+
+
Shares

हुम्लामा हिमपात, हिल्सा नाका बन्द

शुक्रबार बिहान ११ बजेदेखि निरन्तर परेको वर्षासँगै हिमपात भएपछि उत्तरी चीनसँग जोडिएको हिल्सा नाकामा आवागमन बन्द भएको छ ।

नरजन तामाङ नरजन तामाङ
२०८३ कात्तिक १४ गते १२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्नब चक्रवातको प्रभावले हुम्लाको दक्षिणी क्षेत्रमा भारी वर्षा र उत्तरी नाम्खामा हिमपात हुँदा हिल्सा नाकामा आवागमन बन्द भएको छ।
  • नाम्खा गाउँपालिका–५ को नारा लेकमा ३ फिट र हिल्सा नाकामा २ फिट हिउँ जम्दा चीनको ताक्लाकोट आवतजावतमा कठिनाइ भएको छ।
  • नाम्खा गाउँपालिका–६ लिमिका तिल, हल्जी र जाङमा न्यालु लेकमा हिउँ नपन्छिँदा खाद्यान्न अभाव चुलिएको छ।

१४ कात्तिक, काठमाडौं । अर्नब चक्रवातको प्रभावले हुम्लाको दक्षिणी क्षेत्रमा भारी वर्षा भएको छ भने उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भएको छ ।

शुक्रबार बिहान ११ बजेदेखि परेको वर्षासँगै उत्तरी नाम्खा गाउँपालिकामा हिमपात भएको छ । हुम्लाको सदरमुकाम सिमकोटको उच्च क्षेत्रमा समेत हिउँ जमेको छ ।

दक्षिणी क्षेत्रका खार्पुनाथ, सर्केगाड, चंखेली, अदानचुली र ताजाकोट गाउँपालिकामा भारी वर्षा भएको चंखेली गाउँपालिका–१ का स्थानीय तिलक बोहराले जानकारी दिए ।

शुक्रबार दिउँसोदेखि निरन्तर वर्षा हुँदा चिसोसमेत बढेको बोहराले बताए ।

हिमपातले हिल्सा नाका आवागमन बन्द

शुक्रबार बिहान ११ बजेदेखि निरन्तर परेको वर्षासँगै हिमपात भएपछि उत्तरी चीनसँग जोडिएको हिल्सा नाकामा आवागमन बन्द भएको छ ।

नाम्खा गाउँपालिका–५ मा पर्ने नारा लेकमा ३ फिट र हिल्सा नाकामा २ फिट हिउँ जमेको स्थानीय सोनाम छिरिङ लामाले जानकारी दिए ।

भारी हिमपातका कारण घर फर्किन र रोजगारीका लागि चीनको ताक्लाकोट आउजाउ गर्नसमेत कठिन भएको लामाले बताए ।

गत असोज ८ देखि १२ गतेसम्म परेको अविरल वर्षासँगै भारी हिमपात भएको थियो । हिल्सा–सिमकोट सडक योजना कार्यालयले नारा लेकमा जमेको हिउँ पन्छाएपछि सडक सञ्चालनमा आएको थियो । शुक्रबारदेखि पुनः वर्षा र हिमपात भएपछि नाका बन्द भएको छ ।

लिमेलीलाई खाद्यान्न अभावको चिन्ता

हिमालपारिको बस्तीका रूपमा चिनिने नाम्खा गाउँपालिका–६ लिमिका तीनवटा बस्तीका स्थानीय खाद्यान्न अभावको चिन्तामा छन् ।

गत असोजदेखि नाम्खा गाउँपालिका–६ मा पर्ने ५ हजार १ मिटर उचाइको न्यालु लेकमा हिउँ जम्दा आवागमन बन्द छ । लिमेली जनतामा खाद्यान्न अभाव चुलिएपछि वडाध्यक्ष पाल्जोर तामाङ स्थानीयका समस्या लिएर सदरमुकाम सिमकोट धाइरहेका छन् ।

न्यालु लेकमा जमेको हिउँ पन्छाइदिन सम्बन्धित निकायलाई आग्रह गरेको वडाध्यक्ष तामाङले बताए ।

महिनौँ बितिसक्दा पनि न्यालु लेकमा जमेको हिउँ नपन्छाइएकाले सदरमुकाम सिमकोट र हिल्सा नाकामा रोकिएको खाद्यान्न लिमि पुर्‍याउन समस्या भएको उनले बताए ।

लिमेलीका समस्या लिएर सदरमुकाम सिमकोट पुगेको एक साता भएको र फेरि हिमपातले सडक ढाकिएपछि घर फर्किनसमेत कठिन भएको उनले गुनासो गरे ।

लिमिका तिल, हल्जी र जाङमा खाद्यान्न अभाव चुलिएको छ ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?