
५ वैशाख, वीरगञ्ज । वीरगञ्जमा बसेका कोरोना संक्रमित तीन जना भारतीय नागरिकको सम्पर्कमा आएकाहरुमा कोरोना संक्रमण नभएको पाइएको छ ।
उनीहरुको सम्पर्कमा आएकाहरुको प्रयोगशाला परीक्षण र र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परक्षिण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताए ।
पर्सामा ८७ जनाको प्रयोगशालामा र नौ सय २३ जनाको र्यापिड टेस्टबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो । त्यसमध्ये भारतीय संक्रमित व्यक्ति रहेको वीरगञ्जको छपकैया क्षेत्रमा नै चार सय जनाको परीक्षण गरिएको थियो ।
उनीहरुमा कोरोना संक्रमण कहाँबाट भयो भन्ने कुरा अझै अन्योलमा नै रहेको सहायक प्रजिअ बस्नेतले बताए । ‘ट्राभल हिष्ट्रि ढाँटेको हो कि भन्ने पनि आशंका छ’ उनले भने ‘संक्रमण कसरी भयो ? भन्नेबारे अनुसन्धान जारी नै छ ।’
कन्ट्याक्ट ट्रेसिङको आधारमा क्वारेन्टाइनमा राखिएकाहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घरमा नै पठाउने निर्णय कोभिड–१९ कमाण्ड पोष्ट पर्साको बैठकले गरेको छ ।
शुक्रबार बसेको कमण्ड पोष्टको बैठकले क्वारेन्टाइनमा १४ दिन पूरा गरेका र पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरुलाई घर पठाउने निर्णय गरेको सहायक प्रजिअ बस्नेतले बताए ।
‘पीसीआर रिपोर्ट नेगेटिभ आएका जमातीबाहेकका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्ने गरी आफन्तको जिम्मा लगाइने भएको छ’ उनले भने ।
क्वारेन्टाइनको व्यवस्थापनमा खटिएको नेपाली सेनाले भोलिदेखि पीसीआर रिपोर्ट नेगेटिभ देखिएका स्थानीयलाई घर पठाउने भएको छ । चण्डीनाथ गणका गणपति मदनजंग राणाले पीसीआर नेगेटिभ आए पनि पुनः र्यापिड टेस्ट गरेर घर पठाइने बताए ।
‘साँझ निर्णय भएपछि आफन्तहरुलाई खबर पठाएका छौं, होम क्वारेन्टाइनमा राख्न सहमत भई आवश्यक व्यवस्था मिलाएपछि मात्रै पठाउँछौं’ उनले भने ।
वीरगञ्ज स्थित सिदार्थ माविमा ६३ र कलवार सेवा समितिमा १८ जना गरी ८१ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
संक्रमित पुगेको क्षेत्रमा ४ सयको आरडीटी
वीरगञ्ज–२ छपकैयाको घुसुकपुर र मक्की जामे मस्जिद क्षेत्रमा शुक्रबारसम्म ४ सय जनाको आरडीटी गरिएको छ । उनीहरु सबैको एन्टीबडी नेगेटिभ नै आएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत कामेश्वर चौरसियाले जानकारी दिए ।
त्यसबाहेक वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा राखिएका १ सय ९६ जना भारतीय र ९ जना सुरक्षाकर्मीको पनि आरडीटी टेष्ट गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
पर्साका विभिन्न पालिकाले सञ्चालन गरेका क्वारेन्टाइनमा १४ दिनसम्म बसेका व्यक्तिहरुको पनि आरडीटी टेष्ट गर्दा एन्टीबडी नेगेटिभ आएको छ ।
प्रतिक्रिया 4