Comments Add Comment

बारामा जनप्रतिनिधिले दिए रक्तसञ्चार केन्द्रलाई ५१ हजार रुपैयाँ

३ वैशाख, वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिकाका एकजना कार्यपालिका सदस्यले विपन्नलाई निःशुल्क रगत उपलब्ध गराउन रक्तसञ्चार केन्द्रमा ५१ हजार रुपैयाँ दिएका छन् । परवानीपुर–५ नौतन बहुअरी बस्ने कार्यपालिका सदस्य सञ्जु साहले गरिब विपन्नलाई लक्षित गरेर यस्तो योजना ल्याएका हुन् ।

रक्तसञ्चार केन्द्रहरुले दाताहरुबाट रगत निःशुल्क संकलन गर्छन् । तर रगत संकलनका लागि खट्ने प्राविधिक, रगतको भण्डारणका लागि फ्रिज तथा केमिकलको प्रयोग, रगत उपयुक्त भए नभएको जाँच गर्न गरिने विभिन्न परीक्षण लगायत कामका लागि आवश्यक खर्च जुटाउन तोकिएको शुल्क लिने गरेका छन् ।

वीरगञ्जमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रले प्रति पोका (एक पिन्ट) रगतको १ हजार ५० रुपैयाँ लिने गरेको छ ।

एक वर्ष अघि रक्तदान कार्यक्रम आयोजना गराएपछि रगतसँग उनको साइनो जोडिएको हो । गाउँमै आयोजना गरिएको कार्यक्रममा ७९ जनाले रक्तदान गरे । उक्त रक्तदान कार्यक्रममा ६ महिलासहित १ सय १५ जनाले रक्तदान गरेका थिए ।

रक्तसञ्चार केन्द्रसँग जोडिएका कारण समस्या पर्दा गाउँका मानिसले उनलाई नै गुहार्न थाले । घरका सदस्य बिरामी भएर औषधि उपचार गराउँदा गराउँदा हैरान बनेका मानिसहरु रगतको पनि पैसा तिर्नुपर्दा आर्थिक भार थपिएको गुनासो गर्थे । त्यसपछि आफूलाई विपन्न मानिसका लागि केही गर्नुपर्छ भन्ने भावना पलाएको सञ्जु बताउँछन् ।

‘अस्पतालमा जाँदा रगत किन्नका लागि समेत विपन्न मानिसहरुले सास्ती भोगेको देखें, बिरामी कुरुवासँग खाना खाने पैसा हुन्न, औषधि किन्ने पैसा हुन्न । कतिलाई आफैंले औषधि उपचार समेत गराएको छु’ उनले भने, ‘धेरै नसकेपनि पैसा तिर्न नसक्नेका लागि निशुल्क रगत उपलब्ध गराउनुपर्छ भन्ने लाग्यो । रक्तसञ्चाार केन्द्रमा ५१ हजार जम्मा गरेको छु । अब आवश्यक पर्दा ५१ जनाले निःशुल्क रगत पाउनेछन् । कसरी सेवा उपलब्ध गराउने भन्ने बारेमा टुंगोमा पुग्न बाँकी छ ।’

सक्नेले आफैंले तिरेर रगत लिनुपर्ने मान्यता भएपनि नसक्ने कोही आए खाली हात नफर्काउने सोच उनको छ । आवश्यक परे रकम थप गर्न पनि उनी तयार छन् । निःशुल्क रगत उपलब्ध गराउन व्यक्तिगत रुपमा जागरुकता देखाउने बारा-पर्सा क्षेत्रमा सञ्जु एक्लो व्यक्ति हुन् । पालिकाको रकम हुँदा पालिकामा बसोबास गरेको पुष्टि हुने सिफारिस वा नागरिकता प्रमाणपत्र देखाउँदा निःशुल्क रगत दिने गरिएको रक्तसञ्चार केन्द्र वीरगञ्जले जनाएको छ । व्यक्तिको हकमा कसरी जाने भन्ने अन्यौल छ ।

कसरी सेवा प्रवाह गर्ने भन्ने बारेमा छलफल भइरहेको नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका अधिकृत उदयराज शर्मा बताउँछन् । ‘पालिकाले गर्दा त सहजै सेवा दिन सकिन्थ्यो, अब व्यक्तिले गर्दा कसरी सेवा दिने त ? भन्ने टुंगोमा पुग्न बाँकी छ ।’ उनले भने । कुनै टोल वा वडामा केन्द्रित हुँदा सेवा दिन सहज हुने उनी बताउँछन् ।

यसअघि पर्साको बहुदरमाई नगरपालिकाले नगरबासीलाई र वीरगञ्ज महानगरपालिकाले सुत्केरी महिलालाई निःशुल्क रगत उपलब्ध गराउँदै आएका छन् ।

यो पनि पढ्नुहोस बहुदरमाई नगरपालकिाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले अन्य पालिकालाई पनि गरिब विपन्नलाई लक्षित गरेर निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरेको छ । पर्सागढी नगरपालिका, सखुवाप्रसौनी, जगरनाथपुर लगायत गाउँपालिकाले सकारात्मक प्रतिक्रिया दिएपनि बजेट भने नदिएको शाखा अधिकृत शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment