Comments Add Comment

सडकपेटीको व्यवस्थापन अब महानगरपालिकामार्फत

६ फागुन, काठमाडौं । काठमाडौंका सडकपेटी अहिले दूरावस्थामा छन् । टायल टाँसिएका पेटी (फुटपाथ) पनि पैदलमैत्री छैनन् । धेरैजसो क्षेत्रका टायल उप्किसकेका छन्, कति ठाउँमा त पेटीका टायल उप्किएर खाल्डो परेको छ ।

यो समस्या समाधानका लागि काठमाडौं महानगरभित्रको फुटपाथ व्यवस्थापनको काम मुख्य रुपमा अब काठमाडौं महानगरपालिकाले नै गर्ने भएको छ । शहरभित्र रहेका ८ मिटरभन्दा चौंडा सडकको फूटपाथ व्यवस्थापन अहिले पनि सडक विभागको दायित्वमा छ । साना सडकमा खासै फूटपाथ छैनन् ।

तर, अब महानगरपालिकाले पनि समन्वय गरेर फूटपाथ व्यवस्थापन गर्ने योजना बनाएको हो । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकले सडक विभाग अन्तरगतका सडकका फूटपाथ पनि निर्माण, व्यवस्थापन र मर्मतसम्भार गर्ने निर्णय गरेको छ ।

कार्यपालिकाको निर्णयलाई प्रधानमन्त्री कार्यालयले बनाएको शहरी व्यवस्थापनको कार्ययोजनाभित्र समेटिएको छ । महानगरपालिकाका भौतिक विकास विभाग प्रमुख उत्तरकुमार रेग्मीले सडकको रेलिङ र फूटपाथको काम क्रमैसँग महानगरपालिकाले नै गर्दै जाने बताए ।

शहरभित्रका सर्वसभारण हिँड्ने फूटपाथको व्यवस्थापनको मूल दायित्व महानगरको हुने भएकाले कार्यपालिका बैठकको निर्णयअनुसार नै फूटपाथहरुको व्यवस्थापनको लागि काम सुरु गरिएको उनले बताए ।

महानगरपालिकाले हालै पुतलीसडकबाट अनामनगरसम्मको करिब डेढ किलोमिटर फूटपाथ क्षेत्र व्यवस्थापनको लागि ठेक्का निकालेको छ । जसमा ३ करेाडभन्दा बढी खर्च हुने अनुमान छ ।

‘फूटपाथ आज बनायो तर भोलि नै भत्किने गरी बनाउँदैनौं, आधुनिक प्रविधि र बलियो टायलहरु प्रयोग गर्छौं,’ रेग्मीले भने,’फूटपाथलाई हिँड्नेहरुलाई सहज हुने गरी बनाइन्छ ।’

पेटी बनाउनुअघि सो फूटपाथमा दोहोरो योजना नपरोस् भनेर सडक विभागमा पनि सोधिने महानगरपालिकाले जनाएको छ । अहिले केही सडकपेटीमा सडक विभाग र महानगरपालिकाको दोहोरो ठेक्का पनि लागेका छन् ।

अव्यस्थित पेटी

शहरका लाइफलाइनका रुपमा रहेको पेटीलाई यत्तिकै राखेर शहर आधुनिक नबन्ने निश्कर्ष निकालेर नै अघि बढेको महानगरपालिका बताउँछ । अहिले पनि पेटीको अवस्था दयनीय भएको स्वीकार्दै विभागीय प्रमुख रेग्मीले सडकपेटीलाई स्तरीय र पैदलयात्रुमैत्री बनाउन आधुनिक मोडलहरु प्रयोग गरेर काम गरिने बताए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड -केयूकेएल) र नेपाल टेलिकमले पनि धेरै पेटीहरुको टायल उप्काएर पाइप बिछ्यायो । तर, काम सकिएपछि तत्कालै पुनः बिछ्याउन उसले पनि चासो दिएको छैन । बिछ्याएका ठाउँमा पनि टायल उप्किएर यत्रतत्र छरिएका छन् ।

