News Summary
Generated by OK AI. Editorially reviewed.- कतार एयरवेजले आठ वर्ष लगानीपछि हङकङको क्याथे प्यासिफिक एयरवेजमा रहेको ९.७ प्रतिशत सेयर बिक्री गर्ने निर्णय गरेको छ।
- कतार एयरवेजले ६ अर्ब ९७ करोड हङकङ डलर बराबरको सेयर क्याथेले प्रतिसेयर १०.८३ डलरमा खरिद गर्ने छ।
- कतार एयरवेज नोभेम्बर २०१७ मा क्याथेमा लगानी गरेको थियो र क्याथेले सेयर फिर्ता लिन ३५ प्रतिशत प्रिमियम थप्ने जनाएको छ।
२० कात्तिक, काठमाडौं । कतार एयरवेजले हङकङको क्याथे प्यासिफिक एयरवेजबाट आफ्नो सबै सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको छ ।
कतार एयरवेज कतारको सरकारी वायुसेवा कम्पन हो भने क्याथे प्यासिफिक हङकङको सरकारी वायुसेवा हो ।
बेलायती समाचार संस्था रोयटर्सका अनुसार कतार एयरवेजले क्याथे प्यासिफिकमा रहेको ६ अर्ब ९७ करोड हङकङ डलर (८९ करोड ७० लाख अमेरिकी डलर) बराबर सेयर बेचेर बाहिरिने निर्णय गरेको हो ।
क्याथेमा लगानी गरेको आठ वर्षपछि कतारले आफ्नो सबै सेयर बेचेर बाहिरिने निर्णय गरेको हो । क्याथेमा कतारको ९.७ प्रतिशत सेयर छ ।
कतारको सेयर क्याथे आफैंले खरिद गर्न लागेको हो । क्याथेले प्रतिसेयर १०.८३ हङकङ डलरका दरले कतारको सबै सेयर खरिद गर्ने छ । यो मूल्य पछिल्लो पटक भएको कारोबार अनुसार हो, जुन ४ प्रतिशत छुट हो ।
कतार एयरवेजले नोभेम्बर २०१७ मा क्याथेको सेयर खरिद गरेको थियो । कतार क्याथेको तेस्रो ठूलो साझेदार हो । क्याथेको पहिलो ठूलो साझेदार स्वायर प्यासिफिक र दोस्रो ठूलो साझेदार चीनको सरकारी वायुसेवा कम्पनी एयर चाइना हो ।
क्याथेले कतारको सेयर फिर्ता लिन सालाखाला ३५ प्रतिशत प्रिमियम थप्ने जनाएको छ । यो रकम आन्तरिक स्रोत र रेटिङ एजेन्सीले दिएको विद्यमान कर्जा सीमामा रहेर जुटाउने जनाएको छ ।
एसियाली वायुसेवामा क्याथे कतारको पहिलो प्रमुख लगानी भएको वायुसेवा कम्पनी हो । कतारको दोहा हबबाट विश्वव्यापी प्रभावसँगै यात्रु चाप बढाउने उद्देश्यसाथ दुवै कम्पनीबीच साझेदारी भएको थियो ।
तर, क्याथे सञ्चालक समितिमा कतार एयरवेजका तफैबाट कुनै पनि सदस्य मनोनीत थिएनन् ।
सन् १९४६ मा स्थापित क्याथे प्यासिफिकसँग हाल १ सय ८० थान जहाज सञ्चालनमा छन् । यसले ८३ गन्तव्यमा उडान गरिरहेको छ ।
त्यस्तै सन् १९९३ मा स्थापित कतार एयरवेजसँग हाल २ सय ३० थान जहाज छन् । ती जहाजबाट उसले १ सय ९८ गन्तव्यमा सेवा दिँदै आएको छ ।
प्रतिक्रिया 4