+
+
Shares

कतार जाने खगेन्द्र र रुद्रकलीको चितवनबाट बिदाइ (तस्वीरहरू)

नेपाल सरकारका तर्फबाट कतारलाई उपहारस्वरूप ६ वर्षको भाले हात्ती खगेन्द्रप्रसाद र ७ वर्षकै पोथी हात्ती रुद्रकली पठाउन लागिएको हो । हात्तीहरूसँगै चितवनका एक जना पशु प्राविधिक, रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ तथा खगेन्द्रप्रसादका माउते पाचुखा थारु पनि कतार जानेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते २१:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले उपहार स्वरुप दुई हात्ती कतार पठाउन सोमबार चितवनबाट भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पठाएको छ।
  • हात्तीहरूलाई भैरहवामा एकदिन राखेर पुस २ गते गौत्तमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार पठाइनेछ।
  • कतारमा हात्तीहरूको रेखदेखका लागि दुई माउते पनि जानेछन् र हात्तीको स्याहारसुसार सिकाएर फर्कनेछन्।

२९ मंसिर, काठमाडौं । सरकारले उपहार स्वरुप कतारलाई प्रदान गर्न लागेको दुई हात्तीलाई सोमबार चितवनबाट भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पठाइएको छ । सोमबार दिउँसो चितवनको रत्ननगरबाट हात्ती लोड गरिएको खोर बोकेर दुईवटा ट्रक भैरहवातर्फ प्रस्थान गरेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार आज भैरहवाका लागि हिँडेका हात्तीलाई भोलि एकदिन त्यहाँ राखेर पर्सि बुधबार अर्थात् पुस २ गते गौत्तमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार पठाइनेछ ।

कतारबाट आउने चार्टर्ड विमानमा खोरसहित हात्तीहरूलाई चढाएर कतार पठाउने कार्यक्रम रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिए ।

हात्तीहरूसँगै चितवनका एक जना पशु प्राविधिक, रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ तथा खगेन्द्रप्रसादका माउते पाचुखा थारु पनि कतार जानेछन् । केही समय हात्तीहरूको रेखदेख गर्नेदेखि त्यहाँका कर्मचारीहरूलाई हात्तीको स्याहारसुसार गर्न सिकाएर मात्रै उनीहरू फर्किने छन् ।

नेपाल सरकारका तर्फबाट कतारलाई उपहारस्वरूप ६ वर्षको भाले हात्ती खगेन्द्रप्रसाद र ७ वर्षकै पोथी हात्ती रुद्रकली पठाउन लागिएको हो ।

२०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने बाचा गरेको थियो ।

‘हात्तीहरू लामो दूरी पार गरेर नयाँ ठाउँमा जाँदा उनीहरूलाई अभ्यस्त हुन चिनजानेको माउते हुँदा राम्रो हुने ठानेर पठाउन लागिएको हो,’ निकुञ्जका प्रमुख डा. पन्तले भने, ‘१ महिनासम्म पनि समय पुगेन वा हात्तीको टेक केयर गर्नसक्ने अवस्था भएन भने थप समय मिलाएर पनि माउतेहरू बस्छन् ।’

यसअघि नै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट विज्ञ टोली कतार पुगेर हात्ती राख्ने स्थान एवं त्यहाँको अवस्थाका बारेमा जानकारी लिएर फर्किएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जले सोमबार एक समारोहको बीच कतार पठाइने हात्तीलाई बिदाइ गरेको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषले निकुञ्ज विभागसँग समन्वय गरेर कतार लैजाने हात्तीका लागि खोर बनाएको थियो । कोषका कर्मचारी तथा प्राविधिकहरूले सरोकारवाला निकायको रोहवरमा करिब तीन महिना लगाएर खोर बनाएको हो ।

२०७६ माघमा खगेन्द्रमली पोस्टमा कोशीकलीबाट जन्मिएको खगेन्द्रप्रसाद हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसरमा हुर्किएको हो। खगेन्द्रमली पोस्टमा जन्मिएकोले उसको नाम पनि खगेन्द्रप्रसाद नै राखिएको हो ।

खगेन्द्रप्रसादकी आमा कोशीकलीलाई प्रशिक्षक हात्तीसमेत भन्ने गरिन्छ । छावाहरूलाई तालिम दिन कोशीकलीलाई प्रयोग गर्ने गरिन्छ । हात्ती प्रजनन तथा तालिम केन्द्रमा घुम्न पुग्ने पर्यटकहरूलाई फूलको माला लगाएर आर्शिवाद दिने काम खगेन्द्रप्रसादले गर्दै आएको थियो ।

हात्ती प्रजनन केन्द्रमा २०७५ सालमा पूजाकलीको कोखबाट जन्मिएकी रुद्रकली जन्मिएको हो । पूजाकलीको रुद्रकली जम्मा ३ महिनाको हुँदा नै मृत्यु भएको थियो । माउको मृत्यु भएपछि रुद्रकलीलाई माउतेहरूले रेखदेख गरेर हुर्काएका थिए । यी दुवै हात्तीको बाबु जंगली हात्ती ‘रोनाल्डो’ रहेको निकुञ्जले पुष्टि गरेको छ ।

२०४४ सालमा भारतले उपहारस्वरूप दिएका १६ हात्तीलाई राखेर सौराहामा हात्ती प्रजनन केन्द्र खोलिएको थियो । भारतले हात्ती दिएपछि नेपालले भारतलाई त्यतिबेला ४ वटा एकसिंगे गैंडा दिएको थियो ।

तस्वीर सौजन्य : गोविन्द प्रसाद पोखरेल/राष्ट्रिय प्रकृति संरक्षण कोष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?