Comments Add Comment

युरोपमा खेल्न प्रिन्स दाहाल उत्साहित

काठमाडौं । पछिल्लो समय प्रिन्स दाहाल नेपाली ब्याडमिन्टनले पाएको उत्कृष्ट युवा प्रतिभा हो । प्रिन्सले घरेलु प्रतियोगिता मात्र नभएर विदेशमा हुने जुनियर प्रतियोगिताहरुमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । दुई पटक दुवई जुनियर इन्टरनेशनल सिरिजमा स्वर्ण पदक जितेका प्रिन्स नेपालमै भएको सिनियर इन्टरनेशनल सिरिजमा पनि सेमिफाइनल समेत पुगिसकेका छन् ।

१६ वर्षको उमेरमै प्रिन्सले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । एसियाको विभिन्न देशमा खेलिसकेका प्रिन्स पहिलो पटक युरोपमा खेल्दै छन् । नेदरल्याण्ड्स र जर्मनीमा हुने ब्याडमिन्टन प्रतियोगिताका लागि प्रिन्स मंगलबार युरोप प्रस्थान गरेका हुन् ।

पहिलो पटक नेपाली खेलाडिले युरोपमा खेल्न लागेको हो । यसबाट प्रिन्स उत्साहित छन् । ‘म एकदमै उत्सहित छु । मेरो लागि यो मिनी वर्ल्ड च्याम्पियनसिप जस्तै हो,’ प्रिन्सले युरोप उड्नुअघि अनलाइनखबरसँग भने, ‘म आफ्नो उत्कृष्ट खेल खेल्ने प्रयास गर्नेछ  ।’

प्रिन्स अहिले बिडब्लुएफको जुनियर वरियतामा ११औं स्थानमा छन् । युरोपमा हुने सिरिजमा उनले जुनियरको विश्व वरीयतामा आफूभन्दा अगाडि रहेका खेलाडीहरुसँग समेत खेल्न पाउनेछन् । नेदरल्याण्ड्स र जर्मनीमा हुने सिरिजमा उनले सातौं वरियता पाएका छन् ।

नेदरल्याण्ड्समा २६ फेव्रुअरीदेखि १ मार्चसम्म हुने डच जुनियर इन्टरनेशनलमा प्रिन्सले मेन्स यू१९ सिंगल्समा खेल्नेछन् । पहिलो चरणमा बाई पाएका उनले सिधै राउण्ड अफ ६४ मा खेल्नेछन् ।

प्रिन्स रहेको समूहतर्फ जुनियर विश्व नम्बर एक खेलाडी फ्रान्सका क्रिस्टो पोभोव समेत छन् । पोभववले पनि पहिलो चरणमा बाई पाएका छन् । दुवैले सुरुवाती ३ खेल जितेमा प्रिन्सको भेट क्वाटरफाइनलमा उनै पोभोवसँग हुनेछ । यसलाई लिएर पनि प्रिन्स उत्सहित छन् । ‘मेरो लागि अवसर र चुनौती दुवै छ ।’

प्रिन्सको प्रशिक्षकको भूमिकामा रहेका उनका मामा कमलेश निरौलाले पनि प्रिन्स पहिलो पटक युरोपमा खेल्न लागेको उत्सहित रहेको बताए । प्रिन्स र कमलेशसँगै सुवास श्रेष्ठ टिम म्यानेजरको रुपमा युरोप गएका छन् ।

नेदरल्याण्ड्समा खेलेपछि प्रिन्स जर्मनीमा ३ देखि ८ मार्चसम्म हुने जर्मन जुनियर इन्टरनेशन खेल्न जानेछन् । त्यसमा प्रिन्सले लेनी सुधारमासँग पहिलो चरणमा खेल्नेछन् । यस प्रतियोगितामा पहिलो वरीयताका खेलाडी पोभोव भने छैनन् । तर यसमा शीर्ष वरीयतामा प्राप्त भारतीय खेलाडी मेइरवा लेवाङ भने छन् । प्रिन्सले खेल जित्दै गएमा लेवाङसँग सेमिफाइनलमा भेट हुनेछ ।

यसै वर्ष जनवरीमा नेपालमा भएको प्रेसिडेन्ट कप जुनियर इन्टरनेशनल सिरिजमा प्रिन्स फाइनलमा लेवाङसँगै पराजित भएका थिए ।

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले पनि प्रिन्सले युरोपमा खेल्नु नेपाली ब्याडमिन्टनको लागि खुशीको विषय रहेको बताए । ‘प्रिन्स नेपालको सम्भावना भएका युवा खेलाडी हुन् । उनले युरोपमा खेल्नु नेपालको लागि ठूलो विषय हो ।’ भर्खर १६ वर्ष भएकोले प्रिन्सले अझै जुनियर लेभलमा ३ वर्ष खेल्न सक्ने श्रेष्ठले बताए ।

प्रिन्सले दुवई जुनियर इन्टरनेशनल सिरिजमा यू-१६ र यू-१९ दुई फरक उमेर समूहमा स्वर्ण पदक जितेका थिए । यस्तै गत सेप्टेम्बरमा काठमाडौंमा भएको अन्नपूर्ण नेपाल इन्टरनेशनल च्यालेन्जमा उनी मेन्स सिंगल्सको सिनियरतर्फ नै सेमिफाइनलसम्म पुग्दै कास्य पदक जित्न सफल भएका थिए ।

आफ्नो ड्रिम ओलम्पिक खेल्नु र त्यसमा पदक जित्नु रहेको बताउँदै आएका प्रिन्सले युरोप टुरबाट धेरै सिक्ने मौका पाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment