News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल फुटबल लिगले विराटनगरदेखि सुर्खेतसम्मका सहर प्रतिनिधित्व गर्ने तीन नयाँ क्लब स्थापनाका लागि बोलपत्र आह्वान गरेको छ।
- नयाँ क्लबका लागि बोलपत्र ३० कात्तिक २०८३ भित्र पेस गर्नुपर्ने र फाराम शुल्क ५० हजार रुपैयाँ तोकिएको छ।
- एनएफएलको पहिलो संस्करण आगामी फागुन १ गतेदेखि सुरू हुने घोषणा भएको छ, जसमा सात पुराना क्लबले खेल्ने पक्का भएको छ।
१४ कात्तिक, काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) ले तीन नयाँ क्लब थप्ने प्रक्रिया अघि बढाएको छ। लिगले विराटनगर, धरान, जनकपुर, वीरगञ्ज, हेटौंडा, भक्तपुर, नेपालगञ्ज र सुर्खेतलगायत सहरलाई आफ्नो प्रतिनिधित्व गर्ने फुटबल क्लब स्थापनाका लागि बोलपत्र पेस गर्न शुक्रबार आह्वान गरेको हो।
नयाँ क्लबका लागि बोलपत्र पेस गर्ने अन्तिम मिति १६ नोभेम्बर २०२६ अर्थात् ३० कात्तिक २०८३ तोकिएको छ। बोलपत्र फारामको शुल्क ५० हजार रुपैयाँ निर्धारण गरिएको छ।
नयाँ क्लबका लागि आवेदन दिने इच्छुक पक्षले आफ्नो व्यावसायिक तथा वित्तीय इतिहास, आगामी १० वर्षको क्लब सञ्चालन योजना र सामाजिक विश्वसनीयतासम्बन्धी विवरण पेस गर्नुपर्नेछ।
यसैबीच, नेपाली फुटबललाई व्यावसायिक दिशातर्फ अघि बढाउने लक्ष्यसहित एनएफएलको पहिलो संस्करण आगामी फागुन १ गतेदेखि सञ्चालन हुने घोषणा भइसकेको छ।
एनएफएलको पहिलो संस्करणमा घरेलु फुटबलका सात पुराना क्लबले यसअघि नै खेल्ने पक्का भइसकेको छ। हाल लिगमा काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी एफसी र झापा एफसी छन्।
रंगशालाको उपलब्धताका आधारमा प्रतियोगिता ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने योजना छ। तयारी अवधिसहित एनएफएल करिब चार महिना सञ्चालन हुनेछ।
प्रतिक्रिया 4