१० असोज, कञ्चनपुर । जंगली हात्तीले कञ्चनपुरवासीको रातचर्या फेरेको छ । बेदकोट नगरपालिका–१, हात्तीथलामा पछिल्लो एक महिनामा हात्तीको बथानले आठ वटा घरमा क्षति पुर्याएको स्थानीय बताउँछन् ।
घरमा क्षति मात्र होइन, खेतमा पाक्न लागेको धानबालीमा समेत हात्तीले नोक्सानी पुर्याइरहेका छन् ।
स्थानीय पुनम शाह २३ वटा हात्तीको बथान बस्तीमा प्रवेश गरेको बताउँछिन् । त्यसरी हात्ती आउने बेलामा उनको घरभित्र सुत्केरी बुहारी र दूधे बालक थिए । ‘हात्तीले घर घेरेपछि ज्यान जोगाउनै मुस्किल भयो । हामी त भाग्यले बाँचेका हौं,’ शाह भन्छिन् ।
हात्ती आएपछि घरबाहिर निस्केर धपाउने कि घरभित्र रहेका परिवारका सदस्यको सुरक्षा गर्ने भन्ने दोधारमा स्थानीय पर्ने गरेका छन् ।
बेदकोट–१ का भोज नाथको घरमा अपाङ्गता भएकी वृद्ध आमा रहेकाले उनलाई रातको समयमा हात्तीको त्रास झन् बढी हुने गरेको छ । ‘हात्ती धपाउन बाहिर निस्कने कि आमाको सुरक्षा गर्ने ? हात्ती आएपछि घरका सबै सदस्य त्रसित हुन्छौं,’ उनले भने, ‘रातभर जाग्राम बस्नुपर्दा स्वास्थ्यमा समेत असर परेको छ ।’

स्थानीयका अनुसार, केही समयअघिसम्म टर्चको उज्यालो वा मानिसको होहल्लाबाट हात्ती जंगलतर्फ फर्कने गर्थे ।
अहिले भने त्यस्ता उपायले काम गर्न छाडेका छ । कतिपय अवस्थामा उज्ज्यालो र मानिसको गतिविधितर्फ नै हात्ती आउन थालेपछि स्थानीय थप जोखिममा परेका छन् ।
कृष्णपुर नगरपालिका–१, डोमिल्लामा पनि रातको समयमा हात्ती बस्ती पस्ने गरेको स्थानीय बताउँछन् । खेतको बाली नष्ट हुन थालेपछि किसानहरू साँझदेखि नै सतर्क हुनुपर्ने अवस्था छ ।
पुनर्वास नगरपालिका–९ र १० का बासिन्दाले पनि लामो समयदेखि हात्तीको समस्या झेल्दै आएका छन् । घरमा क्षति पुर्याउने र अन्नबाली नष्ट गर्ने क्रम नरोकिएपछि कतिपय स्थानीय बसाइँ सर्ने अवस्थाबारे समेत सोच्न थालेका छन् ।
भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट नेपाल प्रवेश गर्ने हात्ती लालझाडी–मोहना करिडोर हुँदै कञ्चनपुरका विभिन्न क्षेत्रमा पुग्ने गरेका छन् । बस्ती आसपास लामो समयसम्म रहने हात्तीले धान, उखु र केरालगायतका बालीमा क्षति पुर्याउँदै आएका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको व्यवस्थापन योजनाले पनि मानव–हात्ती द्वन्द्वलाई निकुञ्ज क्षेत्रको प्रमुख चुनौतीका रूपमा उल्लेख गरेको छ । योजनामा हात्तीका कारण खाद्यान्न बाली, घरगोठ र मानिसमा समेत क्षति हुने गरेको तथ्य समेटिएको छ ।
हात्तीको परम्परागत आवागमन मार्ग र मानव बस्तीबीचको दूरी घट्दै जाँदा द्वन्द्वको जोखिम बढेको देखिन्छ । कञ्चनपुरमा हात्तीको समस्या नयाँ भने होइन । विगतदेखि नै निकुञ्ज तथा वन क्षेत्र आसपासका बस्तीमा हात्तीले बाली र घरमा क्षति पुर्याउँदै आएका छन् ।
हात्ती बस्ती प्रवेश गरेपछि स्थानीयहरू समूह बनाएर त्यसलाई जंगलतर्फ फर्काउने प्रयास गर्छन् । टर्च बाल्ने, थाल बजाउने, होहल्ला गर्ने तथा अन्य स्थानीय उपाय प्रयोग गरिन्छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार, विगतमा हात्ती धपाउन थाल ठटाउने, होहल्ला गर्ने तथा पटका पड्काउने जस्ता उपाय अपनाइन्थ्यो । तर पटक–पटक एउटै विधि प्रयोग गरिँदा हात्ती त्यसमा अभ्यस्त हुन थालेका छन् । ‘पहिले थाल ठटाउने, होहल्ला
गर्ने लगायतका उपायले हात्ती भाग्थे । तर अहिले हात्ती त्यस्ता गतिविधिमा बानी परिसकेकाले भाग्नुको सट्टा उल्टै फर्किने जोखिम हुन्छ ।’

स्थानीय तह, वन कार्यालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणसँग सम्बन्धित निकायहरूले विभिन्न समयमा हात्ती नियन्त्रण तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका प्रयास गर्दै आएका छन् । कतिपय क्षेत्रमा विद्युतीय तारबार तथा निगरानीका उपायसमेत प्रयोग गरिएको छ । तर हात्तीको आवागमनलाई पूर्ण रूपमा रोक्न भने चुनौती कायमै छ ।
कञ्चनपुरका प्रभावित बस्तीका लागि अहिले हात्ती केवल खेतबाली नष्ट गर्ने वन्यजन्तु मात्र बनेको छैन । रात परेपछि परिवारको सुरक्षा, घरको संरक्षण र वर्षभरि लगाएको अन्न जोगाउने चिन्तासँगै स्थानीयको दैनिकी जोडिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटाका प्रमुख लक्ष्मीराज जोशीका अनुसार, हात्तीले पुस्तौंदेखि प्रयोग गर्दै आएको परम्परागत बाटो पछ्याउने गर्छ । तर ती बाटो आसपास पछिल्लो समय घर, गाउँ तथा बस्ती विस्तार भएकाले हात्ती मानव बस्तीमा प्रवेश गर्ने अवस्था सिर्जना भएको हो ।
जोशी भन्छन्, ‘हात्तीले आफ्नो परम्परागत बाटो प्रयोग गर्छ । तर अहिले ती क्षेत्रमा घर–गाउँ तथा बस्ती विस्तार भइसकेकाले हात्ती बस्ती पस्ने गरेको देखिन्छ ।’
प्रतिक्रिया 4