News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले तत्कालीन किस्ट बैंकका सीईओ कमल ज्ञवालीलाई सात वर्ष कैद सजाय पूरा गरी थुनामुक्त गर्न आदेश दिएको छ।
 - ज्ञवालीलाई जम्को प्रकाशन प्रालिका नाममा कर्जा प्रवाह क्रममा बैंकिङ कसुर गरेको आरोपमा उच्च अदालत पाटनले चार वर्ष कैद सजाय सुनाएको थियो।
 - सिद्धार्थ विकास बैंकले जम्को प्रकाशनलाई १३ करोड रुपैयाँ कर्जा दिएकोमा कर्जा दुरुपयोग भएको राष्ट्र बैंकको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
 
१७ कात्तिक, काठमाडौं । तत्कालीन किस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल ज्ञवाली करिब सात वर्ष कैद सजाय पूरा गरी थुनामुक्त हुने भएका छन् । सर्वोच्च अदालतले ज्ञवालीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
न्यायाधीशहरू हरि फुयाँल र अब्दुलअजिज मुसलमानको इजलासले ज्ञवालीलाई कैदमुक्त गर्न आदेश दिएको हो । यसअघि नै कैद भुक्तान गरिसके पनि ज्ञवालीले जरिबाना बापतको रकम नबुझाउँदा उनको जेल बसाइ लम्बिएको थियो ।
जम्को प्रकाशन प्रालिका नाममा कर्जा प्रवाह क्रममा बैंकिङ कसुर गरेको अभियोगमा उच्च अदालत पाटनले ४ असोज २०७३ मा ज्ञवालीका साथै उनकी श्रीमती गौरी खनाल (ज्ञवाली), किश्वर ढकाललाई मुख्य कसुरदार ठहर गरी ४ वर्ष कैद सजाय सुनाएको थियो । कमल र गौरीलाई ६ करोड २५ लाख रुपैयाँका दरले बिगो र जरिबाना सजाय समेत सुनाएको थियो ।
किश्वर ढकाललाई ५० लाख रुपैयाँ जरिबाना गर्यो । कोमलानन्द अधिकारीलाई ४ वर्ष कैद र ५ करोड ७३ लाख रुपैयाँ जरिबानाको फैसला गर्यो । तर, पतिको प्रभाव र पारिवारिक अवस्था विचार गर्नुपर्ने भन्दै कमलकी पत्नी गौरीलाई भने ३ वर्ष मात्रै कैद फैसला गरेको थियो ।
उक्त बैकिङ कसुर मुद्दामा जोडिएका थप ५ जनालाई २ वर्ष कैद सजाय भएको थियो । जम्को प्रकाशन जोडिएको अर्को बैंकिङ कसुरको मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनले १३ जेठ २०७३ मा कमल ज्ञवालीलाई ४ वर्ष कैद र ४ करोड २६ लाख रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो । दुवै मुद्दाको बिगो १० करोड ५१ लाख पुग्छ भने अदालतले त्यति नै जरिबाना तोकेको थियो ।
सिद्धार्थ विकास बैंकले जम्को प्रकाशनलाई १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । किस्ट बैंकका तत्कालीन सीईओ ज्ञवालीकी पत्नी गौरीको काठमाडौं रविभवनको दुई कित्ता जग्गा उक्त कर्जाको धितोका रूपमा राखिएको थियो ।
बैंकले गरेको मूल्यांकनमा करिब ६ करोड रुपैयाँ मात्रै रहेको जग्गालाई झन्डै दोब्बरभन्दा बढी कर्जा प्रवाह भएको थियो । कर्जा लिन परियोजना देखाउने क्रममा गौरीले उक्त जग्गा जम्को प्रकाशनको नाममा नामसारी गरेकी थिइन् ।
कर्जा दुरुपयोग भएको उजुरीसँगै छानबिन चलेपछि उक्त रकम आफूले उपयोग नगरेको भनी जम्को सञ्चालक किशोर ढकालले ऋण लिने सिद्धार्थ विकास बैंकमा निवेदन दिएका थिए ।
छानबिन हुँदा उक्त रकम सिद्धार्थ विकास बैंकको नारायणगढ शाखामार्फत ट्रान्सफर भई दुरुपयोग गरेको राष्ट्र बैंकको सुपरिवेक्षण विभागले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
केन्द्रीय कार्यालयको कर्जालाई नारायणगढ शाखामार्फत भुक्तानी गरेर प्राइम बैंकको न्युरोड शाखाबाट रकम ट्रान्सफर भएको थियो । छानबिन हुँदा उक्त कर्जाको साँवा १३ करोडमा ३ करोड ब्याज थपिएर १६ करोड ऋण पुगेको थियो ।
किस्ट बैंकले पनि ३२ असार २०६७ मा १२ करोड रुपैयाँ जम्को प्रकाशनका नाममा कर्जा प्रवाह गरेको थियो । त्यही दिन ३१ व्यक्तिका नाममा १२ करोड रुपैयाँको चेक काटेर बाँडेको भेटियो । उक्त कर्जाको धितोका रूपमा ५१ लाख ६५ हजार मूल्यांकन भएको १ रोपनी ५ आना जग्गा राखिएको थियो ।
राष्ट्र बैंकको दाबी अनुसार जम्को प्रकाशन नामको साधारण प्रेसलाई बैंकिङ प्रणालीबाट २५ करोडभन्दा बढी रकम दिएर कर्जा दुरुपयोग भएको थियो ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4