Comments Add Comment

अस्ट्रेलियामा नेपाली थारुका तीन दशक : बिर्सिएका छैनन् संस्कृति

बुधबार सिड्नीमा माघी मनाइँदै

सिड्नी । अस्ट्रेलियामा बुधबार माघी पर्व मनाइँदैछ । माघीको अवसरमा यहाँको नेपाली थारु समुदायले डढेलो निभाउन खटेका फायर फाइटरहरुलाई सहयोग गर्ने लक्ष्य राखेको थारू सोसाइटी, सिड्नी अस्ट्रेलियाका अध्यक्ष दीपनारायण चौधरीले बताए ।

माघी पर्व आयोजना गरिने स्थानमा आफ्नो समुदायबाट फायर फाइटरला सहयोग संकलन पनि गरिने उनले बताए । ‘हामी हाम्रो सांस्कृतिक पर्वलाई कर्म क्षेत्रले अहिले व्यहोरिरहेको दु:खसँग जोड्न सहयोग रकम जुटाउँदै छौं,’ उनले भने ।

सोसाइटीका पब्लिक अफिसर अरुण आर्यण चौधरीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार अस्ट्रेलियामा भएको नेपाली थारु समुदायले माघी पर्व सिड्नीमा दोस्रो पटक विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाउन थालेको हो ।

जनवरी १५ तारिख बुधबारको दिन (माघ १ गते ) स्थानीय टेम्पेपार्कमा हुन गइरहेको माघी पर्वमा थारू संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम र थारू परिकारहरु समेत राखिने चौधरीले जानकारी दिएका छन् ।

गत वर्ष आयोजित ऐतिहासिक पहिलो माघी मेला भब्यताका साथ सफल भएको थियो ।

थारू समुदायका विभिन्न धार्मिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक मूल्य मान्यताहरू जोडिएको माघी पर्वको महत्त्वलाई विदेशी भूमिमा पनि सुरक्षित राख्न हेतुले अस्ट्रेलियामा पनि माघी महोत्सव मनाउन लागिएको पब्लिक अफिसर चौधरीले बताए ।

नेपालमा पुस महिनाको अन्तिम दिन र माघ महिनाको पहिलो दिनलाई विशेष गरी मनाइने यो पर्व नेपालका थारू समुदायको प्रमुख चाड र थारु नयाँ वर्ष २६४३ को सुरुआत पनि हो ।

दुई वर्षअघि २४ औं विश्व आदिवासी दिवसको अवसर पारेर ९ अगस्ट २०१८ मा दीपनारायण चौधरीको अध्यक्षतामा थारू सोसाइटी सिड्नी अष्ट्रेलिया गठन भएको हो ।

अस्ट्रेलियामा नेपाली थारु

अस्ट्रेलियामा नेपालको थारु समुदायका झन्डै पाँच सय परिवार बसोबास गर्छन् । यो समुदायले आफ्नो संस्कृति , भेषभुषा र खानपिनलाई अस्ट्रेलियामा पनि संरक्षण गर्ने प्रयास गरेको छ ।

अस्ट्रेलियामा विगत २७ वर्षदेखि नेपाली थारुहरु बसोबास गर्छन् । नेपालबाट अस्ट्रेलिया आउने उक्त समुदायको पहिलो व्यक्ति भने चितवन भण्डाराका रामेश्वर चौधरी हुन् । उनी १९९३ अक्टोबर २५ मा अस्ट्रेलिया आइपुगेका थिए । उनी १९९७ मा अस्ट्रेलियाको स्थायी बासिन्दा बने ।

हाल न्यू साउथ वेल्सको ब्ल्याकटाउनमा श्रीमती ज्योप्सना र तीन सन्तानसहित बसोबास गर्ने रामेश्वर चौधरीले अनलाइनखबरसँग कुरा गर्दै भने – प्रवासिने प्रत्येक नेपालीले जस्तै मेरो संघर्ष पनि जारी छ ।

उनले आफू स्थायी बासिन्दा भएपछि आफ्ना भाइहरु र आफन्तहरुलाई सहयोग गर्न थालेको बताए । ‘अहिले मेरा भाइहरु र आफन्तहरु अस्ट्रेलिया र युरोपमा छन्, सबै मिलेर नेपालमा दु:ख पर्नेहरुलाई सहयोग गर्छौं,’ उनले भने ।

रामेश्वरकाे परिवार ।

१९९८ मा बिहे गरेका रामेश्वरकी श्रीमती १९९९ मा अस्ट्रेलिया आइन् । २००४ मा यो जोडिकी पहिलो छोरी जेशिका जन्मिन् ।

सम्भवत अस्ट्रेलियन नेपाली थारु समुदायमा अस्ट्रेलियामै जन्मिएको पहिलो बच्चा जेशिका हुन् । त्यसपछि अर्की छोरी भरोशा र छोरा राजदीप जन्मे ।

उनको अनुभवमा झन्डै एक शसकपछि मात्रै अस्ट्रेलियामा उनले नेपाली थारु समुदायका मानिसहरु भेट्न थालेका थिए ।

१९९८मा थाइल्याण्ड हुँदै अस्ट्रेलिया आएका सुनसरीका दुर्गानन्द चौधरीको अनुभवमा सिड्नीमा उनी आएको समयमा नेपाली भेट्न पनि मुस्किल थियो । भन्छन – ट्रेनमा नेपाली भाषा सुन्दा बित्तिकै परिचय गर्न मन लाग्थ्यो ।

हाल थारु सोसाइटी अस्ट्रेलियाको नेतृत्व गरेका दीपनारायण चौधरी पहिलो पटक १९९६ मा अस्ट्रेलिया आएका थिए ।

नेपालको प्राविधिक तालिम केन्द्रबाट यहाँको प्राविधिक तालिम दिने सस्था टेफ़को एडिलेड शाखामा छ महिने तालिममा आएका थिए ।

तालिम सकेर उनी नेपाल गए र विभिन्न सरकारी संस्थाहरुमा सिप परिक्षण अधिकृत भएर काम गरे । उनी २००८ देखि अस्ट्रेलियामा स्थायी बसोबास गर्छन् ।

उनका अनुसार उनको घरमा अहिले सपरिवार थारु भाषा बोलिन्छ । प्रवासिए पनि आफ्नो मातृभाषा, संस्कृति, भेषभुषा र खानपिन भने संरक्षण गरिएको उनको दाबी छ ।

बहुसांस्कृतिक समाजलाई प्रोत्साहन गर्ने अस्ट्रेलियाको पनि नीति रहेको छ । बुधबार नेपाली थारुहरुको चाड माघीका अवसरमा अस्ट्रेलियाका सबै नेपाली समुदायका मानिसलाई पनि निमन्त्रणा गरिएको छ ।

अस्ट्रेलियामा पाँच सयको हाराहारिमा नेपाली थारुहरु भएता पनि करिब एक सय जना मात्रै स्थायी बासिन्दा छन् । बाँकी विद्यार्थी वा अस्थायी बासिन्दा छन् । अस्ट्रेलियामा उनीहरुको संघर्षको लामो समय बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment