News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिग २०२६ मा शनिबार लुम्बिनी लायन्स र चितवन राइनोज त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो साढे १२ बजे भिड्दैछन्।
- दुवै टोली पहिलो खेल जितेर आएका छन्, र वर्षाका कारण खेल प्रभावित भए १-१ अंक बाँड्ने सम्भावना छ।
- लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले र चितवनले विराटनगर किङ्सलाई आठ रनले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेका थिए।
१४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत शनिबार हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुँदैछन्।
पहिलो खेल जितेका दुवै टोली लगातार दोस्रो जितको लक्ष्यसहित मैदान उत्रनेछन्। तर खेलमा वर्षा बाधक बन्ने सम्भावना छ।
लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको थियो। यता चितवनले विराटनगर किङ्सलाई आठ रनले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो।
दुवै टोली पहिलो खेलको लयलाई निरन्तरता दिने लक्ष्यमा रहे पनि शनिबारको मौसमले खेलको नतिजामा प्रभाव पार्न सक्छ।
वर्षाका कारण खेल प्रभावित भए दुवै टोलीको लगातार दोस्रो जितको लक्ष्य पूरा नहुन सक्छ। दुवै टोलीले १-१ अंक बाँड्ने छन्।
अर्नब चक्रवातको असरले नेपालमा बिहीबार रातिदेखि नै वर्षा भइरहेको छ । शुक्रबार दिनभर वर्षा भएको थियो भने शनिबार पनि साँझसम्मै हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

पछिल्लो लय र हेड टु हेड
दुवै टोली पछिल्लो खेलमा जितको लयका साथ मैदानमा उत्रिँदै छन् । लुम्बिनी लायन्स अघिल्लो सिजनको पाँचौं खेलदेखि अपराजित छ । अर्थात् लुम्बिनीले लगातार ६ खेल जितेको छ ।
दोस्रो सिजनमा प्लेअफ पुग्न नसकेको चितवन राइनोजले भने यस सिजन खेलेको पहिलो खेलमा जित निकालेको थियो ।
एनपीएलका अघिल्ला दुई सिजनमा लुम्बिनी र चितवनबीच दुई खेल भएका छन्। दुवै खेलमा लुम्बिनी विजयी भएको थियो।
पहिलो सिजनमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गरेको थियो। दोस्रो सिजनमा पनि लुम्बिनीले चितवनलाई चार विकेटले हराएको थियो। यससँगै हेड टु हेडमा लुम्बिनी २–० ले अघि छ।
तर यसपटक दुवै टोलीले पहिलो खेल जित्दै प्रतियोगितामा राम्रो सुरुवात गरेका छन्। त्यसैले चितवन लुम्बिनीविरुद्धको पुरानो नतिजा बदल्ने लक्ष्यमा हुनेछ।

टिम कम्बिनेसन र प्लेइङ ११
लुम्बिनीले पहिलो खेलकै टोलीलाई निरन्तरता दिने सम्भावना छ। उसका विदेशी खेलाडी रुबेन ट्रम्पलमन भने अझै टोलीमा आइपुगेका छैनन्। उनी आयरल्यान्डसँगको ओडीआई शृङ्खला खेलिरहेका छन्।
लुम्बिनीले पहिलो खेलमा डार्शी शर्ट, शमिम होसेन, निरोशन डिक्वेला र शाड्ली भान शाकवाइक गरी चार विदेशी खेलाडीलाई मैदान उतारेको थियो। नेपाली खेलाडीमा कप्तान रोहित पौडेलसहित सन्दीप जोरा, दिलिप नाथ, तिलकराज भण्डारी, शेर मल्ल, किशोर महतो र आसिफ शेख खेलेका थिए। पहिलो खेलमा जित दिलाएको यही टोलीलाई निरन्तरता दिने सम्भावना छ।
यता चितवनले पाकिस्तानी खेलाडी उपलब्ध नहुने भएपछि हतारमा वैकल्पिक खेलाडी अनुबन्ध गरेको थियो। सिकन्दर राजा अझै टोलीमा आइपुगेका छैनन्। कलिम सनाबारे पनि आधिकारिक जानकारी आइसकेको छैन। त्यसैले पहिलो खेल खेलेका चार विदेशी खेलाडीले नै शनिबार पनि खेल्ने सम्भावना छ।
चितवनका कप्तान कुशल मल्ल चोटका कारण पहिलो खेलमा खेलेका थिएनन्। उनी शनिबारको खेलमा फर्कने सम्भावना छ। कुशलको उपलब्धताले चितवनको ब्याटिङ र टोलीको सन्तुलनमा प्रभाव पार्न सक्छ।
लुम्बिनीको सम्भावित प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, डार्शी शर्ट, दिलिप नाथ, निरोशन डिक्वेला, सन्दीप जोरा, शमिम होसेन, शाड्ली भान शाकवाइक, शेर मल्ल, किशोर महतो, तिलक राज भण्डारी
चितवनको सम्भावित प्लेइङ ११ : डाविड मलान, देव खनाल, अर्जुन साउद, कुशल मल्ल, रवि बोपारा, डान मोस्ली, टम टेलर, विवेक यादव, कमलसिंह ऐरी, रन्जित कुमार, रिजन ढकाल

प्लेयर्स टु वाच
लुम्बिनीका लागि किशोर महतो र डार्शी शर्ट महत्त्वपूर्ण खेलाडी हुनेछन्। किशोरले पहिलो खेलमा चार विकेट लिँदै टोलीको जितमा निर्णायक भूमिका खेलेका थिए। उनीबाट चितवनविरुद्ध पनि त्यस्तै प्रदर्शनको अपेक्षा हुनेछ।
अस्ट्रेलियाका ब्याटर डार्शी शर्ट आक्रामक ब्याटिङका लागि परिचित छन्। विशेषगरी पावरप्लेमा उनको ब्याटिङले खेलको गति बदल्न सक्छ। लुम्बिनीले राम्रो सुरुवात गर्न शर्टको भूमिका महत्त्वपूर्ण हुनेछ।
चितवनका लागि कमलसिंह ऐरी र डाविड मलान हेर्नलायक खेलाडी हुनेछन्। कमलसिंहले विराटनगरविरुद्धको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। यता इंग्ल्यान्डका ब्याटर मलानले पनि पहिलो खेलमा राम्रो ब्याटिङ गरेका थिए। चितवनले लगातार दोस्रो जित निकाल्न यी दुई खेलाडीको प्रदर्शन महत्त्वपूर्ण हुनेछ।
***
खेल : लुम्बिनी लायन्स भर्सेस् चितवन राइनोज
मिति र समय : १४ कात्तिक, दिउँसो साढे १२ बजे
स्थान : त्रिवि क्रिकेट मैदान, कीर्तिपुर
मौसम : वर्षाको सम्भावना
प्रतिक्रिया 4