News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले सल्यानमा विनाशकारी असिना र वर्षाले कृषकलाई गम्भीर आघात पुर्याएको बताएका छन्।
- उनले बाढीले सयौं रोपनी खेत, फलफूलबाली नष्ट भएको र ग्रामीण संरचना क्षतविक्षत भएको जानकारी दिएका छन्।
- सांसद मल्लले तीन तहका सरकारलाई राहत, क्षतिपूर्ति र कृषि विमा प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका छन्।
२९ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले किसानहरू बँदेल–बाँदरको अतिक्रमण र अतिवृष्टि–अनावृष्टिको मारमा परिरहेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सल्यानमा लगातार तीनपटकको विनाशकारी असिना र वर्षासहितको जलवायुजन्य प्रकोपले व्यवसायीक कृषितर्फ आकर्षित हुँदै गएको जनतालाई गम्भीर आघात पुर्याएको बताए ।
उनका अनुसार गत शनिबार बागचौर नगरपालिका, छत्रेश्वरी र कपुरकोट गाउपालिका लगायतका क्षेत्रमा असिनापानी परेको थियो । त्यसपछि शारदा नदीमा आएको बाढीले सयौं रोपनी खेत पुरिएको, पाकेको गहुँ, तरकारी तथा सुन्तला, आँप, लिची, ओखर, टिमुर, किवी, स्याउलगायत फलफूलबाली नष्ट भएको उनले सुनाए ।
उनका अनुसार ग्रामीण सडक, सिँचाइ कुलो, खानेपानी योजना र तटबन्ध संरचना क्षतविक्षत हुँदा जनजीवन नै कष्टकर बनेको छ ।
तत्कालका लागि तीनै तहका सरकारको समन्वयमा पीडित किसान र क्षतिग्रस्त संरचनाको यथार्थ लगत संकलन गरी राहत, क्षतिपूर्ति तथा पुन:स्थापनाको व्यवस्था गर्न तथा कृषि विमा कार्यक्रमलाई प्रभावकारी बनाउन उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गरे ।
‘एकातिर बँदेल, बादरलगायत जंगली जनावरको अतिक्रमण, अर्कोतिर अतिवृष्टि र अनावृष्टिको मारले किसानमा आशा हराउँदै गएको छ’ उनले भनेका छन्, ‘यसमा सरकार बेखबरझैँ बन्नुले राज्यप्रतिको भरोसा समेत कमजोर बनेको छ । सरकार अभिभावक बनोस र पीडितको घाउमा मल्हम लगाओस् ।’
प्रतिक्रिया 4