+
+
Shares

बंगालको खाडीमा अर्नब चक्रवात : नेपालमा वर्षाभन्दा हिमपातको जोखिम धेरै

अहिले नै आत्तिनुपर्ने अवस्था छैन, सतर्क भने रहनुपर्छ : वरिष्ठ मौसमविद् पोखरेल

नेपाल मौसम विज्ञान विभागकी प्रवक्ता एवम् वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहन सक्छ । ‘तर अहिले नै आत्तिनुपर्ने अवस्था छैन, सतर्क भने रहनुपर्छ,’ पोखरेलले भनिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते १३:०७
वरिष्ठ मौसमविद् विभूति पोखरेल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले बिहीवार बेलुकादेखि शनिवारसम्म नेपालका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम रहने मौसम विभागले जनाएको छ।
  • विभागकी प्रवक्ता विभूति पोखरेलले अहिले आत्तिन नपर्ने तर सतर्क रहनुपर्ने, उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न र मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेकी छिन्।
  • पोखरेलले धान काट्ने किसानलाई पनि आधिकारिक पूर्वानुमान हेरेर कृषि कार्यको योजना बनाउन र मौसमबारे फैलिने हल्लाका आधारमा त्रासमा नबस्न आग्रह गरेकी छिन्।

१० कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालका  विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको छ । नेपालमा बिहीवार बेलुकादेखि शनिवारसम्म प्रणालीको प्रभाव रहने प्रारम्भिक पूर्वानुमान छ ।

यसबाट आत्तिनु नपर्ने तर सतर्क भने हुनुपर्ने नेपाल मौसम विज्ञान विभागले जनाएको छ । विभागकी प्रवक्ता एवम् वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार चक्रवातको अवशेषले पर्याप्त जलवाष्पयुक्त हावा बोकेर ल्याउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग अन्तरक्रिया गर्ने भएकाले नेपालमा वर्षा र हिमपातको पूर्वानुमान गरिएको हो ।

‘तर अहिले नै आत्तिनुपर्ने अवस्था छैन, सतर्क भने रहनुपर्छ,’ पोखरेलले भनिन् ।

पछिल्लो पूर्वानुमानअनुसार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ । यद्यपि, प्रणाली नेपाल नजिक आइपुग्दासम्म कमजोर भए वर्षाको प्रभाव कम हुन सक्ने र अपेक्षाकृत शक्तिशाली रहे प्रभाव बढ्न सक्ने पोखरेलले बताइन् ।

उनका अनुसार उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहन सक्छ । हिमाली क्षेत्रमा पर्यटकीय गतिविधिमा संलग्न व्यक्ति बढी जोखिममा पर्न सक्ने भएकाले सुरक्षित स्थानमा बस्न र सम्भव भएसम्म उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न उनले सुझाव दिइन् ।

पहिरोको जोखिम भएका स्थान तथा सडकखण्डमा यात्रा गर्दा पनि सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । मौसम र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न उनले आग्रह गरिन् ।

धान काट्ने किसानलाई पनि सतर्क रहन आग्रह

वर्षाले कृषि क्षेत्रमा समेत असर पार्न सक्ने देखिएको छ । अहिले धान काट्ने समय भएकाले किसानले मौसमको पूर्वानुमानलाई ध्यानमा राखेर कृषि कार्यको योजना बनाउनुपर्ने पोखरेलले बताइन् ।

धान काट्नुअघि मौसम विज्ञान विभागले जारी गर्ने आधिकारिक सूचना र पूर्वानुमान हेर्न उनले किसानलाई आग्रह गरिन् ।

चक्रवातको अवशेषको गति, दिशा र तीव्रताअनुसार वर्षा हुने समय तथा प्रभाव फरक पर्न सक्ने भएकाले प्रणालीको निरन्तर अनुगमन आवश्यक रहेको उनको भनाइ छ । जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकले पनि आवश्यक सतर्कता अपनाउनुपर्ने उनले बताइन् ।

पोस्ट–मनसुनमा वर्षा हुनु सामान्य

मनसुन सकिएपछि सुरु हुने पोस्ट–मनसुन अवधिमा पनि वर्षा हुनु सामान्य प्रक्रिया भएको पोखरेलले बताइन् । नेपालमा अक्टोबर र नोभेम्बर सामान्यतया मौसम सफा रहने महिना भए पनि यही समयमा बंगालको खाडी र अरब सागरमा चक्रवात विकसित हुने सम्भावना रहन्छ ।

समुद्रमा विकसित हुने सबै चक्रवात वा न्यून चापीय प्रणाली नेपालसम्म आइपुग्दैनन् । तर, केही प्रणाली उत्तर वा उत्तरपश्चिमतर्फ सर्दै नेपाल नजिक आइपुग्दा वर्षा गराउन सक्छन् । यस्ता प्रणालीले उच्च हिमाली क्षेत्रमा हिमपातसमेत गराउन सक्ने उनले बताइन् ।

‘यस्ता घटना यसअघि पनि भएका छन् । त्यसैले अहिले नै नयाँ घटना भयो भन्ने होइन,’ पोखरेलले भनिन् ।

जलवायु परिवर्तनले नयाँ मौसमी घटना मात्रै सिर्जना गर्ने नभई पहिले पनि हुने गरेका घटनाको आवृत्ति र तीव्रतामा समेत प्रभाव पार्न सक्ने उनको भनाइ छ । त्यसैले यस्ता मौसमी घटनाको नियमित अध्ययन र अनुगमन आवश्यक रहेको उनले बताइन् ।

आधिकारिक सूचना हेर्न आग्रह

मौसमको पछिल्लो अवस्थाबारे जानकारी लिन मौसम विज्ञान विभागका आधिकारिक सूचना र सामाजिक सञ्जालबाट जारी हुने अद्यावधिक हेर्न पोखरेलले आग्रह गरिन् ।

मौसमबारे फैलिने हल्लाका आधारमा त्रासमा बस्न नहुने तर सम्भावित जोखिमलाई बेवास्ता पनि गर्न नहुने उनको सुझाव छ ।

आधिकारिक पूर्वानुमानका आधारमा यात्रा, कृषि कार्य र अन्य गतिविधि तय गर्न उनले आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?