अहिले पेटीमा बिछ्याएका टायल क्षतविक्षत अवस्थामा छन् । धेरै स्थानमा फुटपाथको टायलको अस्तित्व नै देखिँदैन । राज्यले खर्चेको करोडौं रुपैयाँ लगानी गरेको फुटपाथमा खाल्डाहरु परेका छन् ।

सडकपेटीमा प्रयोग हुने टायल ठूलो चाप थेग्न सक्ने हुनुपर्छ । तर, यसमा प्रयोग भएका टायल नै गुणस्तरहीन भएकाले यस्तो अवस्था आएको आरोप स्थानीयको छ । कतिपय स्थानमा बिछ्याउँदा नै ध्यान नपुर्‍याएकाले पनि फुटपाथको टायल उप्किएर हराएका छन् ।

अहिले काठमाडौंका अधिकांश सडकका फुटपाथ पैदलयात्रुको लागि धरापजस्तै छन् । पैदलयात्रुका लागि बनेका भए पनि फुटपाथ वैज्ञानिक छैनन् । त्यसमाथि भएको फुटपाथको व्यवस्थापन सही ढंगले नगरिँदा शहर कुरूप मात्रै बनेको छैन यात्रुले पनि हन्डर खेप्ने गरेका छन् ।

सडकपेटीमै व्यापार गरिरहेकालाई पनि पेटीको सुरक्षा र सफाइ चासोको विषय बनेको छैन । न स्थानीय बासिन्दाले सडकपेटीलाई आˆनो प्रतिष्ठाको विषय बनाएका छन् ।

काठमाडौंमा धेरैजसो सडकपेटीमा व्यापारीको कब्जा छ । पेटीभरि सामान फिँजाएर व्यापारीहरु ग्राहक कुर्दै बस्छन् । पेटी यसरी पैदलयात्रुलाई सडकबाट नहिँडी सुखै छैन । पैदलयात्रुले केही बोले व्यापारीहरुको उल्टै हप्की खेप्नुपर्छ । विभिन्न स्थानका सडकपेटीमा ग्यारेज र गि्रल उद्योग नै चलिरहेका छन् ।

सडकपेटीमा व्यापार गर्ने मात्रै हैन, निर्माण सामग्री थुपार्ने समस्या पनि उस्तै छ । धेरै पेटीमा अहिले निर्माण सामग्रीको चाङ छन् । त्यसलाई हटाउन पनि जिम्मेवार निकायको कुनै पहल छैन ।

निर्माण सामग्रीलाई व्यवस्थापन गर्नेगरी कुनै निकायले योजना पनि बनाएका छैनन् । हप्तौंसम्म पेटीमा थुपारेर राखिने ढुंगा, गिट्टी, बालुवा, छड, सडक दुर्घटनाको कारण बनिरहेका छन् ।


काठमाडौंमा सडकपेटीमा मौलाउँदो पार्किङको सवाल पनि उत्तिकै पेचिलो छ । पैदलयात्रुलाई सडकमा हिँड्न बाध्य बनाएर फुटपाथमा पार्किङ गर्नेप्रति ट्राफिक प्रहरीले पनि ‘एक्सन’ लिन सकिरहेको छैन ।

यात्रुलाई सडकमा झार्न बाध्य पार्नेगरी पेटीमा भएको पार्किङ हटाउने आँट ट्राफिकले पनि गरेको भेटिन्न ।

काठमाडौंमा धेरैजसो सडकपेटीको निर्माण नै अवैज्ञानिक छ । सडक फराकिलो बनाउने नाममा पेटीलाई खुम्च्याइएको छ । विभिन्न भागमा त सडकपेटी बीचमै हराउँछन् । कतिपय सडकपेटी पसलभित्र पुगेर टुंगिएका छन् ।

सडक विस्तार भएका अधिकांश सडकमा बनेका पेटी अवैज्ञानिक छन् । कतिपय ठाउँमा त आधा फटपाथका पेटी छन् । महानगरपालिकाले उपलब्ध स्थानहरुमा अब व्यवस्थित पेटी बनाउने  त भनेकचोछ, तर कार्यान्वयन कसरी हुन्छ भन्ने आशंका बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment