ति तेह्रथुम आउनुभएको थियो, उहाँ विद्वान एवं असाध्यै भलादमी मान्छे लाग्यो । उहाँजस्तो विद्वान मान्छे सभामुख बन्नुभयो भने हामीलाई त खुशी नै लाग्छ ।’
शिवमायाको शक्तिको स्रोत
डा. शिवमायाको पक्षमा पार्टीभित्र र बाहिर दुबैतिरबाट समर्थन बढ्दै गइरहेको छ । पार्टीभित्र पनि उनी शक्तिशाली बनेकी छिन् । यही शक्तिका आधारमा उनले सचिवालयको निर्णयलाई ठाडो चुनौती दिएकी हुन् ।
शिवमायाले देशैभरिका महिला अधिकारकर्मीहरुको सहानुभूति बटुलेकी छिन् । महिलाले सभामुख बन्न पाउनुपर्ने स्वर ‘लाउड’ बनिरहेको सोसल मिडियाका प्रतिक्रिया हेर्दा स्पष्ट हुन्छ ।

यसबाहेक उनी पूर्वएनजीओकर्मीसमेत भएकाले एनजीओकर्मीहरुले पनि उनैलाई साथ दिइरहेका छन् । यसका साथै पूर्वमाओवादीको अनुहार हेर्न मन नपराउनेहरुले सभामुखमा शिवमायाको पक्ष लिएको देखिन्छ ।
नेकपाभित्र पूर्वएमाले समूहले शिवमायालाई साथ दिनु स्वाभाविकै हो । अझ, त्यो भन्दामाथि शीतलनिवासको समर्थनसमेत शिवमायालाई नै छ । शिवमाया सुरुदेखि नै केपी ओली समूहसँग नजिक भएकाले बालुवाटार पनि उनका लागि दाहिना नै छ । तथापि पार्टीको सचिवालय बैठकले नै सर्वसम्मतरुपमै उपसभामुखलाई राजीनामा दिन भनिसकेको अवस्थाले जटिलता निम्त्याएको छ ।
विपक्षी नेपाली कांग्रेसका कतिपय नेतृहरुसमेत योग्य एवं शिक्षित महिला भएका कारण शिवमायालाई नै सभामुख बनाउनुपर्ने लबिङमा भित्रभित्रै लागेका छन् । कांग्रेसका कतिपय पुरुष नेताहरुसमेत पूर्वमाओवादी भन्दा पूर्वएमालेबाटै सभामुख भएको हेर्न चाहन्छन् । कतिपय नेताहरुसँग कुरा गर्दा कांग्रेसका नेताहरु यो विषय अझै गिजोलियोस् र शिवमायाले अडान नछाडुन् भन्ने लाइनमा देखिन्छन् । तर, बाहिर–बाहिर उनीहरु छिटो समस्या समाधान होस् र संसदलाई बन्धक नबनाइयोस् पनि भन्न छुटाउँदैनन् ।
यसबाहेक कतिपय अदृश्य शक्तिले पनि नेकपामा अन्तरविरोध बढाउन खोजेको बुझाइ नेकपा नेताहरुको छ । पूर्वमाओवादी नेताहरु पनि शिवमायालाई उचालेर गम्भीर षडयन्त्र गर्न लागिएको गुनासो गर्छन् । नेकपाभित्र भाँडभैलो होस् भन्ने चाहना राख्ने कम्युनिस्ट विरोधीहरुले त शिवमायालाई ‘नछाड्नोस् है’ भनेर उक्साउन थालेको नेकपाभित्र चर्चा छ । नेकपा महासचिवले विष्णु पौडेलले नै भनिसकेका छन्, ‘नेकपाको प्रगति देख्न नचाहनेहरुको जिब्रो रसायो !’
सोसियल मिडियामा आफ्नो पक्षमा माहौल बढ्दै गएको देखेपछि शिवमाया बरु महाअभियोगको सामना गर्ने तर, सभामुख पद सुनिश्चित नहुँदासम्म राजीनामा नदिने अडानमा देखिएकी छिन् । बरु संसद अवरुद्ध भइरहोस्, तर, आफ्नो पोजिसन सुनिश्चित होस् भन्ने चाहना उनमा देखिएको छ । शिवमायाको अडानका कारण गर्दा नेकपा सचिवालय लाचार बनेको छ भने प्रतिनिधिसभा एक महिनादेखि पार्टी र व्यक्तिको बन्धक बनिरहेको छ ।
आइतबार दिउँसो संसद बैठक स्थगनको पूर्वजानकारी नपाएका केही सांसदहरु नयाँ बानेश्वरस्थित संसद भवनमा आइसकेका थिए । अन्तिम घडीमा बैठक स्थगनको खबर पाएपछि नेकपाकै कतिपय सांसदहरुले आफूहरु निरीह एवं दासजस्तो भएको भन्दै गुनासो पोखे ।
केही सत्तापक्षकै सांसदले शिवमायालाई भेटेर पार्टीको निर्णय मान्न र घमण्ड नगर्न सुझाव दिए । तर, जवाफमा शिवमायाले बरु महाअभियोग लगाइयोस्, तर छाडिन्न भन्ने अडान दोहोर्याएपछि नेकपाका सांसदहरु खिन्न मुद्रामा घर फर्किए । शिवमायाले नेकपा सांसदहरुलाई भनिन्, ‘अर्काले गल्ती गर्छ, म दण्डित हुने त कामरेड ?’
शनिबार र आइतबार दुबै दिन पार्टी सचिवालयको निर्णयलाई चुनौती दिएकी शिवमायाले नयाँबानेश्वरस्थित अर्याल होटलमा शुक्रबार दिउँसो एउटा भेलाको आयोजना गरेकी थिइन् । सो भेलामा उनले टेलिफोन गरेर कांग्रेसका नेतृहरुलाई समेत बोलाइन् र सभामुखको प्रशंग उल्लेख नगरी महिलाहरुले हरेक क्षेत्रमा केही गरेर देखाउन सक्ने मन्तव्य राखिन् ।

आफ्नो पुरानै किताबको पुनः मुद्रण गरेर अर्याल होटलमा त्यसको विमोचन कार्यक्रम राखेकी शिवमायाले कांग्रेस सांसद पुष्पा भुसालसमेतलाई आमन्त्रण गरेकी थिइन् । कतिपय नेकपा नेताको दाबी के छ भने शिवमायाको यो भेलाले उनी पार्टी निर्णयको अवज्ञा गर्दै अन्तरपार्टी महिला अभियानमा समेत जुटेको संकेत गर्छ ।
संविधानमाथिको त्यो बलात्कार
नेकपाले शनिबार उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन भनेको छ । तर, उसले यो निर्णय सभामुख कृष्णबहादुर महरा पदच्युत हुनुअगाडि नै गरिसक्नुपर्ने थियो । त्यसबेला नेकपा नेताहरु घाम तापेर बसे ।
नेकपाले किन सभामुख महरा वा उपसभामुख तुम्वाहाङ्फेमध्ये एकजनालाई यसअघि नै राजीनामा दिन लगाउनुपर्ने थियो त ? यसमा प्रष्ट हुनका लागि सभामुख–उपसभामुखको चुनावतिर फर्काैं ।
कृष्णबहादुर महरा ०७४ साल फागुन २५ गते सर्वसम्मत रुपमा सभामुख चयन भए । विपक्षी कांगे्रेसले उम्मेदवारी नदिएपछि महरा सर्वसम्मत सभामुख बनेका हुन् । त्यसबेलासम्म एमाले–माओवादीबीच तालमेल मात्र भएको थियो, एउटै पार्टी बनिसकेको थिएन । महरालाई सभामुख बनाउँदा सुवास नेम्वाङ प्रस्तावक र देव गुरुङ समर्थक बनेका थिए ।
माओवादी पार्टीबाट महरा सभामुख बनेको अर्को साता चैत्र २ गते प्रतिनिधिसभामा उपसभामुखको चुनाव भयो । देव गुरुङको प्रस्ताव र रविन्द्र अधिकारीको समर्थनमा तत्कालीन एमालेकी शिवमाया तुम्बाहाङफे उपसभामुखमा निर्वाचित भइन् । नेपाली कांग्रेसकी पुष्पा भुसाललाई हराएर उपसभामुख बनेकी शिवमायाले २०१ मत पाएकी थिइन् भने पुष्पाले ६१ मत पाएकी थिइन् ।
सभामुख र उपसभामुखको चुनाव सकिएको दुई महिनापछि ०७५ साल जेठ ३ गते एमाले र माओवादी आपसमा विलय भएर एउटै दल नेकपा बन्यो । संविधानले एउटै दलबाट सभामुख र उपसभामुख दुबै पद लिन नमिल्ने भन्दै विपक्षी कांग्रेसले उठाएको आवाज नेकपाका नेताहरुले कुतर्क गरेर टार्ने काम गरे । अहिले त्यसैको मूल्य नेकपा नेताहरुले चुकाउनुपरिरहेको छ ।
सभामुख र उपभामुख चयन हुँदा भिन्नै दल भएको र निर्वाचित भइसकेपछि दल त्याग गरेको हुनाले संविधानको धारा आकर्षित नहुने कुतर्क नेकपा नेताहरुले गरे । यस्तो तर्क गर्नेमा कानुन र राजनीतिशास्त्र पढेकी शिवमायासमेत अग्रपंक्तिमा देखिइन् ।
‘फाटेको जालोले छेकेको, छेके पनि छर्लङ्ग देखेको’ भन्ने ‘जनवादी गीत’जस्तै अहिले जेलमा रहेका कृष्णबहादुर महरा दाङबाट निर्वाचित नेकपाका सांसद हुन् । सभामुख बने पनि उनको सांसद पद यथावतै छ । त्यसैगरी समानुपातिकबाट सांसद बनेकी शिवमाया पनि नेकपा सांसद हुन् र उनको सांसद पद नेकपामै गणना भइरहेको छ । यस्तो अवस्थामा कानुनची तर्क गरेर महरा तुम्बाहाङफे दुबैजना सभामुख/उपसभामुखको कुर्सीमा गर्वका साथ बसिरहे । उनीहरुको मातृ पार्टी नेकपा पनि कानमा तेल हालेर, सुनेको नसुन्यै गरेर बस्यो ।
जबकि संविधानको धारा ९१ ले सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने स्पष्टसँग, बुझिने गरी लेखेको छ ।

नेकपाले सभामुख/उपसभामुख दुबैमा कब्जा जमाएपछि ०७५ साल जेठ ११ गते सर्वोच्च अदालतमा सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने मागसहित रिट दर्ता भयो । त्यो मुद्दा अहिलेसम्म विचाराधीन छ ।
सर्वोच्चमा मुद्दा परेपछि नेकपाले नैतिकता प्रदर्शन गर्नुको उल्टो बुद्धि लगायो । साउनको पहिलो साता सभामुख कृष्णबहादुर महराले अदालतमा विचाराधीन रहेको विषयमा संसदमा बोल्न नपाइने भन्दै विपक्षी सांसदहरुको मुख बन्द गरिदिए । लाचार प्रतिपक्षको पहिचान बनाएको नेपाली कांग्रेसले त्यसपछि यो मुद्दालाई उठाउन सकेन र संविधानमाथिको बलात्कार ०७६ साल असोज १४ गतेसम्म जारी रह्यो । ०७६ असोज १४ गते सभामुख महरा आफैंले बलात्कारको अभियोगपछि राजीनामा दिएपछि बल्ल संविधानमाथिको बलात्कारले विश्राम पायो ।
अब यहाँ अर्को एउटा प्रश्नमाथि विचरण गरौं–
संविधानले एकै दलबाट सभामुख/उपसभामुख बन्न नदिएको प्रावधानलाई नेकपाले उतिबेलै स्वीकार गरेको भए महराले राजीनामा दिनुपर्थ्यो वा तुम्बाहाङ्फेले ?
त्यसबेला शिवमाया कुनै हालतमा राजीनामा दिन तयार थिइनन् भन्ने एउटा स्वयंसिद्ध प्रमाण छ ।
सभामुख महरा यौनकाण्डमा जाकिनुभन्दा ४ दिन अगाडि काठमाडौंमा देशैभरिका प्रदेशका उपसभामुखहरुको भेला भएको थियो । त्यो भेलामा संघीय उपसभामुख शिवमायाले प्रष्टै संकेत गरेकी थिइन्– ‘संविधानले उप जति महिला बनाऊ भनेको छैन, सभामुख र उपसभामुख फरक लिंगको बनाऊ भनेको हो ।’
शिवमायाले यो पनि भनेकी थिइन्, ‘उप भनेको एकदम चुप लागेर बस्ने पद होइन ।… हामीले उपमा रहेर डेढ बर्ष बितायौं ।… उपले प्रमुखको जिम्मेवारी लिएर काम गर्न सक्छ भन्ने पुष्टि गरेका छौं ।’
अब प्रश्न उठ्छ– के त्यसबेला नेकपाले संविधानको मर्मअनुसार राजीनामा दिन भनेको भए उपसभामुख शिवमायाले पार्टीको निर्णय मान्ने थिइन् ? असोज ९ गतेको भेलामा उनले दिएको अभिव्यक्तिले पछि हट्ने संकेत गर्दैन ।
उसोभए, नेकपाले सभामुख महरालाई मात्र राजीनामा गराएर अर्को दललाई सभामुख दिएको भए के हुन्थ्यो ? यस्तो तर्कलाई प्राकृतिक मान्न सकिन्थ्यो ? यो राजनीतिशास्त्र पढेकाहरुले आफैं जान्ने कुरो हो ।

शिवमायाले अहिले सभामुखको दाबी गरिराखेकी छिन् । उनी यसका लागि योग्य पनि छिन् । सभामुखबाट महरा हटिसकेको अवस्थामा उनको दाबी नाजायज छैन ।
तर, संविधानको धारा ९१ माथि विगत डेढ वर्षसम्म कसले बलात्कार गर्यो ? किन तुम्बाहाङफे वा महरा कसैले पनि उच्च नैतिकता देखाएर संविधानको मर्यादा नगरेको ? संविधान र सिस्टमलाई भन्दा पदलाई किन महत्व दिइँदैछ ? दलीय व्यवस्थामा पार्टीभन्दा व्यक्तिको ईच्छालाई किन सर्वोपरी ठानिँदैछ ? लैंगिक मुद्दा उठाएर संवैधानिक मूल्य र राजनीतिक नैतिकताको हत्या गर्न किन खोजिँदैछ ? यी प्रश्नहरुको जवाफ भावी सभामुखसँग संवैधानिक इतिहासले मागिरहनेछ ।
अन्त्यमा, ५७ औं जन्मदिनको पूर्वसन्ध्यामा क्रान्तिकारी शिवमाया तुम्वाहाङफेको राजनीतिक सफलताका लागि शुभकामना !
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4