Comments Add Comment

नेपाल ट्रस्टकाे श्वेतपत्र आज जारी हुँदै

१३ फागुन, काठमाडौं । सरकारले नेपाल ट्रस्टको जग्गा जमिन र चल–अचल सम्पत्तिको बारेमा आज श्वेतपत्र जारी गर्ने भएको छ । यति होल्डिङ्सलाई सस्तोमा ट्रस्टको जग्गा लिजमा दिएको आरोप लागेपछि सरकारले देशभरको जग्गा जमिनबारे यथार्थ जानकारी दिन लागेको हो ।

नेपाल ट्रस्टका अध्यक्ष तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले अपराह्न पत्रकार सम्मेलन गरी नेपाल ट्रस्टको सम्पत्ति कुन सरकारको पालामा क–कसलाई दिइएको हो भन्ने सत्य तथ्य जानकारी दिन लागेका हुन् ।

यसअघि नेकपा केन्द्रीय कमिटी बैठकले यसबारे श्वेतपत्र जारी गर्न निर्देशन दिएको थियो ।

तत्कालिन राजा वीरेन्द्रको परिवारका नाममा रहेको २१ हजार ५६२ रोपनी जग्गा नेपाल ट्रस्टको स्वामित्वमा आएको छ । सोमध्ये सबैभन्दा बढी ४ हजार ४ सय ४२ रोपनी जग्गा काठमाडौं जिल्लामा मात्रै भेटिएको छ ।

ट्रस्टले स्वेतपत्रका लागि संकलन गरेको केही विवरण अनलाइनखबरलाई प्राप्त भएको छ । दरबारमार्ग, लाजिम्पाट, कमलादी, कालीमाटी, ताहाचल, छाउनीजस्ता महँगा ठाउँका जग्गा व्यापारिक प्रयोजनमा लिज र भाडामा दिइएका छन् । नेपाल ट्रस्टको घरजग्गा प्रयोग गर्नेमा थामसेर्कु ट्रेकिङ, टाउन डेभलपर्स, कन्सेप्ट डेभलपर्स, स्टाण्डर्ड चार्डर्ड बैंकलगायतका निजी कम्पनीहरु छन् ।

काठमाडौंका काँठक्षेत्रमा रहेका घरजग्गा भने मोहीले बसोबास र खेती प्रयोजनका लागि प्रयोग गरिरहेको पाइएको छ भने ताहाचलमा विभिन्न सरकारी कार्यालयहरूले न्यूनतम भाडा तिरेर बसेका छन् । यी अधिकांश सम्पत्ति ०५० र केही ०५३ मा लिजमा दिइएका हुन् । ०६४ मा नेपाल ट्रस्ट बनेपछि ती सम्पत्ति राजा वीरेन्द्र र उनका परिवारका नामबाट ट्रस्टमा ल्याइएको थियो । त्यसपछि धेरैजसो काठमाडौंका महँगा ठाउँका जग्गाको पुनः लिज सम्झौता ०६६ पुस र माघमा मन्त्रिपरिषदबाट गराइएको नेपाल ट्रष्टका एक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment