News Summary
Generated by OK AI. Editorially reviewed.- न्यूयोर्क मेयर चुनावमा जोहरान ममदानी र पूर्व गभर्नर एन्ड्र्यू कूमोबीच प्रतिस्पर्धा भइरहेको छ, जसले ट्रम्पको दोस्रो कार्यकालको जनमत परीक्षण गर्नेछ।
 - ट्रम्पले ममदानीलाई 'कम्युनिस्ट' भन्दै न्युयोर्कलाई दिइँदै आएको संघीय फन्डिङ रोक्ने चेतावनी दिएका छन् र कूमोको समर्थन गरेका छन्।
 - भर्जिनिया र न्यूजर्सीमा गभर्नर चुनावमा डेमोक्रेटहरू अग्रता लिइरहेका छन् र आप्रवासी इलाकामा आईसीईको छापाले ल्याटिन समुदायमा आक्रोश बढाएको छ।
 
१८ कात्तिक, काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः निर्वाचित भएको नोभेम्बर ५ मा एक वर्ष पुग्दैछ। तर, त्यसको एक दिनअघि नोभेम्बर ४ मा (आज) उनका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो परीक्षा (लिटमस टेस्ट) भइरहेको छ ।
आज न्यूयोर्क शहरले आफ्नो नयाँ मेयरको चुनाव सुरु गरेको छ । साथै भर्जिनिया तथा न्यूजर्सी राज्यमा गभर्नर तथा विधानसभा चुनाव हुनेछन्।
वासिङ्गटनदेखि भर्जिनिया र न्यूयोर्कसम्म सबैको नजर यो चुनावमा अडिएको छ। यो चुनावले ट्रम्पको दोस्रो कार्यकाल जनताको अपेक्षामा खरो उत्रिएको छ वा छैन भन्ने निर्धारण गर्नेछ।
रिपब्लिकनहरू यसलाई नीतिगत सुदृढीकरणको प्रमाण मानिरहेका छन्, जबकि डेमोक्रेटहरू यसलाई ‘मिनी जनमत संग्रह भनिरहेका छन्।
को हुन् ममदानी ?
३४ वर्षीय जोहरान ममदानी राजनीतिमा आउनु अघि हिप–हप र्यापर थिए। उनको चर्चित गीत ‘काण्डा‘ युगान्डामा निकै भाइरल भएको थियो, जसमा कम्पालाको जीवन र युवाहरूको संघर्ष चित्रण गरिएको थियो।
ममदानी भन्छन्, ‘सङ्गीतकै माध्यमबाट मैले पहिलोपटक महसुस गरेँ कि समाजमा असमानता र पहिचानको राजनीतिबारे बोल्नुपर्छ।‘
कलेज सकेपछि उनी क्वीन्समा बसाइँ सरे र प्रवासी, भाडामा बस्नेहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनमा सक्रिय भए। सन् २०१७ मा उनले डेमोक्र्याटिक पार्टीमार्फत राजनीतिक यात्रा सुरु गरे।
२०२० मा उनी न्युयोर्क स्टेट असेंबलीमा निर्वाचित भए र २०२२ तथा २०२४ मा निर्विरोध जिते।
आफ्नो कार्यकालमा ममदानीले सर्वसाधारणसँग प्रत्यक्ष सम्बन्ध राख्ने मुद्दा उठाए, जसले उनलाई निकै लोकप्रिय बनायो।
उनले सस्तो र सजिलो आवासलाई सबैको अधिकार बनाउने अभियान चलाए। सार्वजनिक यातायात निःशुल्क गर्न माग गरे। न्यूनतम तलब ३० डलर प्रतिघन्टा पुर्याउने प्रस्ताव राखे।
अहिलेसम्म उनले २० वटा विधेयक समर्थन गरेका छन्, जस मध्ये ३ कानून बनेका छन्।
तीमध्ये एक ‘भाडा नियन्त्रण विधेयक’ मध्यवर्गीय र प्रवासी समुदायमा निकै लोकप्रिय भयो।
प्रतिस्पर्धा ६७ वर्षीय कूमोसँग
न्यूयोर्क मेयरका लागि ममदानीको प्रतिस्पर्धा ६७ वर्षीय पूर्व गभर्नर एन्ड्रयू कूमोसँग छ।
यौन उत्पीडनको आरोपका कारण ४ वर्षअघि राजीनामा दिएका कूमो निर्दलीय उम्मेदवारको रूपमा चुनाव लडिरहेका छन्। उनलाई रिपब्लिकन र सेन्ट्रिस्ट (मध्यमार्गी) हरूको समर्थन छ।
रिपब्लिकन पार्टीका तर्फबाट कर्टिस सिल्वा उम्मेदवार बनेका छन्। तर, ट्रम्पले आफ्नै पार्टीका उम्मेदवारको समर्थन नगरी कुमोको समर्थन गरे र ममदानीलाई भोट नदिन आग्रह गरे। उनले ममदानीलाई ‘कम्युनिस्ट‘ र ‘अनुभवहीन‘ भन्दै आरोप लगाएका छन् ।
कूमोले शहरको सुरक्षा बढाउने र स्थापित राजनीतिक व्यवस्थालाई सम्हाल्ने वाचा गरेका छन्। चुनावी सर्वेक्षणमा कूमोको लोकप्रियता ममदानीभन्दा कम छ।
तर पछिल्ला रिपोर्ट अनुसार ममदानी चुनावमा अग्रता लिइरहेका छन् र जित्ने सम्भावना बढ्दै गएको छ।
फेरि पनि ट्रम्पको धम्की
ट्रम्पले चुनाव सुरु हुँदै गर्दा न्युयोर्क मेयरमा न्युयोर्कका पूर्व गभर्नर एन्ड्र्यू कुमोको उम्मेदवारलाई समर्थन गर्दै न्युयोर्कबासीलाई डेमोक्र्याटिक पार्टीका उम्मेदवार जोहरान ममदानीलाई भोट नदिन आग्रह गरेका छन्।
ट्रम्पले जोहरान ममदानीले चुनाव जिते न्युयोर्कलाई दिइँदै आएको संघीय फन्डिङ रोक्ने चेतावनी दोहोर्याएका हुन् । उनको भनाइमा, ममदानी मेयर बने न्युयोर्कका लागि त्यो ‘संकट र विनाशले भरिएको‘ समय हुनेछ।
ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘यदि कम्युनिस्ट पार्टीका उम्मेदवार ममदानी न्युयोर्क शहरका मेयर बने भने म आफ्नो ‘दोस्रो परिवार’ अर्थात् न्युयोर्कका लागि दिइँदै आएको आर्थिक सहयोग तुरुन्तै बन्द गर्नेछु। कम्युनिस्टको नेतृत्वमा न्युयोर्कको विकास सम्भव छैन, बरू अवस्था अझै बिग्रनेछ।‘
उनले थपेका छन्, ‘राष्ट्रपति हैसियतमा म पैसाको दुरुपयोग गर्न चाहन्न, त्यसैले यस्तो अवस्थामा फन्डिङ रोक्नु नै जिम्मेवार निर्णय हुनेछ। देश चलाउने जिम्मा मेरो हो र ममदानीको नेतृत्वमा न्युयोर्क आर्थिक र सामाजिक रूपमा पूर्णरूपमा ध्वस्त हुनेछ।‘
ट्रम्पले लेखेका छन्, ‘पूर्व गभर्नर एन्ड्र्यू कुमोसँग मेरो सम्बन्ध विगतमा तनावपूर्ण रह्यो, तर अहिले म न्युयोर्कबासीलाई उनलाई समर्थन गर्न आग्रह गर्छु।‘
आक्रामक ममदानी
चुनावअघि ममदानीले ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध पनि आक्रामक अभिव्यक्ति दिइरहेका छन् ।
२७ मे २०२५ मा उनले भने, ‘हामीले मोदीलाई पनि त्यस्तै नजरले हेर्नुपर्छ, जसरी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई हेर्छौं। उनी गुजरात २००२ का दंगामा मुस्लिमविरुद्ध भएको हिंसाका जिम्मेवार थिए।‘
उनी अमेरिकाले इजरायललाई सैन्य सहयोग तुरुन्तै रोक्नुपर्ने धारणा राख्दै आएका छन् । उनका यस्ता अभिव्यक्तिहरू चर्चा र विवादको केन्द्र बन्दै आएका छन् ।
कसरी हुन्छ चुनाव ? सर्वेक्षणले के भन्छ ?
न्यूयोर्क मेयरको प्रतिस्पर्धामा ममदानी (३४) एउटा बलियो प्रत्यासी बनेर उदाएका छन्। उनी न्यूयोर्क राज्य सभाका सदस्य पनि हुन्। जोहरान युगाण्डाका लेखक महमुद ममदानी र फिल्म निर्माता मीरा नायरका छोरा हुन्।
उनी डेमोक्रेटिक सोसलिस्ट हुन् र प्रगतिशील मतदाता, युवा, अफ्रिकी-अमेरिकी र ल्याटिन समुदायको बलियो समर्थनमा छन्।
न्युयोर्कका वर्तमान मेयर एरिक एडम्स (डेमोक्र्याटिक) ले पुनः उम्मेदवारी नदिने घोषणा गरेपछि डेमोक्र्याटिक पार्टीले ममदानीलाई मेयर उम्मेदवार बनाएको हो ।
उनले चुनाव प्रचारमा शहरको बढ्दो बसोबास खर्चलाई मात्र मुद्दा बनाएका छैनन्, साथै धनीहरूमाथि कर लगाएर गरीब वर्गका लागि आवास योजनाहरू दिने वाचा समेत गरेका छन्।
सर्वेक्षणमा ममदानी १४ प्रतिशतको ठूलो अन्तरले अगाडि छन्।
न्युयोर्क सिटीमा र्याङ्क च्वाइस भोटिङ प्रणाली लागू छ। यसमा मतदाताले उम्मेदवारहरूलाई प्राथमिकताको क्रममा १, २, ३ भनेर क्रमबद्ध गर्न सक्छ।
यदि कुनै उम्मेदवारले पहिलो प्राथमिकतामा ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके सबैभन्दा कम मत पाउने उम्मेदवार बाहिरिन्छ, र उसका मत दोस्रो प्राथमिकताका आधारमा बाँडिन्छन्।
यो प्रक्रिया तबसम्म चल्छ जबसम्म कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउँदैन।
मतदानको १–२ दिनपछि प्रारम्भिक नतिजा आउँछ, तर अन्तिम परिणाम आउन झन्डै एक हप्ता लाग्छ, किनकि मेल–इन र अनुपस्थित मतपत्रहरूको गणना पछि हुन्छ।
यदि ममदानीले जिते उनी न्युयोर्कका गत १०० वर्षमा सबैभन्दा कान्छा र पहिलो मुस्लिम मेयर हुनेछन्।
सर्वेक्षण अनुसार पूर्व गभर्नर एन्ड्र्यू कुमो ममदानीभन्दा निकै पछाडि छन् र रिपब्लिकन कर्टिस सिल्भाको जित्ने सम्भावना पनि अत्यन्तै न्यून छ।
न्युयोर्क सिटीलाई अमेरिकाको मुटु मानिन्छ। यहाँ मेयर बन्ने कुरा केवल शहर प्रमुख बन्नु मात्र होइन, अमेरिकाको अत्यन्त प्रभावशाली राजनीतिक पदमा पुग्नु हो।
यहाँको वार्षिक जीडीपी नै करिब २.३ ट्रिलियन डलर छ । मेयरको हातमा प्रशासन, प्रहरी, यातायात, आवास, शिक्षा र स्वास्थ्य प्रणालीको नियन्त्रण हुन्छ।
भर्जिनिया र न्यूजर्सीको गभर्नर चुनावमा डेमोक्रेटहरू अगाडि
न्यूयोर्क मेयरसँगै दुई डेमोक्रेटिक राज्य भर्जिनिया र न्यूजर्सी मा गभर्नरको पनि चुनाव हुँदैछ।
भर्जिनियामा डेमोक्रेट अबीगेल स्पैंबरगर रिपब्लिकन विन्सम सीयर्सभन्दा ७ प्वाइन्टले अगाडि छन्।
सरकारी कामकाज बन्द (सटडाउन) को असर यहाँ ठूलो मुद्दा बनेको छ।
न्यूजर्सीमा डेमोक्रेट मिक्की शेरिल रिपब्लिकन ज्याक सियाटरेलीभन्दा ३ प्वाइन्टको अग्रतामा छन्।
सियाटरेलीले जब आफूलाई ‘ट्रम्प अफ ट्रेन्टन‘ भनेसँगै शेरिलले त्यसको जवाफमा ट्रम्पका नीतिहरू, जस्तै ट्यारिफ र सटडाउनलाई नै मुख्य चुनावी मुद्दा बनाइन्।
यहाँ ट्रम्पको रणनीति प्रत्युत्पादक बनेको छ । मतदानका बीच आप्रवासी इलाकामा आईसीईको छापाले आक्रोश बढेको छ ।
न्यूजर्सी-भर्जिनियामा आईसीई (आप्रवासन) को कारबाहीमा आएको तीव्रताले आप्रवासी ल्याटिन समुदायमा आक्रोश बढाएको हो ।
फेडरल एजेन्टहरूको उपस्थिति र छापामार गर्ने कामले स्थानीय मानिसहरूलाई भोट हाल्नबाट रोक्ने प्रयास गरेको आरोप छ।
डेमोक्रेटहरूले यसलाई ल्याटिन मतदाताहरूको सहभागितालाई दबाउने षड्यन्त्र भनेका छन् ।
जानकारहरूका अनुसार दुवै राज्यमा कयौं ठाउँमा यो तनाव ट्रम्पको धम्क्याउने प्रयासको विरुद्धको भोटमा परिणत भइरहेको छ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4