News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा नयाँ भाले जंगली हात्ती भीमगज देखिन थालेको छ।
- केन्द्र प्रमुख मनपुरन चौधरीले भने- रोनाल्डो ठूलो ज्यान र बलियो भएकाले भीमगज डराइरहेको जस्तो देखिन्छ तर छाडेको छैन।
- भीमगज करिब १७/१८ वर्ष उमेरको अनुमान गरिएको छ र यसले रोनाल्डोलाई टक्कर दिन खोजिरहेको छ।
२५ पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा नयाँ भाले जंगली हात्ती देखिन थालेको छ । सो हात्तीलाई ‘भीमगज’ नाम दिइएको छ ।
हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरका प्रमुख मनपुरन चौधरीका अनुसार यो हात्ती केन्द्र वरपर देखिन थालेको करिब एक साता भएको छ । अर्को भाले हात्ती ‘रोनाल्डो’लाई टक्कर दिने गरी ‘भिमगज’ प्रजनन् केन्द्रमा देखा परेको उनले बताए ।
‘रोनाल्डो पनि विगत एक महिना अगाडिदेखि यहीँ डेरा जमाएर बसेको छ, भीमगज पनि आएको छ, एकले अर्कोलाई धपाउन खोजिरहेका छन्,’ केन्द्र प्रमुख चौधरीले भने, ‘रोनाल्डो ठूलो ज्यान र बलियो भएकाले भिमगज डराइरहेको जस्तो देखिन्छ तर छाडेको छैन ।’
करिब ५३ वर्षीय रोनाल्डोले भीमगजलाई सकभर वरपर आउन रोक्न खोज्ने केन्द्र प्रमुख चौधरीले बताए । ‘आफू बुढो भएकाले धेरै दौडिन त सक्दैन, तर वरपर अरु भाले हात्ती आउँदा रोनाल्डो रिसाउँछ,’ चौधरी भन्छन्, ‘रोनाल्डो २ महिना जति पहिला हराएको थियो, एक महिना जति भयो आएको, रोनाल्डो हराउँदा गोविन्दे आएर एक महिना बस्यो, रोनाल्डो आउने थाहा पाएपछि गोविन्दे हरायो, तर भीमगज भने आइरहेको छ ।’
भीमगज र रोनाल्डो दुवैले कोशीकली पोथी हात्तीसँग शारिरीक सम्पर्क गरेको केन्द्र प्रमुख चौधरीले बताए ।
भीमगज करिब १७/१८ वर्ष जति उमेर भएको अनुमान आफूहरुले गरेको चौधरीले बताए । ‘भीमगजको त उमेर छ, बलियो हुँदै जान्छ, रोनाल्डोलाई सानै उमेरमा टक्कर दिन खोजेको छ, मुर्ख छ’ चौधरी भन्छन्, ‘पछि यसले ध्रुवे, रोनाल्डो र गोविन्देलाई माथ खुवाउन सक्छ ।’
यसकारण नाम राखियो ‘भीमगज’
आफूहरुले अघिल्लो वर्ष नै भीमगजलाई निकुञ्जमा देखेको उनले बताए । त्यतिबेला यसले आफूहरुलाई लेखेटेको र आत्मरक्षाका लागि गोली चलाउनु परेको उनले स्मरण गरे ।
‘१० वटा हात्ती लिएर जंगल जाँदा योसँग भेट भएको थियो । हामी भागेर भीमपुर पोष्टमा आउँदा लखेट्दै आयो । हामीलाई आक्रमण गर्न खोजेपछि आर्मीले गोली चलायो,’ केन्द्र प्रमुख चौधरीले भने, ‘८/१० राउण्ड हवाई फायर गरेपछि भाग्यो ।’
‘त्यतिबेला सो हात्तीले भीमपुर पोष्टमा आक्रमण गरेकाले नाम नै भीमगज राखेको हो, त्यसपछि देखिएको थिएन, यसपटक केन्द्रमा नै आयो,’ चौधरीले भने ।
चितवनको हात्ती प्रजनन् केन्द्रमा अहिले १० वटा हात्ती छन् भने ९ वटा साना–ठूला छावाहरु छन् । यही केन्द्रमा हुर्किएका खगेन्द्रप्रसाद र रुद्रकलीलाई एक महिना अगाडि उपहार स्वपरुप कतार पठाइएको थियो ।
प्रतिक्रिया 4