
तास्मानिया । अस्ट्रेलियाको तास्मनिया राज्यका प्रिमियर विल हग्म्यानले आफ्नो १८ वर्षे राजनीतिबाट अवकास लिने बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले अब आफूले स्वेच्छिक राजीनामा दिएको घोषणा गरे ।
आफ्नो कार्यकाल अझै दुई वर्ष बाँकी छदै उनले मंगलबार राजीनामा दिएका हुन् । अस्ट्रेलियन लिबरल पार्टीका नेता विल हग्म्यानले आफूलाई परिवारसँग समय बिताउन मन लागेकाले राजीनामा दिन चाहेको बताएका छन् ।
उनले तास्मानियालाई अब नयाँ नेतृत्वको खाँचो पनि भएकाले आफूले दोश्रो कार्यकालको दुई वर्ष बाँकी छदै राजीनामा दिएको बताएका छन् ।
उनी तास्मानियामा नयाँ जनसंख्या रणनीति निर्माता तथा व्यवसायका सहयोगी मानिन्थे । तास्मानियामा लामो समय स्थायी बसोबास गरिरहेका नेपाली अनिल श्रेष्ठका अनुसार उनको टिमले तास्मानियामा भएको नेपाली समाज तथा व्यवसायसँग सहकार्य गरिरहेको थियो ।
तास्मानियामा प्रतिपक्षी लेबर र ग्रीन पार्टीका नेताहरुले पनि उनी तास्मानियाको राजनीतिका असल व्यक्ति भएको बताएका छन् ।
२००२ बाट आफ्नो राजनीतिक जीवन सुरु गरेका उनले २०१४ मा अस्ट्रेलियन लिबरल पार्टीलाई तास्मानियामा विजयी गराएका थिए ।
दोश्रो पटक २०१८ मा पनि उनले जिते र प्रिमियर बने । उनले अहिले राजीनामा दिने घोषणा गरे पनि उनको उत्तराधिकारी अर्थात ४६ औं प्रिमियर पार्टीले निर्वाचित नगरेसम्म उनी पदमै रहने छन् ।
प्रतिक्रिया 4