Comments Add Comment

तासले सपारेको जीवन !

पहिले खान-लाउन धौधौ, अहिले करोडौंका मालिक

२९ पुस, चितवन । तासले धेरै मानिसको जीवन बिगारेको होला, तर कृष्ण भट्टको भने उकासेको छ । उनले तास खेलेका होइनन् नि त, खुवाएका हुन् । हो, हामी खाने तासको कुरा गर्दैछौं ।

चितवनको नारायणगढ बजारमा तास खुवाउनेे पसलहरु बग्रेल्ति छन् । देशका विभिन्न भागबाट काम विशेषले नारायणगढ पुग्नेहरु यहाँको तास चाख्न छुटाउँदैनन् ।

बजारको सबैभन्दा पुरानो तास रेष्टुरेन्ट ‘भेटघाट’ बाट करिब ५० मिटरपूर्व छ, ‘जमघट’ । १४ वर्षअघि खोलिएको जमघटमा रम्दै गएका छन्, सञ्चालक कृष्ण भट्ट ।

यसअघि भेटघाटमा उनले कामदारका रुपमा १० वर्ष बिताए । त्यही नै सिप सिके । खारिए । अनि, छुट्टएिर आफ्नै व्यवसाय थाले । अहिले भेटघाटलाई नै उनले चुनौती दिइरहेका छन् ।

कृष्णले तासबाट नै ठूलो प्रगति गरेका छन् । निम्नवर्गीय परिवारबाट उठेर उनी करोडौंका मालिक बनेका छन् ।

जमघट खोलेको १० वर्षपछि उनले भरतपुरको केन्द्रीय बस टर्मिनल नजिक यसको पहिलो ‘आउटलेट’ खोले । त्यो पनि नारायणगढको उत्तिकै चलेको छ । तास पारखीहरुलाई तास खान नारायणगढ बजार झर्नुपर्ने बाध्यता हटेको छ ।
कृष्ण भन्छन्, ‘मैले आँटे, भगवानले साथ दिनुभयो । मेरो विगतको दुःख र हैरानीलाई भगवानले बुझिदिनुभयो ।’

भेटघाटदेखि जमघटसम्म

नवलपुरको दलदले स्थायी घर भएका कृष्ण विपन्न परिवारमा जन्मिए । बुवा-खेती किसानी गर्दथेँ । त्यसले खान-लाउन पनि धौं धाैं हुन्थ्यो ।

घरमा आमा निरन्तर बिरामी परेकोले उनले पढ्न सकेनन् । आमाको स्याहारसुसारमा नै बाल्यकाल वित्यो उनको । एकातिर उनको विद्यालय छुट्यो भने अर्कोतिर परिवार झन् तन्नम भयो ।

उनका मामा नारायणगढको भेटघाट रेष्टुरेन्टमा काम गर्थे । कृष्णले काम खोजिरहेका बेला मामाले भेटघाटका सञ्चालक गोविन्द तिवारीलाई भनेर भाँडा माँझ्ने, टेवल सफा गर्ने काम लगाइदिए । तलव थियो मासिक पाँच सय । खान-बस्ने सुविधा । ग्राहकले खुसी भएर दिने टिप्सले भरथेग हुन्थ्यो । महिनामा त्यस्तैं १५/१६ सय कमाउँथे ।

होटल सञ्चालक तिवारी पनि कृष्णको जिज्ञासु स्वभाव र काममा फूर्ति देखेर प्रभावित थिए । कृष्ण भन्छन्, ‘मैले भेटघाटमा नगरेको कुनै काम छैन । भाडा माँझ्ने, टेबल पुछ्ने, तास फिट्नेसम्मका काम गरेँ। एक्लै १७ वटासम्म टेवलमा सर्भिस दिन्थेँ ।’

ग्राहकहरू पनि उनीसँग प्रभावित थिए । केही ग्राहकले उनलाई आफ्नै होटल खोल्न हौसाउँथे । कसैले बिनालगानी शेयर दिने आश्वासन पनि दिन्थे । तर, उनी गएनन् ।

कृष्ण साहुसँग अगि्रम तलब माग्थे । त्यसलाई गाउँमा लगेर ब्याजमा लगाउँथे । यसरी जम्मा गरेको पैसाले उनले भरतपुरको कृष्णपुरमा १ लाख २५ हजार खर्चेर ६ धुर जग्गा किने ।

भेटघाटमा काम गरेको १० वर्षपछि उनलाई लाग्न थाल्यो सधैं अरुकोमा कति काम गर्ने ?

जानेको सिपमा आफैंले लगानी किन नगर्ने

भेटघाट नजिकै एउटा नचलेको तर किनबेच भैरहेको होटल भेट्टाए । होटलवालाले ३ लाख २५ हजार मागे । तर, उनीसँग त्यति पैसा थिएन । कृष्णपुरको ६ धुर जग्गा १ लाख ८८ हजारमा बेचे । बाँकी पैसा पछि दिने भन्दैं उनले होटल लिए र खोले ‘जमघट’ ।

जीर्ण र पुरानो होटलमा जम्मा ६ वटा टेबल राखे उनले । आफैंले तास मोलेे । आफैंले सर्भिस दिए । श्रीमतीलाई काउन्टरमा राखे ।

पुराना दिन सम्झदैं कृष्ण भन्छन्, ‘पसल बल्लतल्ल तंगि्रँदै थियो, त्यति नै बेला १९ दिने जनआन्दोलन सुरु भयो । पसल धेरै दिन बन्द गर्नुपर्ने अवस्था आयो ।’

तर, पनि कृष्ण आत्तिएनन् । जनआन्दोलन सकिएपछि विस्तारै होटलले पिकअप लियो । आत्मविश्वास पनि बढ्दै गयो । त्यसपछि उनले पछाडि फर्किएर हेर्नु परेको छैन ।

तासले उकासेको जीवन

तास बेचेर जमघटमा जमेका कृष्णसँग आज करोडौंको सम्पत्ति छ । होटलको आम्दानीबाट उनले क्षेत्रपुरमा २०६७ सालमा अढाई तलाको ७ धुरमा बनेको घर ३५ लाखमा किने । चितवनमा त्यतिबेलै जग्गाको भाउ उर्लिन थाल्यो । जग्गाको सानोतिनो कारोबार पनि गरेर थप पैंसा कमाए ।

२०७२ चैत्र ७ गते उनले भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा जमघटको ‘आउटलेट’ खोले ।

नारायणगढ र भरतपुरमा गरेर उनले १७ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । एकपटकमा १५० भन्दा बढिलाई सेवा दिन सकिने क्षमता दुई होटलको छ । उनले हालै मात्र नारायणगढको जमघटमा थप लगानी गरेर ‘इन्टेरियर डेकोरेसन’ गरे ।

सुरुमा ५५ रुपैयाँ प्रतिप्लेट पर्ने तासको मूल्य अहिले तीन सय पुगेको छ । तासको मूल्य बढे पनि महंगीले नाफा घटेको उनी बताउँछन् ।

‘हरेक चिज महंगो छ, तासका लागि प्रयोग हुने लसुन, मसला, मासु, तरकारीको भाउ बढेको छ’ उनी भन्छन् ‘निम्न आय भएका मानिसहरुले चाहेर पनि तास खान सक्ने अवस्था छैन, यसमा दुःख लाग्छ ।’

४ करोडको होटल निर्माणाधीन

कृष्ण यतिमै रोकिएका छैनन् । उनले भरतपुरको आउटलेट नजिकै जिल्ला प्रशासन कार्यालय चितवनको छेउमा ‘होटल जमघट’ बनाइरहेका छन् । १४ धुर जग्गामा ४ करोडको लगानीमा होटल तयार हुँदैछ । अबको दुई महिनामा होटल फिनिसिङ भएर सञ्चालनमा ल्याउने योजना उनको छ ।

बन्दै गरेको होटल नजिक अधिकांश सरकारी कार्यालयहरु छन् । सरकारी कार्यालयमा आउने पाहुनालाई लक्षित गरी २० कोठाको सुविधासम्पन्न होटल तयार गरिएको कृष्णले बताए ।

उनको लगानी भरतपुर महानगरपालिका वडा नं. ४ मा बन्दै गरेको होटल ग्यालेक्सी एण्ड रिसोर्टमा समेत छ । यो रिसोर्ट पनि निर्माणको चरणमा छ ।

विगतमा मासिक ५ सय रुपैयाँमा काम गरेको दिन सम्झिँदा उनलाई सपना जस्तै लाग्छ । कृष्ण भन्छन्, ‘नपढेको हुनाले जागिर खाने सोच कहिल्यै आएन । व्यापार र व्यवसायबाट नै राम्रो गर्न सकिने रहेछ । कहिल्यै यो ठाउँमा पुगिएला भन्ने लागेकै थिएन ।’

छिट्टै नै नवलपुरको कावासोती र पूर्वी चितवनको पर्सामा आउटलेट खोल्ने उनको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment