News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा शुक्रबार दिनभर वर्षा भएपछि शनिबार एनपीएलका लुम्बिनी लायन्स–चितवन राइनोज र विराटनगर किङ्स–सुदूरपश्चिम रोयल्स खेल प्रभावित हुने सम्भावना बढेको छ।
- मौसमविद् उज्ज्वल उपाध्यायले शनिबार साँझसम्म सिमसिम पानी परिरहने र भोलिको खेल हुने सम्भावना कम रहेको बताए।
- एनपीएलमा रिजर्भ डे नराखिएकाले खेल रद्द वा नतिजाविहीन भए टोलीहरूले १–१ अंक बाँड्ने छन्।
१३ कात्तिक, काठमाडौं । काठमाडौंमा शुक्रबार दिनभर वर्षा भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने दुवै खेल प्रभावित हुने सम्भावना बढेको छ। मौसमविद्ले शनिबार पनि साँझसम्म हल्का वर्षा जारी रहने पूर्वानुमान गरेका छन्।
शनिबार एनपीएलमा दुई खेल हुँदैछन्। पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज तथा दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
मौसमविद् उज्ज्वल उपाध्यायले शनिबार साँझसम्म नै सिमसिम पानी परिरहने सम्भावना रहेको बताए। उनका अनुसार बिहीबारको खेलमा मौसमले साथ दिए पनि शनिबार खेल सञ्चालन हुने सम्भावना कम छ।
‘बिहीबार एनपीएल लक्की रह्यो। शनिबार भने साँझसम्मै सिमसिम पानी परिरहने देखिएको छ। भोलिको खेल हुने सम्भावना कम छ’ उपाध्यायले भने।
काठमाडौंमा बिहीबार अबेर रातिदेखि वर्षा भइरहेको छ। शुक्रबार दिनभर पनि वर्षा रोकिएको छैन। बिहीबार विराटनगर किङ्स र कर्णाली याक्सबीचको दोस्रो खेल भने सिमसिम पानी परिरहेकै अवस्थामा सम्पन्न भएको थियो। खेल सकिने बेलादेखि वर्षा सुरु भएपछि मैदानलाई कभरले ढाकिएको छ।
एनपीएलमा कुनै पनि खेलका लागि रिजर्भ डे राखिएको छैन। त्यसैले शनिबार वर्षाका कारण खेल हुन नसके दुवै खेलको नतिजा प्रभावित हुन सक्छ।
खेलको रद्द वा नतिजाविहीन भएमा टोलीहरूले १-१ अंक बाँड्ने छन्।
टिकट काटिसकेका दर्शकले भने टस नहुँदै खेल रद्द भएमा टिकटको पैसा रिफन्ड पाउने इसेवाले जनाएको छ ।
वर्षाले खेल समयमै सुरु हुन नसकेपनि मौसम सुधार भएर मैदान तयार गरी कम्तीमा ५ ओभरका खेल सम्भव हुने भएमा ५-५ ओभरको खेल खेलाइने सम्भावना भने कायमै रहन्छ ।
त्यसका लागि वर्षा रोकिएर मैदान तयार गर्नेसम्मको अवस्था भने हुनुपर्छ ।
प्रतिक्रिया 4