News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन राष्ट्रिय निकुञ्जमा सोमबार बेलायती पर्यटकले प्रत्यक्ष बाघ अवलोकन गरेका छन्।
 - निकुञ्ज खुला भएपछि वन्यजन्तुको गतिविधि बढेको र पर्यटकले बाघ देख्न पाएको प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले बताए।
 - पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघ १२८ वटा रहेका छन्।
 
१८ कात्तिक, चितवन। सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले प्रत्यक्ष बाघ अवलोकन गर्ने अवसर पाए । गत साता हल्याण्डका पर्यटकले पनि बाघ देखेपछि उत्साहित हुँदै खुशी व्यक्त गरेका थिए ।
पर्यटक र निकुञ्जका कर्मचारी, सुरक्षाकर्मीले पनि हिजोआज विगतका तुलनामा बढी बाघ देख्न थालेका छन् । लामो समय निकुञ्ज बन्द रहेर जीप सफारी खुलेसँगै वन्यजन्तुको गतिविधि बढेकाले पर्यटकले देख्न पाएका हुन् ।
सौराहस्थित वनबास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपानेका अनुसार दिनभर निकुञ्जको जीप सफारीमा निस्किएका पर्यटकले बाघ देखेर फर्किएपछि खुशी हुँदै प्रतिक्रिया दिने गरेका छन् । दुर्लभ एकसिङ्गे गैंडासहित बाघ देखेपछि पर्यटक निकै रमाउने गर्दछन् ।
सोमबार भिम्ले पोष्ट नजिकै बेलायती जोडीले बाघ देखेपछि खुशी भएर ‘टिप्स’ दिएको पथ प्रदर्शक सरोज चौधरीले बताए। उनले भने, ‘बाघ देखेपछि स्वदेशी र विदेशी दुवै पर्यटक निकै खुशी हुन्छन्।’ ठाउँठाउँमा बाघ देखिन थालेपछि घुम्न आउने पर्यटक उत्साहित हुने गरेको चौधरी बताउँछन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले पर्यटक र कर्मचारीहरुले हिजोआज बाघसहितका वन्यजन्तु धेरै देख्ने गरेको बताए । उनले ढड्डीहरु सुकेर सुख्खापन बढ्दै गएपछि निकुञ्ज खुल्ला हुने र थप वन्यजन्तु देख्न सकिने बताए ।
यसवर्ष यहाँ बाघ गणना गरिँदै छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघ १२८ वटा छन् । आहारा प्रजातिको सङ्ख्या बढ्दै जाँदा बाघको सङ्ख्या पनि बढ्दै गएको छ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4