+
+
Shares

नेकपा सल्यानले गर्‍यो रमेश मल्लसहित ५ जनाको सिफारिस

यसअघि पटकपटक सांसद बनेका प्रकाश ज्वाला र टेकबहादुर बस्नेतकाे नाम पनि समावेश

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते १६:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिष्ट पार्टी सल्यानले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५ जना उम्मेदवारको नाम सिफारिस गरेको छ।
  • प्रकाश ज्वाला र टेकबहादुर बस्नेतले अभिभावकीय भूमिका निर्वाह गर्न मल्लले सामाजिक सञ्जालमार्फत् आग्रह गरेका छन्।
  • प्रत्यक्षतर्फ सिफारिस भएका उम्मेदवारमध्ये प्रकाश ज्वाला र टेकबहादुर बस्नेतले पहिला पनि संसद सदस्य पदमा निर्वाचित भइसकेका छन्।

सल्यान । नेपाली कम्युनिष्ट पार्टी सल्यानले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५ जना उम्मेदवारको नाम सिफारिस गरेको छ।

बिहीबार र शुक्रबार बसेको जिल्ला समितिको बैठकले रमेश मल्ल, टेकबहादुर बस्नेत, प्रकाश ज्वाला, धनबहादुर परियार र सिता विष्ट बस्नेतको नाम सिफारिस गरेको हो।

समानुपातिकतर्फ उमाकान्त शर्मा, प्रमोदकुमार श्रेष्ठ र प्रेमा अधिकारीलाई सिफारिस गरेको छ भने राष्ट्रिय सभातर्फ रत्नबहादुर वलीलाई सिफारिस गरेको छ।

प्रत्यक्षतर्फ सिफारिस भएका प्रकाश ज्वाला सल्यानबाट २०७९ मा प्रतिनिधिसभा सदस्य, २०७४ मा कर्णाली प्रदेश सभा सदस्य, २०७० मा संविधानसभा सदस्य, २०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका व्यक्ति हुन्।

०५१ सालदेखि निरन्तर चुनाव लड्दै आएका ज्वाला ०५१ र ०६४ सालको निर्वाचनमा भने पराजित भएका थिए।

टेकबहादुर बस्नेत २०७४ मा प्रतिनिधिसभा सदस्य, २०६४ र २०७० मा संविधानसभा सदस्य तथा २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद्को सदस्य भइसकेका हुन्।

मल्ल, परियार र विष्ट भने अहिलेसम्म कुनै पनि निर्वाचनमा सहभागी भएका छैनन्।

हाल नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रहेका मल्ल लामो समय विद्यार्थी राजनीति गरेका युवा नेता हुन्। उनी तत्कालीन माओवादीनिकट अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष रहनुका साथै पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा स्वकीय सचिवको जिम्मेवारी निर्वाह गरेका थिए।

यसैबीच, मल्लले प्रकाश ज्वाला र टेकबहादुर बस्नेतलाई अभिभावकीय भूमिका रहन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले वर्तमान परिवेश, युवाको भावना र नेतृत्व निर्माणको आवश्यकतालाई ध्यानमा राखी अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?